डा. केसीसँग संवाद सुरु गर्न प्रा. सुवेदीको आग्रह

कान्तिपुर संवाददाता

लन्डन — ग्लोबल पोलिसी फोरम फर नेपालका संस्थापक अध्यक्ष प्रा. सूर्यप्रसाद सुवेदीले चिकित्सा शिक्षा र सेवा सुधारका लागि आमरण अनशनरत डा. गोविन्द केसीसँग तत्काल संवाद सुरु गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले बुधबार विज्ञप्ति जारी गरी केसीका माग चिकित्सा क्षेत्रको बेथितिसँग सम्बन्धित भए पनि सम्पूर्ण उच्च शिक्षाक्षेत्र नै बेथितिको सिकार भएको जनाएका छन् ।


‘तसर्थ हालै प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा विधेयकलगायत उच्च शिक्षा क्षेत्रसम्बन्धी सबै ऐन कानुनको पुनरावलोकन गरी दीर्घकालीन नीति निर्माणका लागि आवश्यक कदम चाल्न नेपाल सरकारसँग आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।


सुवेदीले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्ने अठोट र उच्च शिक्षा सुधारका लाागि उच्चस्तरीय आयोग गठन गर्ने प्रस्तावसहित केसीसँग संवाद सुरु गर्न आग्रह गरेका छन् ।

प्रकाशित : माघ १७, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्

एसएसपीसहित चार जना भ्रष्टाचारी ठहर

कान्तिपुर संवाददाता

काठमाडौँ — विशेष अदालतले सशस्त्र प्रहरी बलका एसएसपीसहित चार जनालाई भ्रष्टाचारी ठहर गरेको छ । विशेषले बलको बाँकेस्थित कार्यालयमा काँडेतार खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरी एसएसपी गोपाल मिश्र, इन्स्पेक्टर चित्रबहादुर केसी, हवल्दार नयनबहादुर ओली र ठेकेदार राजु रावललाई सजाय तोकेको हो । 

विशेषका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरू रत्नबहादुर बागचन्द र चण्डिराज ढकालको इजलासले एसएसपी मिश्र र इन्स्पेक्टर केसीलाई ६३ लाख १६ हजार बिगो र त्यति नै जरिवाना हुने फैसला गरेको छ । उनीहरूलाई एक/एक वर्ष कैद सजाय तोकिएको छ । ठेकेदार राजु रावललाई एक करोड २६ लाख बिगो र त्यति नै जरिवाना गर्ने निर्णय भएको छ । हवल्दार ओलीलाई ३१ लाख ५८ हजार बिगो र त्यति नै जरिवाना तोकिएको छ । उनीहरूमाथि ६ महिनाका दरले कैद सजाय हुनेछ ।

काँडेतार खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले २०७३ साल भदौ ६ गते एसएसपी मिश्रसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गोप्य रूपमा फर्जी खरिद बोर्ड गठन गरी नक्कली बिलका आधारमा भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।

अख्तियारले ओलीबाहेक सबै प्रतिवादीविरुद्ध एक करोड ६६ लाख रुपैयाँका दरले बिगो मागदाबी गरेको थियो । हवल्दार ओलीलाई भने बिनाबिगोको भ्रष्टाचार मुद्दा मात्रै लगाएको थियो । २०७१ माघदेखि अर्को सालको माघसम्म एक वर्ष सशस्त्र प्रहरीको बाँके कार्यालय प्रमुख हुँदा मिश्रले दुई प्रकारको काँडेतार खरिदमा अनियमितता गरेको अख्तियारको आरोप थियो । मिश्रकै आदेशमा लेखा प्रमुख केसीलगायत स्काई वेब, वर्षा र जेजे ट्रेडिङका सञ्चालक राजु रावलसँग मिलेमतोमा फर्जी खरिद प्रतिवेदन तयार गरेको आरोपपत्रमा दाबी गरिएको थियो ।

आठ जनाविरुद्ध मुद्दा
अख्तियारले परीक्षामा अनुत्तीर्ण भएकालाई समेत पास गराएर लाइसेन्स जारी गरेको भन्दै यातायात कार्यालयका ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमाथि लिखित र ट्रायल परीक्षामा अनुत्तीर्ण भएकाको अभिलेख परिवर्तन गरेको आरोप लगाएको हो ।

शाखा अधिकृतहरू भक्तबहादुर विष्ट, विष्णुप्रसाद सुवेदी, कम्प्युटर अधिकृत विजेन्द्रराज जोशी, जयनारायण चौधरी, कम्प्युटर अपरेटरहरू सचिनकुमार सिंह, अमितकुमार साह, विजयराम बनमाला र मदनकुमार साहसमेत ८ जनामाथि अख्तियारले मुद्दा चलाएको हो । उनीहरूले ६ सय २९ जनाको नतिजा फेरबदल गराएको आरोप छ ।

प्रकाशित : माघ १७, २०७५ १९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×