चिकित्सक संघले भोलि देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने- समाचार - कान्तिपुर समाचार

चिकित्सक संघले भोलि देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने जनाएको छ । अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाका निम्ति सरकारले कुनै चासो नदेखाएको भन्दै संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्था ठप्प पार्ने जनाएको हो ।

चिकित्सक संघले सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ।


संघले विज्ञप्तिमा आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनैपनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुने उल्लेख गरेको छ ।

प्रकाशित : माघ १७, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

चर्को ब्याजदरप्रति महासंघको ध्यानाकर्षण

रासस

काठमाडौँ — नेपाल राष्ट्रिय व्यवसाय महासंघले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको चर्को ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महासंघका अध्यक्ष नरेश कटुवालले बिहीवार एक विज्ञप्ति जारी गरी सरकारले विना धितो कारोबारको प्रकृति हेरेर सहुलियत दरमा ब्याजदर उपलब्ध गराउनुको साटो बैंक तथा वित्तीय क्षेत्रले लिँदै आएको ब्याज झण्डै दोब्बर बनाएकोमा उद्योगी व्यवसायी हतोत्साहित बन्न पुगेको बताए ।

'अनियमित घरभाडा वृद्धि, चर्को भन्सार शुल्क, झन्झटिलो भन्सार प्रक्रियालगायतका समस्या खेपिरहेका उद्योगी व्यवसायी ब्याजदरका नाममा बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको ब्याजदरले झन क्रसित बन्न पुगेका छन्', विज्ञप्तिमा भनिएको छ ।

बैंक तथा वित्तीय क्षेत्रले नाफा कमाउने उद्देश्यले बढाइएको ब्याजदरले उद्योगी व्यवसायीलाई व्यवसाय क्षेत्रमा निरुत्साहित पार्न खोजेको महासंघले जनाएको छ । महासंघले ब्याजदर वृद्धिलाई नियन्त्रण गरी पुरानै ब्याजदर कायम राख्न माग गर्दै आफ्ना माग पूरा नगरे कडा आन्दोलन गर्ने जनाएको छ ।

प्रकाशित : माघ १७, २०७५ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×