थप दुई न्यायाधीश माथि छानबिन

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई जिल्ला न्यायाधीश विरुद्ध परेको उजुरी छानबिन गर्न न्यायपरिषदले समिति गठन गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको संयोजकत्वमा गठित समितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र न्यायाधीश टेकप्रसाद ढुंगाना सदस्य छन् । 

समितिले जिल्ला न्यायाधीश विश्वमंगल आत्रेय र ओमकार उपाध्यायमाथि छानबिन गर्नेछ । आत्रेयले ललितपुरमा हुँदा गरेका विभिन्न मुद्दाको न्यायसम्पादनमाथि उजुरी परेको थियो ।


परिषद्ले सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेश काफ्ले र भक्तपुरका मोहम्मद आजादलाई सातदिने स्पष्टीकरण सोधेको छ ।


प्रकाशित : माघ १७, २०७५ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्

डा. केसीलाई सरकारको सुझाव, ‘माग पूरा भएको खुशियाली मनाउनुस्’

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीले उठाएका माग पूरा भइसकेकाले अब संसदीय व्यवस्थाप्रति परिचित प्रतिपक्षी दलले यो विषयलाई बारम्बार कोट्याइरहन उपयुक्त नहुने बताएका छन् ।

'प्रतिपक्षीले अब बारम्बार यो विषयलाई पिलो कोट्याएजस्तो नगरौँ, उहाँको विषय सकियो । हामी अनुरोध गछौँ ‘डा साबले अब माग पूरा भएको खुशियालीमा अनशन छोड्नुस्’ उक्साउनेको भ्रमबाट मुक्त हुनुपर्छ ।”

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले आफ्नो स्वास्थ्यको ख्याल गर्दै सरकारले अघि बढाएको प्रक्रियाको कार्यान्वयनका लागि अगुवाइ गरेर जनताको सेवामा सिटामोल र मलमपट्टी बोकेर जानु डा.केसीको महानता हुने सुझाव दिए ।

आफ्नो माग पूरा नभएको भन्दै डा.केसी २३ दिनदेखि अनशनमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । केसीले पुराना सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित गराउनुपर्नेलगायत माग उठाएका छन् ।

केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित : माघ १७, २०७५ १९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×