डा. केसीलाई सरकारको सुझाव, ‘माग पूरा भएको खुशियाली मनाउनुस्’

काठमाडौँ — सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीले उठाएका माग पूरा भइसकेकाले अब संसदीय व्यवस्थाप्रति परिचित प्रतिपक्षी दलले यो विषयलाई बारम्बार कोट्याइरहन उपयुक्त नहुने बताएका छन् ।

'प्रतिपक्षीले अब बारम्बार यो विषयलाई पिलो कोट्याएजस्तो नगरौँ, उहाँको विषय सकियो । हामी अनुरोध गछौँ ‘डा साबले अब माग पूरा भएको खुशियालीमा अनशन छोड्नुस्’ उक्साउनेको भ्रमबाट मुक्त हुनुपर्छ ।”
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले आफ्नो स्वास्थ्यको ख्याल गर्दै सरकारले अघि बढाएको प्रक्रियाको कार्यान्वयनका लागि अगुवाइ गरेर जनताको सेवामा सिटामोल र मलमपट्टी बोकेर जानु डा.केसीको महानता हुने सुझाव दिए ।
आफ्नो माग पूरा नभएको भन्दै डा.केसी २३ दिनदेखि अनशनमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । केसीले पुराना सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित गराउनुपर्नेलगायत माग उठाएका छन् ।
केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
प्रकाशित : माघ १७, २०७५ १९:३१