कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड्सको पर्खाइमा स्रष्टा

रीना मोक्तान

काठमाडौँ — रेडियो कान्तिपुरले आयोजना गर्दै आएको ‘नेसनल म्युजिक अवार्ड्स’ मा गतवर्ष गायक प्रकाश सपुतले ‘पीर’ बाट उत्कृष्ट लोकदोहोरी गायकको अवार्ड उचालेका थिए । आगामी साता हुने अवार्ड्सको छैटौं संस्करणमा उनी उत्कृष्ट लोक गायकतर्फ ‘सकम्बरी’ बाट मनोनयनमा परेका छन् । यो विधामा प्रकाशसँगै प्रकाश दुतराज, राजु परियार, खेम सेन्चुरी र राजु ढकाल दाबेदार छन् । लोकगीततर्फ आफ्ना बेग्लै पहिचान बनाइसकेका सपुत यो पटक ‘सकम्बरी’ अवार्ड जित्ने आसमा देखिन्छन् । 

रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड्सको पर्खाइमा स्रष्टा

‘रेडियो कान्तिपुरको नेसनल म्युजिक अवार्ड्स भन्नेबित्तिकै हामी संगीतकर्मीकमा छुट्टै खालको ऊर्जा हुन्छ । यस्तो अवार्ड पाउन पाए हुने भन्ने त भइहाल्छ । तर, योभन्दा अघि पनि मैले म्युजिक अवार्ड पाइसकेका हुनाले अरुले पनि मौका पाओस् भन्ने मनमा हुँदो रहेछ,’ प्रकाशले भने, ‘तर, मनोनयनमा परिसकेपछि सबै गीतबीच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा त आफ्नै गीतले जितोस् भन्ने नै हुन्छ नि ।’ संगीत क्षेत्रमा च्याउसरी उम्रेका अवार्डबीच रेडियो कान्तिपुरले आफ्नो विश्वसनियता र गरिमा कायम राखेको सपुत बताउँछन् ।

अवार्ड दिनु फेसनजस्तै भइसकेपछि पछिल्लो समय अवार्ड कसले पायोभन्दा पनि अवार्ड कसले दिँदै छ ? भन्नेतर्फ आफूले ध्यान दिन थालेको सपुत बताउँछन् । ‘खासमा अहिले अवार्ड फेसनजस्तै भइसक्यो, समग्र संगीतको विधालाई समेटेर हुने अवार्ड त रेडियो कान्तिपुरको यो अवार्ड नै हो । विभिन्न विधामा अवार्ड त हुने गरेको छ । व्यवसायका हिसाबले विदेशमा लिएर जाने अवार्डहरू पनि छन्,’ सपुतले भने,‘ रेडियो कान्तिपुरको अवार्ड त्यो भीडभाडभन्दा अलग छ । यो अवार्डले वास्तविक रूपमा खटिरहेको सर्जकलाई नै सम्मान गरिरहेझैं लाग्छ ।’

अडियो हुँदै भिडियोको जमानासम्म आइपुग्दा रेडियो कान्तिपुरले गीतका महत्त्वलाई बुझ्दै आएकाले, यो अवार्ड न्यायसंगत हुने सपुतको बुझाइ छ । मनोनयनमा परेको ‘सकम्बरी’ माथि थुप्रै वादविवाद पनि भए । गीतमा महिलालाई गलत ढंगबाट प्रस्तुत गरिएको भन्ने बहस नै चल्यो । तर, आफूले बाँचिरहेको समाज र समाजको समग्र बुझाइ नै गीतमा प्रस्तुत गरिएको सपुत तर्क गर्छन् । ‘मैले बाँचिरहेको, देखिरहेको समाजको महिलाप्रतिको दृष्टिकोणलाई जसरी समाजबाट लिन सकें त्यसरी नै प्रस्तुत गरेको हुँ,’ उनी भन्छन्, ‘सकम्बरीलाई मैले समाजकै एउटा प्रतिबिम्वका रूपमा, समग्र बुझाइका रूपमा प्रस्तुत गरेको थिएँजस्तो लाग्छ । चाहे त्यो बलात्कार होस् या महिला हिंसाका मुद्दामा होस्, हाम्रो समाज महिलाप्रति त्यति उदार देखिँदैन ।’

गायिका त्रिशला गुरुङ पनि ‘माया जुनलाई’ को मनोनयनलाई लिएर निकै उत्साहित छिन् । उत्कृष्ट पप गायिकातर्फ छनोटमा परेको गीतलाई बेक्चाले लेखेका हुन् । रोमान्टिक गीत ‘माया जुनलाई’ मा लामो दूरीमा रहेका प्रेमीप्रेमिकाको भावना प्रस्तुत गरिएको छ । ‘माया जुनलाई शीर्षकले नै भन्छ, जुन कति टाढा हुन्छ । यो गीत निकै फरक र सुन्दर स्वादको छ,’ त्रिशला सुनाउँछिन्, ‘बेक्चाको संगीत कम्पोजिसन, मेलोडी निकै राम्रो छ ।’ पप गायिकातर्फ त्रिशलासँगै अन्य गायिकाहरू तृष्णा गुरुङ, मेलिना मैनाली, प्राश्ना शाक्य र सुवानी मोक्तान छन् । यसअघि ‘के माया लाग्छ र’ मार्फत पिपल्स च्वाइस अवार्ड उचालेका निशान भट्टराई पनि फिल्म ‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिनँ’ बोलको गीतमार्फत मनोनयनमा परेका छन् ।

पहिलो पटक अभिनेता आर्यन सिग्देलका लागि स्वर दिएको यही गीत अवार्ड छनोट हुँदा निशानमा पनि उत्साह थपिएको छ । मनोनयनमा परेसँगै आफूले जित्नै पर्छ भन्ने धारणा भने राख्दैनन् निशान । उनी सधैं जित्नलायक गीतले नै अवार्ड उचाल्न पाउनुपर्ने बताउँछन् । ‘पहिलोपटक रेडियो कान्तिपुरको नेसनल अवार्ड पाउँदा त निकै खुसी भएको थिएँ । मेरो गीतभन्दा अरु गीत राम्रा छन् भने ती गीतले पनि जित्नुपर्छ भन्ने लाग्छ,’ निशानले भने, ‘रेडियो कान्तिपुरको यो अवार्डमा निष्पक्ष मूल्यांकन हुन्छ भन्नेमा म विश्वस्त छु ।’ निशानले गाएको यो गीतमा दीपक शर्मा शब्द र संगीत छ । गीतमा उनीसँगै गायिका मेलिना राईले स्वर दिएकी छन् ।

निशानसँगै यही विधामा मनोनयनमा परेका अर्का गायक हुन्, एसडी योगी । फिल्म ‘महापुरुष’ का लागि गाइएको ‘बेमौसमी’ बोलको गीतबाट मनोनयनमा परेका उनी नेपालमा निष्पक्ष रूपमा मूल्यांकन गर्ने अवार्ड कमै रहेको बताउँछन् । निर्माण टिमले यो गीत गाउन योगीलाई अन्तिम समयमा अनुरोध गरेका थिए । उनी पार्श्व गीतले कथामा निकै महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन् । ‘बेमौसमी’ मा दुई प्रेमीको भावनालाई प्रस्तुत गरिएको छ । पार्श्व गायनमा आफ्नो पहिचान बनाइसकेका योगी पनि मनोनयनमा पर्ने बित्तिकै जित्नैपर्छ भन्ने धारणा राख्दैनन् । उनी भन्छन्, ‘मैले नै अवार्ड पाउनुपर्छ भन्ने लाग्छ । अवार्ड पाउनु त खुसीको विषय भइहाल्यो, नपाउँदा पनि आफ्नो संगीत गर्ने कर्म छोडिन्न ।’

उत्कृष्ट ब्यान्डतर्फ यो पटक पनि ‘अभया एन्ड दी स्टिम इन्जिन्स’ मनोनयनमा परेको छ । यसपटक ‘बाँसको घारी’ बाट मनोनयमा परेको ब्यान्डका यसअघि ‘छ मेरो अरु संसार’, ‘लैजाऊ मलाई’ लगायतका थुप्रै गीत मनोनयनमा परिसकेका छन् । तर ब्यान्डले अवार्ड भने उचाल्न पाएको छैन । यो पटक प्रतिस्पर्धामा छानिएको ‘बाँसको घारी’ मा अभया सुब्बाले महिला स्वतन्त्रता र शिक्षाको विषय जोड्दै कम उमेरमा गरिने बिहेले ल्याउन सक्ने सम्भावना कल्पना गरेर शब्दहरू लेखेकी हुन् । ‘गीतमा कम उमेरमा बिहे गर्नुहुँदैन, आफ्नो खुट्टामा उभिएर, धेरै कुरा बुझिसकेपछि मात्रै बिहे गर्नुपर्छ भन्ने सन्देश राखेकी छु,’ अभया भन्छिन्,’ बिहे भएर स्वतन्त्र हुन्छु भन्ने धेरै महिलाले सोच्छन् । तर, बिहे गर्दा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ भनेर यो गीत हामीले प्रस्तुत गरेका हौं ।’

यस वर्ष रेडियो कान्तिपुर ‘नेसनल म्युजिक अवार्ड्स २०८०’ को छैटौं संस्करण आगामी जेठ ३२ मा आयोजना हुँदै छ । अवार्ड १३ विधामा प्रदान गरिँदै छ । भारतीय रियालिटी शो इन्डियन आइडलका १२ औं सिजनका विजेता पवनदीप राजन र समूहको विशेष सांगीतिक प्रस्तुति रहने अवार्ड समारोहमा नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन् । सुगम पोखरेल, रचना रिमाल, हिमाल सागर, अनु चौधरी, लोचन रिजाल, बद्री पँगेनी, सुशान्त घिमिरेको सांगीतिक प्रस्तुति रहनेछ । अवार्डमा स्ट्यान्ड अप कमेडियन सीता न्यौपानेले पनि प्रस्तुति दिने छिन् ।

रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यका अनुसार मनोनयनमा परेकाबाट विजेता छनोट गर्न दुई चरणको निर्णायकमण्डल खटाइएको छ । ‘स्थानीय संगीतको प्रवर्द्धन मात्रै होइन, स्थानीय कलाकारलाई अन्तर्राष्ट्रिय कलाकारसँग स्टेज सेयर गर्ने मौका दिने हाम्रो योजना हो,’ आचार्यले भने । त्यसकारण रेडियो कान्तिपुरले अन्तर्राष्ट्रिय कलाकारलाई अवार्ड कार्यक्रममा निम्त्याउने गरेको उनले बताए । ‘हामी संगीत क्षेत्रमा लामो समयदेखि छौं,’ उनले भने, ‘रेडियो कान्तिपुरमा धेरै बजेका गीतहरूमा हामीले उत्कृष्ट पाँच छनोट गर्न निर्णायक टोलीलाई दिन्छौं । त्यसैले अवार्ड निष्पक्ष हुन्छ ।’

प्रकाशित : जेष्ठ २५, २०८१ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x