स्वदेशमै मोटरबोट

लमजुङका विष्णुबहादुर ढकालको नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले हाल स्वदेशमै मोटरबोट उत्पादन गरिरहेको छ । कम्पनीले बनाएका बोट हाल कोशी, नारायणी र कर्णाली नदी, कुलेखानी र मर्स्याङ्दी जलाशय, भरत र बुलबुल तालका साथै नेपालगन्जको वाटर पार्कमा चलिरहेका छन् । 

वैशाख २१, २०८१

बुद्धिसागर मरासिनी

Motorboat at home

काठमाडौँ — कुनै बेला नेपाली टेलिभिजनहरूमा एउटा विज्ञापन बज्ने गर्थ्यो, ‘हामी पृथ्वी, जल, जमिन र आकाशको  सुरक्षा गर्छौं ।’ एउटा इन्स्योरेन्स कम्पनीको विज्ञापनका यी शब्द लमजुङका विष्णुबहादुर ढकालको अपरिपक्व मस्तिस्कमा मजैले गडे । विज्ञापन सुनेपछि उनी यी सबै काम एउटै कम्पनीले कसरी गर्छ भनेर निकै घोत्लिए ।

करिब डेढ दशकदेखि सूचना प्रविधि क्षेत्रमा क्रियाशील ढकाल पछिल्लो एक दशकदेखि भने ‘जल’ मा आधारित व्यवसायमा सक्रिय छन् । लमजुङको साइलीटारमा जन्मिएका ढकाल चेपे खोला र मर्स्याङ्दी नदीमा बग्ने कलकल पानी हेरर मात्र होइन, त्यही पानीसँगै पौठेजोरी खेल्दै बाल्यकाल बिताए । सायद त्यही पानीसँगको निकटता बिर्सन नसकेर होला, ढकाल पछिल्लो समय सूचना प्रविधिको क्षेत्रबाट पानीसँग जोडिएको व्यवसायमा फाल हानेका ।

यतिबेला ढकाल मोटरबोट उत्पादन गर्ने र देशका विभिन्न नदी तथा जलाशयमा मोटरबोट सञ्चालन गरी पर्यटकीय गतिविधि बढाउने अभियानमा सक्रिय छन् । तर त्यसका लागि सरकारले आवश्यक सहजीकरण नगरेको उनको गुनासो छ । ‘मेरो चाहना सरकारले कानुन बनाइदिओस् भन्ने हो, कानुन अभावमा यसको सञ्चालन, उत्पादनलगायतमा समस्या छ,’ उनले भने, ‘कानुन नहुँदा यसको भविष्य अन्योल छ भने सरकारले पनि वर्षेनी लाखौं राजस्व पनि गुमाइरहेको छ ।’

Motorboat at homeएसएलसीपछि जियोलाजी पढ्ने योजनामा दोस्रो श्रेणीको प्राप्तांक तगारो बनेपछि ठमेलस्थित सरस्वती क्याम्पस भर्ना भएका थिए, ढकाल । काका मोहन ढकाल ‘कमर्सियल किचन’ बनाउने व्यवसायमा भएकाले पैसाको जोहो गर्न जागिर खोज्ने झन्झट पनि भएन । काकाको कम्पनीमा उनले सुरुमा लोड र अनलोडको काम गरे । ‘गाडीबाट सामान झार्ने र स्टोरमा मिलाउने मुख्य काम थियो । हातमा अरु सीप थिएन,’ ढकालले भने, ‘तर आज मैले जे जति उपलब्धि प्राप्त गरेको छु । यो सबै त्यही बेलाको कामबाटै हो ।’ त्यसैले ढकाल कुनै पनि व्यक्तिले जीवनको पहिलो जागिर निकै सोचविचार गरेर मात्रै सुरु गर्नुपर्ने तर्क गर्छन् ।

Motorboat at homeकाकाकै कम्पनीमा स्टोरकिपर हुँदै चिफ अकाउन्टेन्ट बनेका ढकाल त्यसपछि भने आफ्नै व्यवसाय गर्ने योजनामा लागे । बालाजुमा ४० लाख रुपैयाँ लगानी गरेर खोलेको स्विट्स पसल डुबेपछि उनी कम्प्युटर व्यवसायमा जोडिए । सिक्किम मनिपाल विश्वविद्यालयबाट डिस्ट्यान्स एजुकेसनअन्तर्गत बीएससी आईटी पढेपछि उनले डिकेड इन्टरनेसनल नामक कम्पनी स्थापना गरे । ‘सुरुमा त निकै गाह्रो भयो । वेबसाइट बनाउनुपर्छ भन्ने निकै कम थिए । यस्तो अस्थामा विशाल किचनमार्फत बनाएको कर्पोरेट सम्बन्धको उपयोग गरें र केही कम्पनीको वेबसाइट बनाउने काम पाइयो,’ उनले भने, ‘यसले व्यवसायलाई गति दिन सजिलो भयो ।’

कामको सिलसिलमा थाइल्यान्ड पुगेका ढकालले मोटरबोट देखेपछि यस्तो व्यवसाय नेपालमा पनि गर्नुपर्छ भन्ने लाग्यो । हाल उनको कम्पनी डिकेड इन्टरनेसनल जापानको मरिन कम्पनी सुजुकीको नेपालको आधिकारिक पार्टनर हो । उनको नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले भने व्यावसायिक रूपमा नेपालमै मोटरबोट उत्पादन तथा सञ्चालन गरिरहेको छ । सुरुमा बोटको बिक्री निकै सुस्त थियो । तर तत्कालीन प्रधानमन्त्री ओलीले पानीजहाज चलाउने घोषणा गरेपछि भने उनको व्यवसाय पनि फस्टायो । ‘त्यो वर्ष निकै बोट बिक्री भए,’ उनले भने, ‘विभिन्न क्षेत्रमा नदी र तलाउमा बोट चलाउन बढे ।’ 

बोट चलाउनेलाई बोलीचालीमा ‘बोटे’ भनिन्छ । ढकालले कम्पनीको नाम ‘बोटे’ मात्र राख्न चाहन्थें । तर कम्पनी रजिस्ट्रारको कार्यालयले नमानेपछि त्यसैका पछाडि ‘बोरा’ शब्द जोडे । यो शब्द उनले फ्रान्सको सुन्दर बिच बोराबाट लिएका हुन् । कम्पनीले नवलपरासीको गैंडाकोटमा रहेको फ्याक्ट्रीमा बोट बनाउँदै आएको छ । एक मेकानिकल इन्जिनियर र एक मरिण इन्जिनियरका साथै अन्य कामदार छन् । जसले सातामा १० वटासम्म बोट बनाउन सक्छन् । ‘यससम्बन्धी कानुन बनेको खण्डमा बोट उत्पादन र सञ्चालन पनि बढ्छ,’ उनले भने । हाल नेपालमा धेरैजसो बोटहरू डेढदेखि दुई किलोमिटरमा चलाउने गरी बनाइएको छ ।

Motorboat at homeयसका लागि कम्पनीले विभिन्न देशमा पुगेर अध्ययन अनुसन्धानसमेत गरेको छ । ‘सन् २०१४ बाट प्रडक्सनको तयारी गरे पनि सन् २०१७ को अन्त्यमा मात्रै सुरु गर्न सक्यौं तर सुरुमा फाइभरबाट बनाइएका बोट पानीमा डुब्ने समस्या देखियो,’ उनले भने, ‘पछि रुसको सेन्ट पिटर्सवर्ग र न्युजिल्यान्डको निकुञ्जको बफरजोनसम्म पुगेर अवलोकन गरेपछि हामीले नेपालको जल सुहाउँदो बोट बनाउन सक्यौं ।’ ढकालका अनुसार नेपालमा हल्का बालुवा मिसिएको मड्डी वाटर भएकाले त्यहीअनुसारको बोट बनाउनुपर्छ ।

हाल नेपालमा सामान्यतः तीन प्रकारका बोट सञ्चालनमा छन् । पहिलो, इनबोट । जसको इन्जिनभित्र लुकेको हुन्छ । यो क्रुजिङका लागि उपयुक्त हुन्छ । दोस्रो, आउटबोट । आउटबोटको इन्जिन बाहिरपट्टि हुन्छ । यो पर्यटक घुमाउनका लागि उपयुक्त मानिन्छ । तेस्रो, जेट बोट । यो जेट इन्जिन जडित हुन्छ । ढकालका अनुसार ‘बोटेबोरा’ ले आवश्यकताअनुसार बोट निर्माण गर्दै आएको छ । सञ्चालन गर्ने स्थान, त्यहाँको गहिराइ, वस्तुस्थिति र आवश्यकताका आधारमा बोट डिजाइन गरिन्छ । कम्पनीले प्रयोग गर्ने सुजुकीको इन्जिन विश्वमा सबैभन्दा बढी प्रयोग हुनेमा पर्छ । उक्त इन्जिनमा तीन सय घण्टा वा दुई वर्षको वारेन्टी हुन्छ ।

बोट निर्माणको खर्च प्रयोग हुने इन्जिन र सिट क्षमताका हिसाबले पनि फरक पर्छन् । तर हाल नेपालमा बढी प्रयोग हुने फिस्टेल ब्रान्डको बोट निर्माणका लागि २० लाख रुपैयाँ जति लाग्छ । यसमा ६० एचपीको सुजुकी इन्जिन प्रयोग हुन्छ भने एक जना क्याप्टेन र १० जनासहित ११ जनाको सिट क्षमता हुन्छ । ढकालको कम्पनीले यस प्रकारको बोटमा इन्जिनमा दुई वर्ष र बडीमा १० वर्षको वारेन्टी दिएको छ । कम्पनीले निर्माण गरेका बोट विभिन्न स्थानमा चलिरहेका छन् । कोशीमा यातायातका साधनका रूपमा चलिरहेका छन् । त्यस्तै, नारायणी र कर्णाली नदी, कुलेखानी र मर्स्याङ्दीका जलाशय, बुलबुल र भरत तालका साथै नेपालगन्जस्थित वाटर पार्कमा पर्यटकलाई लक्षित गरी सञ्चालन भइरहेका छन् ।

Motorboat at homeआफ्नो कम्पनीले बनाएका बोट अन्तर्राष्ट्रिय स्ट्यान्डर्डअनुसार भए/नभएका परीक्षण गर्न प्रत्येक वर्ष जापान, कोरिया, फिलिपिन्सलगायतबाट विज्ञ ल्याउने गरेको ढकालले बताए । नेपालमा अहिलेसम्म पनि मरिणसम्बन्धी कुनै कानुन नभएकाले बोट सञ्चालन सहजता नभएको ढकाल बताउँछन् । ‘कानुन नबन्दा यसको सञ्चालनमा सहज अवस्था मात्रै छैन, सरकारले राजस्व पनि गुमाएको छ,’ उनले भने, ‘रेडिमेड बोट आयात गर्नुभन्दा सामान आयात गरेर यहीँ बनाउने हो भने १० प्रतिशत बढी भन्सार तिर्नुपर्ने अवस्था छ ।’ 

त्यसका साथै, कानुन नहुँदा बोट दर्ता नहुने र बिमा गर्न पनि नसकिएको उनले बताए । ढकालका अनुसार एयरलाइन्स कम्पनीहरू आइकाओको नियममा सञ्चालन भएजस्तै यो व्यवसाय इन्टरनेसनल मरिण टाइम अर्गनाइजेसन (आइएमओ) को स्ट्यान्डर्डमा सञ्चालन हुन्छन् । यदी नेपालमा यस प्रकारको कानुन निर्माण भएको अवस्थामा नेपाली नागरिकहरूले सिमेन बुक प्राप्त गरी क्रुजहरूमा सहज रूपमा काम गर्न पाउँछन् ।

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully