कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युक्ति मरिकको सपना

समाज
२०५० सालतिर जागिर खानकै लागि सांसद हरि रायलाई १२ हजार रुपैयाँ पनि दिएका थिए । तर, त्यति गरेर पनि युक्ति मरिकले जागिर पाएनन् ।

काठमाडौँ — कथित महादलित डोम जातिका एक बाबु प्रथम मरिकका छोरा युक्ति मरिक दु:खजिलो गर्दै पढेर वकिल बन्ने क्रममा छन् भने युक्तिले आफ्नो छोरालाई डक्टर बनाइछाड्ने सपना देखेका छन् । समय, समाज र संघर्षमा आएको बदलाव डोमको यो बाबु–छोरा पुस्तामा देख्न सकिन्छ ।

युक्ति मरिकको सपना

एक दिन, प्रथम मरिक आफ्नो टोलको हुनेखाने शिक्षित परिवार पलट मण्डलको घर जान्छ । पलटका छोराहरू लेखपढ गर्न सक्ने थिए । प्रथम मरिकलाई गाउँ किनबेचबारे लेखिएको तमसुक पढाउनु थियो । तर, पलट मण्डलले उनलाई हप्काउँदै भन्छ, ‘तीन–तीन छोरा छन्, तिनलाई पढाइलिखाइ गराए भैगो नि । सधैँ मेरो घरमा आउनुपर्छ ? हामी तिम्रो कागज पढ्न बसेका हौँ र ? हाम्रो घरको काम कसले गरिदिन्छ ?’


लगभग ४० वर्षअघि सप्तरीको दक्षिणी गाउँ सखडा गोविन्दपुरमा भएको संवादको एउटा अंश हो यो । प्रथम मरिक घर फर्किन्छ र आफ्ना तीनै जना छोराहरूलाई बोलाएर पलट मण्डलले भनेका कुरा सुनाउँछ । तीनमध्ये जेठो छोरा युक्ति मरिक भन्छन्, ‘हामीलाई सिलेट र पेन्सिल ल्याइदिनू । हामी पनि पढ्छौँ ।’


घरमा पैसा थिएन । प्रथम मरिकले गहुँ बेचेर तीनवटा माटोको सिलेट र पेन्सिल किन्दिए । गाउँमा विद्यालय थिएन । कुनै व्यक्तिको घरमा टयुसन पढ्नुपर्ने हुन्थ्यो । प्रथम मरिकका तीनै छोराहरू गाउँको शिक्षक गाँेसाई मण्डलसँग टयुसन पढ्न थाले । त्यहीँबाट सुरु हुन्छ— मरिक परिवारको एउटा नयाँ यात्रा ।


मधेसमा डोम जातिकाले आफ्नो थर मरिक पनि लेख्छन् । मधेसी समाजमा प्राय: सबै चाडपर्व तथा धार्मिक कामलगायत विवाह र श्राद्धमा डोमले बनाएको बाँसका सामग्री अनिवार्य चाहिन्छ । तर, सामाजिक संरचनाको पिंधमा रहेका कथित महादलित डोम जातिलाई अछूतको व्यवहार गरिन्छ । यहाँसम्म कि अरू दलित सुमदायका मानिससमेतले उनीहरूलाई छुँदैनन् । प्राय: डोम समुदायको झुपडी गाउँभन्दा अलिक पर हुन्छ । उनीहरू प्राय: भूमिहीन, अत्यन्त गरिब र निरक्षर हुन्छन् ।


मधेसी समाजमा डोम, कुम्हार, माली, हजाम, बढही तथा पुरोहितजस्ता समुदायका मानिसले गाउँ बाँडेका हुन्छन् । उनीहरूका जातीय परम्परा तथा सामाजिक र सांस्कृतिक मान्यताअनुसारको कार्यहरू सम्बन्धित गाउँमा मात्रै गर्न पाउँछन् । तर, डोम समुदायका लागि यो प्रथा बढी नै कडा छ । जातीय परम्पराअनुसारका कार्य गर्न डोम समुदायका मानिसबीच कानुनी रूपमा गाउँ किनबेच हुन्छ । र उनीहरूसँग कानुनी प्रमाणस्वरूप दुवै पक्षको हस्ताक्षरसहितको (तमसुक) कागजात हुन्छ । युक्ति मरिकका बुबा त्यही कागजात पढाउन पलट मण्डलको घर गएका थिए ।

शिक्षादीक्षा र संघर्ष
युक्ति मरिकको जन्म २०२१ साल भदौ १९ गते सप्तरीको दक्षिणी गाउँ छिन्मस्ता–९ (हाल छिन्मस्ता गापा–२) मा भएको थियो । सात–आठ वर्षमा पढ्न सुरु गरेका युक्तिले झन्डै दुई वर्षसम्म गोँसाई मण्डलसँग टयुसन पढे । लेखेको कुरा देखाउनलाई युक्तिले पहिला सिलेट भुइँमा राख्थे । त्यसपछि शिक्षकले भुइँबाट सिलेट उठाएर हेर्थे । हेरिसकेपछि शिक्षकले हेर्नुपर्ने र लेखेर दिनुपर्ने निर्देशन लेखेर फेरि त्यसै प्रकारले सिलेटलाई भुइँमा राखिदिन्थे । युक्तिले आफ्नो सिलेट फेरि भुइँबाट उठाएर लिन्थे । बाल्यकालमा यसरी एक अछूत विद्यार्थी र उच्च जातका शिक्षकबीच ‘शिक्षण संवाद’ हुन्थ्यो ।


त्यसो गर्नुको मुख्य कारण थियो— समाजमा व्याप्त छुवाछूत प्रथा । सिलेट सिधै लेनदेन गरेको भए शिक्षक गोँसाई मण्डललाई ‘छोइन्छ’ भन्ने बुझाइ थियो । कथित अछूत जाति डोमको बच्चालाई पढाउने काम गोँसाई मण्डलका लागि त्यति सहज थिएन । पढाइ क्रममा विद्यार्थीले कुनै गल्ती गर्दा शिक्षकले पातलो लठ्ठी लिएर पिट्ने (सजाय दिने) चलन थियो । तर, युक्ति मरिकले पढाइमा गल्ती गर्दा शिक्षक मण्डलले झटारो हानेर उनलाई पिट्थे । झटारो हान्दा ‘सिधै जीउमा छोइन्न’ भन्ने सोच थियो । झटारो ठयाक्कै कहाँ लाग्ने निश्चित हुँदैन थियो । एक दिन झटारो हान्दा युक्तिको खुट्टामा चोट लागेर धेरै रगत बगेको थियो । दुई वर्षसम्मको त्यो टयुसन पढाइमा युक्तिले वर्णदेखि शब्द, वाक्य र अनुच्छेदसम्म लेख्न सिकेका थिए । गणितमा जोड, घटाउ, गुणन र भागसँगै फ्रयाक्सन, गरहन, हुट्ठा, पौना, सबैया आदि पनि सिकेका थिए । त्यसपछि छिमेकी गाउँको कन्कट्टा निम्नमाविमा युक्तिको एकै पटक कक्षा ४ मा भर्ना भएको थियो ।


विद्यालय प्राधानाध्यापक महावीर चौधरीको सहयोगले मरिकलाई भर्ना र पढाइ पनि सहज भयो । तर, शिक्षा विषय पढाउने शिक्षक राजेश्वर झाले गरेको विभेद अहिले पनि उसको मानसपटलमा ताजै छ । त्यहाँबाट कक्षा ७ सम्मको पढाइ पूरा गरेर माध्यमिक तह शिक्षाका लागि नजिकको नर्घो विद्यालयमा भर्ना भए । प्रवेशिका परीक्षाको केन्द्र बर्साइन माध्यमिक विद्यालयमा थियो । बर्साइन उनको घरभन्दा निकै टाढा थियो । त्यसकारण उनलाई त्यही नजिकै कोठा भाडामा बस्नुपर्ने थियो । तर, कोठा त के कसैले उनलाई गोठमा बस्ने अनुमतिसमेत दिएन । त्यसकारण बर्साइनबाट तीन किलोमिटर पर एक स्वजातिको घरमा परीक्षासम्मका लागि बास पाए । परीक्षा केन्द्रबाट टाढा बसेका मरिकलाई आवतजावत गर्न सजिलो थिएन । शिक्षा विषयको परीक्षाको दिन उसको घडी बिग्रेको कारण उनी आधा घण्टा ढिलो पुगेका थिए । सुरुमा त भवनमा प्रवेशै दिइएन, पछि बल्लतल्ल प्रवेश पाए । तर, त्यस दिनको जाँच बिग्रियो । त्यस वर्ष उनी शिक्षा विषयमा फेल भएका थिए । अर्को वर्ष २०४० सालमा मात्रै प्रवेशिका परीक्षामा पास भए ।


त्यसपछि ऊ आईकम पढ्ने भनेर विहारको निर्मली गएका थिए । तर, अर्को वर्ष सप्तरीका धेरै विद्यार्थी पकलिहवा क्याम्पसमा जेटीए पढ्न गइरहेको देखेर उनी पनि त्यहीँ गएका थिए । पढाइमा लगनशील तथा मिहिनेती युक्ति मरिकले छात्रवृत्ति पनि पाए । सप्तरीका लगभग २५–३० विद्यार्थीमध्ये युक्तिसहित दुई जना मात्र जेटीए पास भएका थिए । यो २०४४ सालको कुरा हो ।


जागिरका लागि युक्ति अनेक नेताकहाँ धाउन थाले । एक दिन राजविराजका जगदीश झाको घर पुगेर अनुनय–विनय गरेको प्रसंग जति प्रयास गरे पनि उनले बिर्सन सकिरहेका छैनन् । झा पञ्चायतकालमा अञ्चलाधीश थिए र सप्तरीका एक प्रभावशाली नेता । एक जना ग्रामीण अगुवाका साथ उनी झाको घर गएका थिए । जागिरका लागि अनुनय गरेर झाको घर–कोठाबाट बाहिर निस्किनासाथै झाले नोकरलाई बोलाएर पानी हालेर कोठा सफा गर्न लगाएका थिए । आँखैअगाडिको यो दृश्य र घटना आफैंमा कहालीलाग्दो थियो ।
२०५० सालतिर रामचन्द्र पौडेल कृषिमन्त्री भएको बेला सप्तरीबाट कृषि मन्त्रालयमा जेटीएका लागि थुप्रै सिट खुलेका थिए । युक्तिले जागिरका लागि आफ्नो क्षेत्रका सांसद हरि रायमार्फत मन्त्रीसमक्ष सिफारिस गराउने प्रयास गरेका थिए । मन्त्रालय र विभागका कर्मचारीलाई खुसी पार्नका लागि उसले सांसद रायलाई १२ हजार रुपैयाँ पनि दिएका थिए । सो रकम उनी प्रतिकठ्ठा २ हजारको दरले ४ कठ्ठा खेत बेचेर र ४ हजार ब्याजमा ऋण लिएर जम्मा पारेका थिए । तर, त्यति गरेर पनि मरिकले जागिर पाएनन् । खुसी पार्न दिएको सबै रकम ऋणमाथि ऋण मात्रै बन्यो ।


धेरै प्रयासपछि गजेन्द्रनारायण सिंह आपूर्तिमन्त्री भएका बेला उनले नेपाल आयल निगमको जनकपुर कार्यालयमा मासिक ज्यालादारीमा जागिर लगाइदिए । सरकार फेरिएपछि ज्यालादारीमा काम गर्ने सबै कर्मचारीलाई बर्खास्त गर्ने निर्णयसँगै युक्ति मरिकको पनि जागिर गयो ।

सफलताको कुरा
नेपालको जनगणना २०६८ अनुसार नेपालमा डोम जनसङ्ख्या १३ हजार २ सय ६८ छ । जबकि लगभग दस हजार (९,६२१) त प्रदेश दुईमा मात्रै छ । उनीहरूको आवादी सबैभन्दा बढी सप्तरी (१,८७५), दोस्रो सिरहा (१,५२६) र तेस्रो धनुषा (१,२२४) मा देखिन्छ । पूजा, चाडपर्वअनुसार बाँसका सामग्री तथा मधेसी समाजमा दैनिक जीवनयापनमा प्रयोग हुने डालो, ढकिया, हाते पँखालगायतका वस्तु डोमले बनाउने गर्छन् । तर, यिनै डोमका लागि मन्दिर प्रवेश र पूजा निषेध थियो ।


२०५३/५४ सालतिर युक्ति जनकपुरमै हुँदा कान्तिपुरमा छुवाछूतसँग सम्बन्धित एक लेख पढेका थिए । गुणराज लुइँटेलले उक्त लेख लेखेको उनी सम्झिन्छन् । लेखमा मुलुकी ऐनको धारा ११ बमोजिम सार्वजनिक स्थलमा छुवाछूत गर्नेलाई १ वर्ष जेल हुने लेखिएको कुरा पढेर युक्ति मरिक निकै खुसी भएका थिए । युक्तिले त्यस लेखलाई काटेर जनतसाथ राखेका थिए । जनकपुरमा जागिर सकिएपछि उनी त्यसपछि आफ्नो गाउँ फर्किए । त्यो लेख लिएर उनी छिन्मस्ता (सखडा) भगवती मन्दिरका पुजारी महाकान्त ठाकुरकहाँ पुगे । आफूहरू मन्दिर पस्न पाउनुपर्ने तर्क गरे । तर, पूजारी ठाकुरले मानेनन् । कानुनमा होला तर समाजको आफ्नै परम्परा छ भन्दै अनेक तर्क गरेर युक्तिलाई मन्दिर प्रवेश दिएनन् । ‘डोम मन्दिरभित्र पस्यो भने अनर्थ हुन्छ’ भन्ने तर्क पुजारीले गरिरहे । केही वर्ष यसरी नै बित्यो । त्यसपछि, युक्ति मरिकले आफ्नै जातिका केही मानिसलाई साथ लिएर २०५७ चैत महिनामा सखडा मन्दिर प्रवेश गर्न खोज्दा पुजारीहरूले डोम अगुवालाई निकै लछारपछार गरेका थिए । तैपनि मन्दिर पस्न दिइएन ।


केही समयपछि युक्ति मरिकको भेट सोनेलाल चौधरीसँग भयो । सोनेलाल एक्सन एड नामक संस्थामा कार्यरत थिए । सोनेलालले युक्तिलाई बालशिक्षा कक्षा सञ्चालनका लागि मासिक आठ सयको जागिर दिए । सोनेलालको सहयोगमा युक्ति फेरि मन्दिर प्रवेशको योजना बनाउन थाले । एक दिन उनले आफ्नै जातका केही थप मानिसलाई जम्मा पारेर सखडा मन्दिरमा बोका चढाउने योजना बनाए । पुजारीले फेरि पनि उनीहरूलाई मन्दिर प्रवेश गर्न दिएन । बाहिरैबाट बोका चढाएर पूजा गर्न भने । उनीहरूले मन्दिरभित्र मात्रै पूजा गर्ने अड्डी लिई बसे । पुजारीहरूले मन्दिर समितिका अध्यक्ष लगायतका पदाधिकारीलाई बोलाएका थिए । ती सबै डोमलाई मन्दिर प्रवेश गर्न नदिने पक्षमा थिए । तर, त्यो घडी, स्थानीय प्रहरीले भने राम्रै सहयोग गरेको थियो । प्रहरीको सहयोगमा २०५८ सालमा छिन्नमस्ता (सखडा) मन्दिर प्रवेश पाएपछि युक्तिको आत्मविश्वास बढयो । यो अभियानलाई निरन्तरता दिने उनले ठाने ।


सखडा मन्दिरमा प्रवेश पाए पनि राजविराजका होटलहरूमा छुवाछूत कायमै थियो । युक्तिले २०६० सालमा स्थानीय तीन होटलविरुद्ध राजविराज अदालतमा छुवाछूतसम्बन्धी मुद्दा दायर गरेका थिए । राजविराजका लागि त्यो पहिलो घटना थियो । फैसला युक्तिको पक्षमा भएको थियो । उनी झन् उत्साहित भएका थिए ।


भारदहस्थित कङ्काल्नी मन्दिरमा पनि डोमलाई मन्दिर प्रवेश निषेध थियो । डोम मन्दिरभित्र प्रवेश गर्‍यो भने ‘कि त घाँटी कटाउँछु कि त भारत गएर बस्छु’ भन्दै त्यहाँका मुख्य पुजारीले अड्डी लिएका थिए । युक्तिले त्यहाँ पनि प्रयास गरे । डोमहरू सामूहिक रूपमा २०६१ सालमा कङ्काल्नी मन्दिर प्रवेश गर्न सफल भएका थिए ।

युक्ति मरिकको सपना
युक्ति मरिक २०६१ सालमा महेन्द्र विन्देश्वरी क्याम्पस, राजविराजमा आईए भर्ना भएका थिए । २०६७ सालमा राजनीतिशास्त्रमा बीए पनि पास भए । आफ्नो समुदायका मानिसलाई कानुनी सहयोग गर्ने उद्देश्यले हाल उनी एलएलबी पढ्दै छन् । एलएलबी पास गरेपछि उनी डोम जातिमा पहिलो वकिल हुनेछन् ।


युक्तिका दुई छोरी र तीन छोरा छन् । छोरीहरूलाई घरबाहिर राखेर पढाउन नसकेकामा उनलाई पश्चात्ताप छ । डोम समुदायमा बच्चा काखमै भएको बेला, आमाको दूध खाने उमेरमै विवाह गरिदिने परम्परा छ । तर, छुवाछूत र बालविवाहविरुद्धको अभियानमा लागेका कारण युक्तिले आफ्ना छोरीको बालविवाह गरेनन् । पछि उनलाई छोरीहरूका लागि बेहुला पाउन निकै गाह्रो भएको थियो । जेठी छोरीलाई भारतको सुपौल तथा कान्छी छोरीलाई धनकुट्टामा विवाह गरेका छन् । पाँच सन्तानका बुबा युक्ति मरिकले भोगेका विभेदको तुलनामा कम होला तर अझै पनि उनका सन्तानले जीवनको हरेक मोडमा त्यस्तै विभेद भोगिरहेका छन् । गाउँबाहिर नयाँ ठाउँमा जाँदा जात र थर लुकाएर बस्नुपर्ने समस्या यथावत् छँदैछ ।


छोराहरूलाई साथमा लिएर युक्तिले डोम समुदायलगायत सम्पूर्ण दलितको उत्थानमा लाग्ने चाहना राखेका छन्, यसैका लागि उनी वकिल बन्दै छन् । साथै तीन छोरालाई तीन फरक पेसामा लगाउने सपनासमेत बुनेका छन् । मरिकका जेठा छोरा बीएड तेस्रो वर्षको फाइनल परीक्षा दिएर राजविराज बसेका छन् । कान्छो छोरा राजविराजमा सब–ओभरसियर पढिरहेका छन् । उनका तीनै छोरा पढ्नमा अब्बल छन् । माहिलो अलि बढी जेहेन्दार छन् । युक्तिले माहिलो छोरा दिनेशकुमार मरिकलाई डाक्टर बनाउने सपना सजाएका छन् । दिनेश १२ कक्षामा ७१ प्रतिशत अङ्क ल्याई उत्तीर्ण भएका छन् । हाल उनी काठमाडौंको एक होस्टलमा बसेर एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्दै छन् । यसपालि महाराजगन्ज र धरानमा प्रवेश परीक्षा दिने योजनामा छन् । यदि दिनेशले एमबीबीएस पढ्न पायो भने ऊ सम्भवत: डोम समुदायमा पहिलो डाक्टर हुनेछ । युक्ति मरिक भन्छन्, ‘आफू वकिल र छोरालाई डाक्टर बनाउने सपना बुनेको छु ।’

प्रकाशित : भाद्र ३०, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?