२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

डिग्री माइला- दृश्यभन्दा संवाद हाबी

शैक्षिक बेरोजगारी, ‘डिग्री’ माइलाले समातेको मूल मुद्दा आफैँमा सशक्त र वर्तमान समाजसँग मिल्दो छ ।
रीना मोक्तान

काठमाडौँ — सुरुमै भनिहालौं, नाटक संवाद प्रधान हुन्छ तर फिल्म भिजुअलको माध्यम हो । अर्थात् फिल्ममा बोलेरै भन्दा पनि देखाइने दृश्यबाटै कथा भनिन्छ । नाटक 'डिग्री माइला'को चर्चित पात्रमाथि आधारित रहेर यही शीर्षकमाथि बनेको फिल्ममा निर्देशक रामबाबु गुरुङले यही भेद छुट्याउन भुले ।

डिग्री माइला- दृश्यभन्दा संवाद हाबी

नाटकबाट संवादको यही शैली फिल्ममा पछ्याउँदा 'डिग्री माइला'ले उतिबेला रंगमञ्चमा निकै ख्याति कमाएको पात्रको साख जोगाउँदैन ।

उदाहरणका लागि कथा वाचनको एउटा सशक्त बिन्दुमा आइपुग्दा फिल्मको प्रमुख पात्र माइलाले बुवातर्फ हेर्दै भूइँमान्छेलाई गरिखान नदिएको संवाद बोल्छ । यो दृश्यले समग्र फिल्मले बोल्न चाहेको मुद्दा यहाँ बोलिदिएको छ । तर, डिग्री माइलाले गरिखानकै लागि कस्ता समस्या झेल्नुपर्‍यो त ? अथवा त्यसका लागि कस्तो मेहनत गर्नुपर्‍यो ? भन्ने पक्षलाई दृश्यमा मज्जाले स्थापित नगर्दा यस्तो भारी संवाद सतही बनिदिन्छ । दृश्यमार्फत यसरी कथा, पात्र र घटनाक्रमलाई विश्वस्नीय प्रस्तुत गर्न नसक्दा 'डिग्री माइला', निर्देशक गुरुङको कमजोर फिल्म सावित भएको छ । फिल्मभरि दृश्यभन्दा पनि संवाद हावी भएको छ ।

फिल्मको कथा डिल्लीराम भुजेल उर्फ 'डिग्री माइला'को हो, जसले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेको छ । गाउँभरीमा डिग्री गर्ने एक्लो ! गाउँको क्याम्पसमा अंग्रेजी पढाउने मास्टरको खडेरी परिरहेकै बेलामा काठमाडौंबाट रुम्जाटार फर्कन्छ, माइला । अंग्रेजी शिक्षक दुई हप्तासम्म राख्न नसके क्याम्पस नै बन्द गराउने निरीक्षण टोलीको धम्कीसँग डराएका विद्यालय संस्थापक, शिक्षक र सचालक समितिले माइलासामू मास्टर हुने अवसर राखिदिन्छ ? ठूल्ठूला गफ दिँदै हिँड्ने माइलाले त्यो अनुरोध अस्वीकार गरेसँगै 'डिग्री माइला'को कथा अगाडि बढ्छ ।

झट्ट हेर्दा यो फिल्म डिग्रीले लिएको दुई निर्णयमाथि नै केन्द्रित छ । मध्यान्तरअघिको भागमा विद्यालय सञ्चालक समितिले आफूअघि राखेको अवसर डिग्रीले नकारिदिन्छ, मध्यान्तरपछि भने गाउँको त्यही विद्यालयमा अंग्रेजी शिक्षक बन्न माइलाले संघर्ष गरेको देखाउन खोजिएको छ । तर, माइलाको त्यही निर्णय र त्यसपछि जोडिने घट्नाक्रमलाई विश्वासिलो ढंगमा फिल्ममा पस्किएको छैन । माइला किन त्यो क्याम्पसमा पढाउन मरिहत्ते गर्दैछन् ? त्यो नै स्पष्ट छैन । अर्को त विद्यालयमा उक्त पात्रलाई शिक्षक बनाउन सञ्चालक समितिले खासै संघर्ष नै गर्दैन । यसरी पात्रहरुले कुनै उद्देश्य प्राप्ति गर्न द्वन्द्व नै निर्माण हुन नसके कसरी दर्शक फिल्ममा बाँधिन्छन् ? कमेडीकै भरमा ?

मध्यान्तरपछिको भागमा माइलाले क्याम्पसको शिक्षक बन्न संघर्ष नै गर्नुपर्दैन । सहजै गाउँका केटा उनलाई सहयोग गर्न हुल बाँधेर हिँड्छन्, नारा लगाउँछन् । फिल्मको प्रमुख पात्रले सबै कुरा सहजै प्राप्त गर्न थालेपछि कथा वाचन त्यसै फितलो बन्दै जाने भइहाल्यो । यसरी मध्यान्तरपछि निर्देशकले क्याम्पस र त्यतातर्फको कथा भन्न छाडेर, प्रेमको ‘कबड्डी’ देखाउन थाल्छन् । यसले कमजोर पटकथा र कथ्य वाचनमा गरिएको लापरवाही देखाउँछ ।

मुख्य कुरा त, माइला आफैंमा किन उति बिघ्न गफाडी बने ? भन्ने पृष्ठभूमि नै प्रष्ट छैन, त्यसैले माइलाले देखाउने अहंकार पनि अधिकांश दृश्यमा क्लिसे लाग्छन् । कविता (आँचल शर्मा)सँगको प्रेम पनि मज्जाले स्थापित भएको छैन, संवादकै भरमा दुईबीच पहिल्यैदेखि प्रेम थियो भन्ने बुझिदिनुपर्छ । एउटै गीतमा दुईको प्रेम स्थापना गर्न खोजिएको छ, सुरुवातमै आउने उक्त गीतले दुईको प्रेम जबर्जस्त स्थापित गर्न खोज्छ । कथ्य वाचनमा यस्तामिहीन पक्षहरु बुन्न नजान्दा यो फिल्मले दर्शकको ध्यान बाँधेर राख्दैन । फिल्मको सुरुवातमै माइलाले गरेको कविता वाचन गजब्बै सुनिन्छ, तर त्यो कवितालाई पनि कथामा बुन्न निर्देशक चुकेका छन् ।

फ्ल्यासब्याक पनि खासै बुझिने ढंगले प्रस्तुत गरिएको छैन । मध्यान्तरपछि त कथा सक्काउन निकै हतारो गरिएको छ, जबर्जस्ती फिल्मको कथा टुंग्याइएको छ । कथ्य वाचनमा भएका यस्तै त्रुटीले कति चरित्रलाई त्यसै खुम्च्याइदिएको छ । लेखनका क्रममा डिग्री माइला चरित्रको ‘आर्क’ ध्यान पुर्‍याइएको देखिन्न । गफ छाँट्दै हिँड्ने पात्रलाई यति कमसल रुपमा लेखिएको छ कि त्यो पात्रले गर्ने अधिकांश एक्सन दृश्यमा पुष्टि नै हुँदैन । त्यस्तै, ‘हैट’बाट ‘उ’ थेगोमा देखिएका बुद्धि तामाङको पात्रले बोल्ने थेगो सुरुवाततिर त नवीन लाग्छ । तर, त्यो थेगोलाई पनि झर्को लाग्ने किसिमले तारन्तार प्रयोग गरिएको छ ।

फिल्मको प्रमुख कथामा उक्त पात्रको भूमिका अझै बलियो लेखिएको भए संवादका यस्ता समस्या गौण बन्ने थिए । तर, यो फिल्ममा देखिने अधिकांश पात्रहरुको उद्देश्य, कथा वाचनमा त्यो पात्रको महत्त्व नै प्रष्ट हुँदैन । पूर्ववडा सदस्य एवं क्याम्पसमा फर्निचरको काम गरेका पात्र त फिल्मभरी लाउड नै प्रस्तुत भएका छन् । यो फिल्ममा छोटो अवधिमै कलाकार अनिल सुब्बाले भने आफ्नो अभिनय अब्बलता पस्केका छन् । बखतेको भूमिकामा विजय सन्तुलित लाग्छन्, त्यो चरित्रको अहं र उभित्रको समस्या विजयले अभिनयमार्फत पर्दामा बाँचिदिएका छन् । कविताको भूमिकामा आँचल शर्माले पनि प्रशंसालायक अभिनय गरेकी छन् । तर, कमजोर चरित्र लेखनले उनको त्यो अभिनय पनि खुल्न पाएको छैन ।

शैक्षिक बेरोजगारी, ‘डिग्री’ माइलाले समातेको मूल मुद्दा आफैँमा सशक्त र वर्तमान समाजसँग मिल्दो छ । डिग्री माइलाको जीवनबाट यो फिल्मले विद्यमान बेरोजगारी प्रस्तुत गर्दै राज्य सत्तामाथि प्रश्न उठाउन सक्थ्यो । साथै, देशमा रहेका डिग्री माइलाहरुको चित्रण गर्दै उनीहरुको मनोदशा, परिवेश र परिस्थिति पस्कन सक्थ्यो । तर, निर्देशक गुरुङले फिल्मले यो गहन विषयलाई त्यही ढंगले प्रस्तुत गर्न केही चुकेजस्तो देखिन्छ ।

फिल्मले बेरोजगारी मात्रै होइन शिक्षण प्रणालीमा भइरहेको समस्या उजागर गर्दै त्यहाँ भएको संरचना, जिम्मेवारी बोक्न नजान्ने संस्थापक र त्यसले युवाहरुमा पारिरहेको असर देखाउन सक्ने थुप्रै संभावना थियो । तर, फिल्म यस्ता महत्त्वपूर्ण मुद्दालाई छोडेर प्रेमकै लुछाचुडीतिर मोडिँदा निर्देशक गुरुङ कबड्डीको ह्याङबाट माथि उठ्न नसकेको देखिन्छ ।

प्रकाशित : वैशाख ४, २०८१ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?