कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'स्मिथ र वार्नर दबाबमा रहँदैनन्’

(एएफपी)

म्यानचेस्टर — अस्ट्रेलियाली प्रशिक्षक जस्टिन ल्याङ्गरले विश्वकपमा शनिबार दक्षिण अफ्रिकाको सामना गर्दा स्टिभ स्मिथ र डेविड वार्नर थप दबाबमा नआउने दाबी गरेका छन् । बल टेम्परिङ विवादबीच दुवै खेलाडीलाई एक वर्षको प्रतिबन्धका सजाय सुनाएयता अस्ट्रेलिया र दक्षिण अफ्रिका पहिलो पल्ट एकापसको सामना गर्दैछन् ।

'स्मिथ र वार्नर दबाबमा रहँदैनन्’

क्रिकेट अस्ट्रेलियाले त्यति बेलाका कप्तान स्मिथ र उपकप्तान वार्नरलाई विवादपछि एकवर्षे प्रतिबन्ध लगाएको थियो ।


उनीहरूले केपटाउनमा भएको टेस्टका क्रममा अर्का साथी खेलाडी क्यामरुन बेनक्राफ्टसँग मिलेर नियम विपरीत बलको स्वरूपमा बिगार्ने प्रयास गरेका थिए । अहिले चलिरहेको विश्वकपमा यी दुई खेलाडी जति बेला मैदान उत्रेका छन्, उनीहरूले दर्शकको विरोध नै सामना गर्नुपरेको छ । प्रतिबन्धपछि उनीहरूको यो पहिलो ठूलो प्रतियोगिता पनि हो । ‘विश्वकपमा दर्शकबाट उनीहरूले यस्तै व्यवहार अपेक्षा गरेका थिए र यसको राम्रो अनुभव पनि बटुलिसकेका छन्,’ ल्याङ्गरले भने ।


‘यो दुवै टिमका खेलाडीका लागि भावनात्मक रूपमा धेरै अर्थ राख्नेछ । तर यी भावनाका कुरा क्रिकेटको मैदानमा देखाउनु हुन्न,’ उनले थपे । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया यसअघि नै सेमिफाइनल पुगिसकेको छ । दक्षिण अफ्रिकाविरुद्धको खेल नतिजाले अस्ट्रेलिया लिग अंकतालिकाको शीर्षस्थानमा रहने वा नरहने तय गर्नेछ । त्यसको अर्थ पछिल्लो समय उच्च लयमा रहेको इंग्ल्यान्डको सेमिफाइनलमा सामना गर्न नखोज्नु पनि हुनेछ ।


‘यो खेलमा हामी २ अंकका लागि खेल्दैछौं । हामी जितको क्रम पनि कायम राख्न चाहन्छौं । हाम्रा खेलाडीका लागि यो विश्वकपको एउटा अर्को रोमान्चक खेल हुनेछ,’ ल्याङ्गरले भने । यस विश्वकपमा सबैभन्दा बढी रन बनाउने सूची अगाडि रहेका वार्नर प्रतियोगिताकै क्रममा तेस्रो बच्चाको पिता भएका छन् । उनकी श्रीमतीले पछिल्लो साता लन्डनमा बच्चालाई जन्म दिएकी थिइन् । ल्याङ्गरले स्मिथको लयबारे पनि प्रशंसा गरे ।


‘वार्नरसँगै स्मिथले पनि क्रिकेट खेल्नबाट मच्चा लिइरहेका छन् । उनीहरू दुवैको प्रदर्शन पनि राम्रो रहेको छ,’ उनले माने । अस्ट्रेलियाले कीर्तिमान पाँचपल्ट विश्वकप जितेको छ । यसपल्टको संस्करणमा टिमलाई उपाधिको बलियो दाबेदार मानिएको थिएन । अस्ट्रेलिया नै यसपल्टको विश्वकपको सेमिफाइनलमा छनोट हुने पहिलो टिम रह्यो । ‘केपटाउनको घटनापछि हामीले धेरै लामो यात्रा तय गरिसकेका छौं र अहिलेको स्थितिमा पुगेका छौं,’ उनले थपे ।

प्रकाशित : असार २१, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?