२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लेखक चम्काउने सम्पादकको कथा 

 किताबका हिरो हुन्– रामचन्द्र गुहाका सम्पादक रुकुन आडवाणी । यहाँ लेखकले  सम्पादकसँगको सम्बन्ध पुनः अवलोकन गरेका छन् । 
केन सुवेदी

लेखक रामचन्द्र गुहाको नयाँ किताब ‘द कुकिङ अफ बुक्स’ ले लेखक–सम्पादकबीचको घनिष्ट सम्बन्ध वर्णन गर्छ, जसमा उनी आफैं मुख्य पात्र छन् र छन् अर्का प्रखर सम्पादक– रुकुन आडवाणी  । सोझै भन्नुपर्दा यो साहित्यिक संस्मरण हुन त गुहाले लेखेका हुन्, तर यसका हिरो चार दशक सँगै काम गरेर उनलाई लेखक बनाएका सम्पादक रुकुन आडवाणी हुन् । किताबभरि रुकुनसँगका सम्बन्धहरूको पुनः अवलोकन भेटिन्छ । 

लेखक चम्काउने सम्पादकको कथा 

किताब सात अंशमा विभाजन गरेका गुहाले समयकाललाई वर्णानुक्रम गरेर सुरुको अंशमा रुकुनसँगको पहिलो भेट स्मृति उतारेका छन् । राम्रा क्रिकेट खेलाडी हुन्छन् गुहा र सायद त्यसकै बलमा राम्रो मानिएको सेन्ट स्टेफेन्स कलेज, दिल्लीमा स्नातक पढेका हुन्छन् । उनको स्कुल शिक्षा दून स्कुल देहरादूनमा भएको, अभिभावक लामो समय सरकारी सेवामा रहेको अनि मुख्य कुरा उनी राम्रो क्रिकेट खेलाडी भएकाले पनि सेन्ट स्टेफेन्स पुगेका हुन सक्छन् । यो किताब भिन्न प्रकारको संस्मरण हो किनकि यो संस्मरणले लेखन, प्रकाशन, सम्पादन, आवरण, डिजाइन, किताबको आइडियादेखि बजारसम्म लैजाने प्रक्रिया र त्यसवरिपरिका घटना मात्रै समेटेको छ ।

गुहाले भनेका छन्– धेरैजसो सम्पादक अनि प्रकाशकहरू लेखकको प्रशंसा गर्छन् र लेखककै कारण आफ्नो काम चिनिएको बताउँछन् । तर, गुहाका लागि उनीभित्रका लेखक चिन्ने क्षमता रुकुनको भएको, उनकै प्रतिक्रिया, बल, प्रोत्साहन र मार्गदर्शनले कैयौं किताब लेख्न सकेकाले उनले यो किताब प्रिय सम्पादक रुकुनलाई समर्पण गरेका हुन् । प्रायः संस्मरणमा तीता, अप्ठ्यारा, लाजलाग्दा, नमिठा, जटिल कुरा त्यति धेरै राखिँदैनन् र ती भरिएका हुन्छन् स्वयंको प्रशंसा र गाथा, उपलब्धि र प्राप्तिका सूचीले । गुहा सफल भएका छन्, कारण हो– वास्तविकताको आत्मसात्, कमजोरीको स्वीकारोक्ति, अरू समकालीन साथीको प्रतिक्रियालाई सकारात्मक हिसाबले लिने बानी र भिन्न विचार ग्रहण गर्न सक्ने क्षमताले ।

गुहा रुकुन आडवाणीको ब्याचभन्दा दुई ब्याच जुनियर हुन्छन् । कक्षामा खासै सहभागी नहुने उनी क्रिकेट खेल्न खप्पिस हुन्छन् र उनको परिचय बनेको हुन्छ, क्रिकेटरका रूपमा । गुहाकै शब्दमा भन्नुपर्दा आडवाणी एकदमै अध्यनशील थिए, अंग्रेजी विषयमा त्यो वर्षसम्मकै उच्च प्राप्तांक हासिल गरेर कलेजभरि कहलिएका । अंग्रेजी त्यस्तो विषय थियो, जसका प्राध्यापक अति नै कडा र अंक दिन लोभी थिए, त्यस्तो विषयमा आडवाणीले त्यति लामो इतिहास बोकेको कलेजमा सर्वाधिक अंक ल्याउनु मामुली थिएन ।

पहिलो भेटमा आडवाणीले गुहालाई हेयको दृष्टिले हेरेको हुनुपर्छ भनेर गुहाले लेखेका छन्– कारण हुन सक्छ उनले लगाएको भद्दा क्रिकेटरको पोसाक र क्रिकेटर भएकाले अध्ययनशील नहोला भन्ने आकलन । गुहा स्वीकार गर्छन् कि आडवाणीको आकलन सही थियो– उनी पढाइ कम गर्थे र क्रिकेट बढी खेल्थे र त्यसमै समय व्यतित गर्थे । गुहाले किताबको पछिल्लो अंशमा स्वीकार गरेका छन्, उनीहरूको कलेजको साथीको बिहेमा यदि उनको भेट रुकुन आडवाणीसँग हुँदैनथ्यो भने उनी सायद लेखक बन्ने थिएनन् र यदि बने पनि यो स्तरको पटक्कै बन्ने थिएनन् । यसले आडवाणीप्रति गुहाको सम्मान र सद्भाव प्रस्ट हुन्छ ।

कलकत्ता आई.आई.एममा समाजशास्त्रमा विद्यावारिधि गर्दै गरेका गुहा वातावरण इतिहासप्रति रुचि राख्थे । उनका बुवा वन अनुसन्धान कार्यालयको अधिकारी भएकाले रिसर्च गर्न पर्याप्त सामग्रीहरूको पहुँच थियो । साथै चिप्को आन्दोलनको प्रसिद्धिको कारणले उनको शोध वनमा हुने सामाजिक द्वन्द्वमा आधारित थियो । उनको अक्सफोर्ड युनिभर्सिटी प्रेसमा सम्पादक रहेका रुकुन आडवाणीसँगको सम्बन्ध अझ नजिक हुन्छ जब आडवाणीले गुहाको विद्यावारिधिको शोध उनको प्रेसबाट प्रकाशित गर्ने जमर्को गर्छन् र त्यही नै गुहाका लागि राम्रो लेखक बन्ने टर्निङ पोइन्ट सावित हुन्छ । आडवाणीले उनको शोध त्यत्तिकै प्रकाशित भने गर्दैनन्, गहन विश्लेषण र प्रतिक्रिया दिन्छन्, सुधार र संशोधन गर्न लगाउँछन्, मानौं त्यो उनको आफ्नै किताब हो । गुहा आडवाणीको विद्वता देखेर निकै प्रभावित हुन्छन् र जे–जे गर्न भन्छन् त्यो–त्यो गर्दै जान्छन्, सुरुको किताबमा मात्रै नभएर अन्य सबैजसो किताबमा ।

पहिलो किताब नछापीकनै गुहा एकपछि अर्को किताबको प्रस्ताव लिएर आडवाणीसँग कुरा गर्छन् । दोस्रो किताब गुहाले क्रिकेटबारे लेख्छन्, जसप्रति आडवाणीको पूर्ण सहायता रह्यो– कारण हुन सक्छ गुहाको क्रिकेटप्रतिको लगाब । ‘विकेट्स इन द वेस्ट’ नाम दिइएको उक्त किताब ओयूपीजस्तो प्रकाशन गृहले छाप्दा पनि उनी असफल रहे, तर त्यही किताबले क्रिकेट लेखकका रूपमा गुहाले पहिचान थपे । गुहा स्वीकार गर्छन् कि क्रिकेटको किताबको सन्दर्भमा आडवाणीको आकलन फेल खायो । त्यसैगरी समाजशास्त्री भेरियर एल्विनको आत्मकथा लेख्ने क्रममा आडवाणीले गुहालाई धेरै परिमार्जन गर्न लगाए ।

यतिसम्म कि फेरि सुरुदेखि नै फरक शैलीमा लेख्न लगाए र आत्मकथा भएको कारण समाजशास्त्रीय तरिकाले भन्दा पनि भिन्न तरिकाले लेख्न लगाए । फेरि पूर्ण ड्राफ्ट आडवाणीलाई पठाए र हरियो मसी अनगिन्ती ठाउँमा कोरिएको ड्राफ्ट फिर्ता पाए, जसमा अन्तिम टिप्पणी थियो, ‘एल्विन एक विद्वान् र बुद्धिजीवीका रूपमा गरिएको अध्ययन ठीक छ तर व्यक्तिगत एल्विन कहाँ छ ?’ एल्विनको आमा, बहिनी र साथीहरूसँगको पत्राचार अध्याय थपेर किताब थप सच्याएपछि फेरि आडवाणीले प्रतिक्रिया दिए, ‘छोरा, भाइ, साथी, बुबा र पतिका रूपमा एल्विनको चरित्र ठीक छ, तर लेखक र विवादमा संलग्न हुन रुचाउने एल्विनको चित्रण कहाँ छ ?’

गुहाले फेरि सुरुदेखि सच्याउँदै लेखे । र, एल्विनको आत्मकथा सम्पादक आडवाणीलाई बुझाए, फेरि केही शैलीगत प्रतिक्रिया दिँदै किताबलाई अझ पठनीय कसरी बनाउन सकिन्छ भनेर अन्तिम सुधार गर्न भने । सोही अनुरूप गुहा काम गर्छन् र सन् १९९९ मा ‘स्याभेजिङ द सिभिलाइज्ड : भेरियर एल्विन, हिज ट्राइबल्स एन्ड इन्डिया’ शीर्षकमा पुस्तक ओयूपीले प्रकाशित गर्छ । करिब २० वर्ष ओयूपीमा काम गरेपछि रुकुन आडवाणीले प्रकाशन गृह छोड्नुपर्ने अवस्था आउँछ, जुन गुहाको भाषामा भन्नुपर्दा औपनिवेशिक विभेदले निम्त्याएको थियो । आडवाणीकी श्रीमती अनुराधा रोय पनि ओयूपीमा सँगै काम गथिन्, डिजाइनको । अचानक ओयूपी इन्डियाले श्रीमान् श्रीमती एकै संस्थाको एकै विभागमा काम गर्न नपाउने निर्णय ल्याउँछ, जुन आडवाणीलाई असहज हुन्छ किनकि मुख्य कार्यालय बेलायतमा श्रीमान् श्रीमती एकै विभागमा काम गरिरहेकै थिए । अन्य मनमुटाव पनि रहेको त्यस्तो असहज परिस्थितिले आडवाणी ओयूपी छोडेर आफ्नै प्रकाशन गृह पर्मानेन्ट ब्ल्याक सुरु गर्छन्– दुर्गम पहाडी गाउँ रानीखेतमा ।

आफ्नो प्रकाशन गृहबाट किताब छाप्नैपर्छ भनेर कहिले पनि दबाब दिएनन् आडवाणीले गुहालाई । कहिले पेन्गुइनबाट छाप्दा राम्रो हुन्छ भन्ने प्रतिक्रिया दिन्थे । जहाँबाट प्रकाशन गरे पनि गुहाका किताबका सम्पादक आडवाणी नै हुन्थे किनकि गुहाले सबैभन्दा विश्वास गर्न सक्ने पात्र थिए उनी । सेन्ट स्टेफेन्स कलेजका प्राध्यापक आडवाणीलाई एकान्तप्रेमी स्कोलर भनेर बुझ्थे, जुन गुहालाई पछि ठीक भनेका रहेछन् भन्ने लागेको थियो । २०१९ मा रिसर्चकै क्रममा उनी रानीखेत पुग्छन् र आडवाणीलाई आफू नजिक आएको बताउँछन् । आडवाणीले स्वागत गर्छन् र सँगै उनीहरू खाना खाँदै लामो कुरा गर्छन्– इतिहास, साहित्य र लेखनका ।

आडवाणी आफू गुहासँग थप केही समय बिताउन चाहेको बताउँछन्, तर गुहा समय नपुग्ने बताउँदै त्यहाँबाट बिदा माग्छन् र पछि ‘आडवाणीलाई उनकै प्रकृतिमा बस्न दिएकोमा ठीकै गरेँ’ सोच्छन् ।

शशि थरुर, अमिताभ घोष, राम गुहाजस्ता पात्रमाथि बुझ्न किताब सहयोगी छ । तर, रामचन्द्र गुहा केवल आफूले पढेको कलेज सेन्ट स्टेफेन्सबाट उत्तीर्ण लेखकहरूको मात्रै बढी चर्चा गर्छन्, जुन संकुचित लाग्छ । किनकि भारतमा अन्य थुप्रै संस्थामा पढेर पनि गुणस्तरिय लेख्ने बुद्धिजीवी प्रशस्तै छन् ।

प्रकाशित : वैशाख ८, २०८१ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?