२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रकटले छाडेको प्रणयवेद

प्रकटले आजीवन जोगी जिन्दगी बिताए । कहिले पोखरा बसे, कहिले काठमाडौं, कहिले गाउँ–सहर डुलिहिँडे । स्थायी थातबास बसाउने अतिरिक्त आकांक्षा भएन ।
बग्रेल्ती प्रज्ञा–प्रतिष्ठान खुल्न थालेपछि प्रकटको एउटा रहर थियो, प्राज्ञ बन्ने । तर, कुनै पार्टीको झोला नबोक्नेलाई कसले प्राज्ञ बनाउने ?

जीवनका आखिरी दिनहरूमा आम मानिस नियमित काम–धन्दा, व्यवसाय सन्तानलाई जिम्मा लगाएर बस्छन् । कवि प्रकट पंगेनी ‘शिव’ भने ६७ वर्षको उमेरमा बल्ल व्यावसायिक जीवन सुरुवात गर्दै थिए । जीवनमा कहिल्यै स्थायी ठेगाना नबनाएका अनि पृथ्वीलाई नै आफ्नो घर सम्झेका उनी उही पुरानो थातथलो फर्केका थिए, रूपा गाउँपालिका–५ को देउराली उकाली ।

प्रकटले छाडेको प्रणयवेद

बाहिरफेर हाँसीखुसी देखिने प्रकटले आजीवन जोगी जिन्दगी बिताए । असलमा उनी थिए, सक्कली सुकुम्बासी । उनी कहिले पोखरा बसे, कहिले काठमाडौॅ बसे, कहिले गाउँ–सहर डुलिहिँडे । आफ्नो स्थायी थातबास बसाउने कुनै अतिरिक्त आकांक्षा भएन ।

होमस्टे शैलीको यशस्वी कटेज बनाउने अनि कुखुरा र बाख्रा फार्म चलाउने मनसुबा बोकेर वर्ष दिनयता प्रकट कास्कीको देउराली उकालीमै थिए । दुई दशकभन्दा ज्यादा समय नियमित आम्दानीबिना पोखरा महानगरीमा एकलकाँटे जीवन बिताइरहेका उनलाई त्यो वातावरण बनाइदिएका थिए, आफ्नै भतिजा प्रज्ज्वल पंगेनीले । कटेजको काम सम्पन्न नभइसके पनि सप्ताहान्त वा अन्य छुट्टी मनाउन पोखरेली साथीभाइ, शुभचिन्तक र प्रशंसक त्यहाँ जान थालेका थिए । नयाँ वर्षको छेक पारेर साहित्यकार सरुभक्त समेत त्यहाँ पुगेका थिए ।

होमस्टेमा प्रकटका कोही सहयोगी थिएनन् । उनी आफै पकाउँथे, खुवाउँथे, भाँडा माझ्थे । चिरपरिचित मन्द मुस्कान हेर्दा प्रकट जति सुखी कोही थिएन, तर भित्रभित्रै एक्लिएका थिए । त्यो एक्लोपन, उदासी र पीडा उनको अनुहारमा कहिल्यै देखिएन । उनी थिए, दुःख लुकाउन जानेका मान्छे । पीडामा पनि हाँसेर बोल्न सक्ने मान्छे । आफ्नै दर्दमा समेत रमाउन सक्ने मान्छे ।

जिन्दगीमा प्रकटले धेरैथरी काम गरे । तर, तिनले स्थायित्व पाउन सकेनन् । मुकाम बदल्दा बदल्दै उनी मृत्युको मुखमा पुगे । कुनै कालखण्डमा पोखरामा ‘पंगेनी आर्ट एन्ड मिडिया’ खोलेर पेटापाला गरे । छापाजस्ता सुन्दर अक्षर लेख्ने उनले धेरै तुल लेखे, ब्यानर बनाए, साइनबोर्ड लेखे । वास्तवमा त्यो थियो, कवि–लेखकको जमघट हुने थलो । साहित्यिक पत्रिकाको कार्यालय । रचना वाचन–आदानप्रदान गर्ने ठाउॅ ।

पंगेनी आर्टले प्रकटलाई कृषि अनुसन्धान केन्द्र, लुम्लेको जागिरे पनि बनायो । उनको कस्तो चुम्बकीय छवि थियो भने उनी जहाँ उभिन्थे, त्यो केन्द्र बन्थ्यो । त्यहाँ बस्दा लुम्ले, पञ्चासे, धम्पुस, घान्द्रकसम्मका आसपासका डाँडाहरूलाई सिर्जनाधाम बनाए । पोखरा फर्केर कवि जे अस्मिता (दिनेश श्रेष्ठ) को प्रगति बोर्डिङ स्कुलमा काम गरे । उनी भनिरहन्थे– म विषयहीन विषय पढाउँछु । नानीहरूलाई सिकाउँथे– ‘आजको दिन हाम्रो बाँकी जिन्दगीको पहिलो दिन हो ।’

प्रगति बोर्डिङमा पटकपटक बिदाइ हुने अनि फेरि भित्रिने क्रम चलिरह्यो प्रकटको । यसबीचमा केही समय लिभर्ड प्रोजेक्टमा जोडिए । परिवार काठमाडौंमा भएकाले उनी यतै आएका थिए । तर, उनी काठमाडौंमा टिक्नै सकेनन् । काठमाडौंमा टिक्ने योग्यता उनीसँग थिएन नै । आफ्नै शैलीको जीवन बिताउने बानी पारेका उनी पोखरा नै फर्किए ।

पोखरा र मदिरा प्रकटको कमजोरी थियो सायद । उनले पोखरा र मदिरासँग कसैगरी छुटकारा पाएनन् । मदिरा पिउने उनको शैली केही अलग थियो । उनी सुनाइरहन्थे, ‘म त घरमा मदिरा पिउँदा पनि धुपबत्ती बालेर पिउँछु । सम्मान गर्‍यो भने मदिरा पनि अमृत बन्छ ।’ सायद त्यही विश्वासले मदिरालाई सम्मान गर्दागर्दै मदिराले पनि पुरस्कृत गरिदियो ।

त्यसो त प्रकटका नपिउने धेरै कसम खेर गए । नपिउने कसम खान्थे, फेरि पिउन थालिहाल्थे । पछिल्लो समय यशस्वी कटेजका पाहुना सहृदयी साथीको मन राख्न अलिकति पिएको उनी सुनाउँथे । उनका कतिपय साथीहरू के भन्छन् भने प्रकट व्यावहारिक थिएनन्, भावुक थिए । भावुक नभएको भए उनले यस्ता तरल कविता कसरी लेख्न सक्थे त ? नगद गन्न र थन्क्याउन मात्रै जानेका मानिसले कवितालाई के बुझ्छन् ?

बुढ्यौलीतिर ढल्किँदै गर्दा पनि त्यसको होसहवास उनलाई थिएन सायद । उमेरलाई सामान्य अंक मात्रै मानेर उनी तन्नेरी साथीहरूलाई अंकमाल गर्दै हिँड्थे । रसिक स्वभावका बेफिकर प्रकट उनीहरूसँगै चियर्स गर्थे । उनी तीन पुस्ते ‘दाइ’ थिए । साथी पुस्ताका, छोरा पुस्ताका अनि नाति पुस्ताका ।

उनले नवपिँढीलाई सदैव उत्साह, हौसला र प्रेरणा दिइरहे । त्यसैले त प्रकटको मलामीमा युवाहरू नै ज्यादा देखिए । उनीहरू म्लान अनुहार लगाएर शोक जताइरहेका थिए । नयाँ पुस्ताका नाममा कविता लेख्नेदेखि डायरी उपहार दिने उनको आफ्नै पारा थियो ।

पत्रकार अमृत भादगाउँलेको संयोजनमा २०६४ पुस ९ मा आरोहण गुरुकुल नाटकघरमा ‘प्रणयमा प्रकट दाइ’ एकल गजल वाचन कार्यक्रम भएपछि प्रकट मोफसलको कमिला कदबाट झन्डै सितारा बन्न पुगे । पोखरामा ३० वर्ष बिताउँदा नपाएको चर्चा राजधानीमा एकै दिन मिल्यो । घिरौंले टोपी र फूलमालाको न्यानो स्वागत पाए । चर्चा परिचर्चा कस्तरी भयो भने युवकयुवती उनको पछाडि धुइरिए । पूर्वदेखि पश्चिमसम्म २५ वटा सहरमा टिकटमा गजल वाचन कार्यक्रम भए । भ्यालेन्टाइन डेमा उनलाई भ्याइनभ्याइ हुन थाल्यो ।

प्रकटले ‘प्रणयवेदका ऋचाहरू’ गजलसंग्रहको पहिलो संस्करण जम्मा १,२०० प्रति निकालेका थिए । विमोचनकै दिन ६०० किताब बेचे । सबै प्रति पोखराबाहिर जाँदै गएन । उनले कसैलाई बाँडेनन् । हातहातै बिक्री भयो । तत्कालै दोस्रो संस्करण निकाले, १,५०० ।

प्रकटले शृंगारिक गजल सुनाएर सहर–सहरमा कार्यक्रम गर्न थालेपछि प्रकटमाथि अश्लील खेती गरेको आरोप लगाउने क्रम सुरु भयो । सस्तोमस्तो हाहाहुहुमा हिँडेर गम्भीर सिर्जनालाई बेवास्ता गरेको भनियो । प्रेमका पारखी प्रकटलाई अश्लीलताको उपासक भनेर होच्याउन खोजिए पनि उनी विचलित भएनन् ।

वास्तवमा प्रकट बदमास होइन, बिन्दास मात्रै थिए । यी रोमान्टिक गजलकारले तर्क गर्न छाडेनन्– प्रणयभाव अश्लील हो भने यो दुनियाँका कुनै जीवित वस्तु श्लील छैनन् । कसैकसैले सम्भोगलाई अश्लील मान्छन् । त्यसो हो भने मेरो गजलमा सम्भोग छैन, प्रेम, आलाप, आलिंगन र चुम्बन मात्र छन् । के यी अश्लील हुन् ? प्रेमभाव अश्लील हो भने श्लील के हो ?

कतिपय पाखण्डी मानिसलाई प्रेम अश्लील लाग्छ, सम्भोग अश्लील लाग्छ, गजल अश्लील लाग्छ भन्दैमा कसैले आफ्नो जीवनशैली वा लेखनशैली बदल्नुपर्ने कुनै दरकार थिएन । यौन त धेरैले लेख्छन्, तर यौन लेख्दैमा मनमा बस्न सक्दैनन् । यसको एउटा जबर्जस्त कारण थियो– श्रोतालाई मन्त्रमुग्ध बनाउने उम्दा वाचन कला ।

त्यसो त कुनै बेला रंगमञ्चका अभिनेता थिए प्रकट । गाउँबाट पृथ्वीनारायण क्याम्पस पढ्न पोखरा झरेपछि उनी सरुभक्तका कारण अभिनयतिर लागेका थिए । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले २०३९ मा आयोजना गरेको नाटक महोत्सवमा ‘गोलार्द्धको कालो आकाश’ बाट सर्वोत्कृष्ट अभिनेताको रूपमा पुरस्कृत पनि भए । चालीसको दशकसम्म सरुभक्त, विश्व शाक्यलगायतका नाटकमा अभिनय गरेका उनको सिनेमाको नायक बन्ने सप्तरंगी सपना भने अधुरै रह्यो । हरिहर शर्मा, चेतन कार्की, अर्जुनजंग शाही आदिको ढोकामा धाए, तर कसैले पत्याइदिएन । उनले कसैसँग कहिल्यै गुनासो पनि गरेनन् ।

बग्रेल्ती प्रज्ञा–प्रतिष्ठान खुल्न थालेपछि प्रकटको एउटा रहर थियो, प्राज्ञ बन्ने । तर, कुनै पार्टीको झोला नबोक्नेलाई कसले प्राज्ञ बनाउने ? उनको अर्को योजना थियो, उपन्यास निकाल्ने । तर, सिम्रिकाको डायरी ‘अनुश्रया’ उपन्यास छाप्ने इन्तजाम गर्न सकेका थिएनन् । र्‍यान्डम रिडर्स कर्नरका अध्यक्ष रुपिन्द्र प्रभावी उनको गीतसंग्रह छाप्ने इच्छा अधुरै रहेकामा थकथकी मानिरहेका छन् ।

जीवनकालमा ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुनालाई’ गीतसंग्रह अनि ‘प्रणयवेदका ऋचाहरू’ संग्रह अनि ‘अक्षरभरि अक्षता’ कवितासंग्रह निकालेका प्रकटका चार दर्जन गीत रेकर्डेड छन् । सञ्जीव सिंहले गाएको ‘चुलेसीमा... ’ र अमृत गुरुङले गाएको ‘नराम्रो सपना देखेथँॅ... ’ ले उनी भावप्रवण र सुकुमार गीतिशैलीले चिनिएका छन् ।

गाम्ले र झर्रा शब्दका हिमायती प्रकटलाई पर्यटन व्यवसायी झलक थापाले आफ्ना सबै वाइनको न्वारानको जिम्मा दिएका थिए । डाँडाघरे, आॅटी, मझेरी आदि नामकरण उनकै हो । पोखरामा प्रकटको मनको एउटा संस्था थियो, भावना परिवार । बेलाबखत कार्यक्रम पनि गर्थ्यो । त्यसका आधिकारिक सदस्य कोही थिएनन् । तर, उनको नजिकका साथी सबै त्यसमा अटाउँथे ।

पचासको दशकतिरै पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष बनेका प्रकटले त्यतिबेलै ‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ नामक अभियान थालनी गरेका थिए । त्यो अद्यापि चलिरहेकै छ ।

भूपू लाहुरेका छोरा शिवराज पंगेनी नै अहिलेका प्रकट पंगेनी ‘शिव’ हुन् । कुनै बेला गाउँले पाठशालाको कक्षा ६ मा तीनजना शिवराज थिए– शिवराज घिमिरे, शिवराज गुरुङ र उनी । एक दिन पंगेनीलाई देखेर पिसकोर भोलुन्टियर अमेरिकी गुरुमाले भनिछन्, ‘कताबाट प्रकट भयौ शिवराज ?’ त्यही ‘प्रकट’ उनको दिमागमा क्लिक भयो । अरूले जस्तो उनले उपनाम नामको पछाडि राखेनन्, अगाडि नै राखिदिए ।

पहिलो प्रेम दुर्घटित भएपछि प्रेमकला सिकेको बताउने प्रकट जहिल्यै प्रेमी देखिए– प्रकृतिप्रेमी, गाउँप्रेमी, गजलप्रेमी, युवाप्रेमी, मदिराप्रेमी । र, त्यसको वरिपरि रोमान्स गरिरहेको भेटिए । त्यसैले त ‘उठ्यो रिमै फेवातालमा छाल साॅझपख...’, ‘मज्जा मान्दामान्दै मज्जा बिलाएको छुट्टै मज्जा’, ‘यति दंग पारिदिऊँ हामी दंगहरू दंग परून्’ आदि नेपाली गजलको एक शैली बन्यो । उनी प्रणय गजलका बादशाह ठहरिए । गजलकार निरज भट्टराईको शब्दमा ‘हामीलाई वाह गजल दिने प्रकट अनायासै अलप भए’ । तर, उनले ‘प्रणयवेदका ऋचाहरू’ हामीलाई नै छाडिदिएका छन् ।

प्रकाशित : वैशाख ८, २०८१ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?