जितको खोजीमा अफगानिस्तान

एजेन्सी

साउथह्याम्पटन — शनिबारमात्र अफगानिस्तानले विश्वकपकै प्रमुख दावेदारमध्ये एक भारतविरुद्ध जितनजिक पुगेर पराजय बेहोर्नुपरेको थियो । बंगलादेशविरुद्ध सोमबार हुने खेलमा अफगानिस्तानले विश्वकपमा आफ्नो पहिलो जितको अपेक्षा गर्नेछ । 

बंगलादेशको ब्याटिङ लाइनमा बढुवा भएर ३ नम्बरमा पुगेका सकिव अल हसन केन्द्रमा छन् । जो लगातार खेलमा उत्कृष्ट प्रदर्शनसहित विश्वकपकै प्रमुख आकर्षण बनिरहेका छन् ।

वेस्ट इन्डिजले दिएको ३ सय २२ रनको लक्ष्य ४१.३ ओभरमै पूरा गरेर सनसनी मच्चाएको बंगलादेशले त्यसलगत्तैको खेलमा अस्ट्रेलियाबाट ३ सय ८२ रनको लक्ष्य पायो । जहाँ उनीहरूले ३३३–८ को सानदार प्रदर्शन गरेका थिए ।

ब्याटिङमा उल्लेख्य सुधार आए पनि बंगलादेशको बलिङ समस्या उस्तै छ । किनभने उसले पछिल्ला ३ खेलमा ३ सय २० भन्दा अधिक योगफलको सामना गर्नुपरेको छ । बलियो अफगानी बलरहरूसामु खुलेर खेल्ने वातावरण सिर्जना गर्न बंगलादेशका बलरहरूले पनि आफ्नोस्तरोन्नति गर्नुपर्ने देखिन्छ ।

शनिबार भारतसँग ११ रनको साँघुरो हारपछि अफगानिस्तान सोमबार बंगलादेशविरुद्ध मैदानमा उत्रँदा आत्मविश्वास र प्रेरणाले भरिएको हुनेछ । साउथह्याम्पटनको कन्डिसनसँग परिचित अफगानी कप्तान गुल्बादिन नैबले बंगलादेशविरुद्ध आफ्ना स्पिनरहरूबाट पुनः एकपल्ट जादुयी प्रदर्शनको अपेक्षा गर्नेछन् ।

तर उसका ब्याट्सम्यानहरूले लामो समय क्रिजमा रहने धैर्यता भने अवश्य देखाउनुपर्नेछ । साउथह्याम्पटनको मौसम सोमबार पनि सुक्खा र केही गर्मी हुने अनुमान गरिएको छ । यस्तोमा स्पिनर प्रभावशाली हुनेछन् जस्तो भारत र अफगानिस्तानबीचको खेलमा भएको थियो ।

प्लेयर्स टु वाच

मोहम्मद नाबी (अफगानिस्तान)
भारतसँग जितनजिक पुगेर पनि पराजित भएको अफगानिस्तानका लागि अनुभवी खेलाडी तथा पूर्वकप्तान मोहम्मद नाबीले अलराउन्ड प्रदर्शन गरेका थिए । अन्तिम ओभरमा उनी आउट भएपछि अफगानिस्तानको हार निश्चित बनेको थियो । स्पिन बलिङ र मध्यक्रमको ब्याटिङमा उच्च लयमा देखिएका नाबीकै निर्णायक प्रदर्शनबाट अफगानिस्तानले विश्वकपमा पहिलो जितको अपेक्षा गर्न सक्छ ।


मुसफिकर रहिम (बंगलादेश)
विकेटकिपर ब्याट्सम्यान रहिमले अस्ट्रेलियाविरुद्धको पछिल्लो खेलमा अविजित शतक प्रहार गरेका थिए । बंगलादेशी ब्याटिङक्रममा सकिव अल हसनलाई राम्रो सहयोग गरिरहेका रहिमले स्टम्प पछाडि रहेर पनि आफ्नो भूमिका निभाइरहेका छन् । मध्यक्रममा अफगानी स्पिनरसामु डटेर खेल्न सक्ने रहिमको प्रदर्शन पुनः एकपल्ट निर्णायक हुन सक्छ ।

प्रकाशित : असार ९, २०७६ ०८:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

न्युजिल्यान्ड सेमिफाइनलतर्फ 

एएफपी

म्यानचेस्टर — केन विलियम्सले विश्वकपमा कायम राखेको उत्कृष्ट लयले कार्लोस ब्राथवाइटकको सनसनीपूर्ण शतकलाई छोपेपछि न्युजिल्यान्डले शनिबार वेस्ट इन्डिजमाथि ५ रनको रोमाञ्चक जित निकाल्यो ।

जितका लाग २ सय ९३ रन पछ्याइरहेको वेस्ट इन्डिज एक समय ७ विकेट गुमाएर १ सय ६४ रनको स्थितिमा थियो र हार निश्चित देखिएको थियो । यसअघि ७ रनमा २ विकेट गुमाइसकेको न्युजिल्यान्डका लागि कप्तान विलियमसनले आफ्नोखेल जीवनकै सर्वाधिक १ सय ४८ रन बनाए ।

त्यस प्रदर्शनपछि न्युजिल्यान्ड ८ विकेट गुमाएर २ सय ९१ रनको स्थितिमा पुगेको थियो । ब्राथवेटको शतकले वेस्ट इन्डिज अद्वितीय जितको नजिक पनि पुगेको थियो, तर जितबाट अझै टाढा रह्यो । वेस्ट इन्डिजलाई अन्तिम ७ बलमा ६ रन चाहिएको थियो । त्यस स्थितिमा ब्राथवेटले जिम्मी नसमको बललाई लामो प्रहार गरेका थिए र त्यो विजयी रनमा परिणत हुने देखिएको थियो । तर ट्रेन्ट बोल्टले त्यसमा लङ–अन बाउन्ड्रीतिर निकै आकर्षक क्याच लिए ।

त्यसमा ब्राथवेटले आफ्नो निराशा लुकाउन सकेनन् र घुँडाले मैदानमा टिकेर दुःख मनाए । उनले ८२ बलमा १ सय १ रन जोडे । त्यसमा ५ छक्का र ९ चौका सामेल थियो । उनले अन्तिम विकेटका लागि ४१ रनको साझेदारी गरे र त्यसमा लगभग सबै उनकै रन थियो । जितपछि न्युजिल्यान्ड फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । यो जितपछि न्युजिल्यान्डको सेमिफाइनल यात्रा तय जस्तै भएको छ ।

अर्कोतर्फ वेस्ट इन्डिज भने हारपछि प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । ‘वेस्ट इन्डिज निकै डर मान्नुपर्ने प्रतिद्वन्द्वी टिम हो । उसको ब्याटिङ क्रम तलसम्म पनि मजबुत छ । यसका लागि उनीहरूको प्रशंसा गर्नै पर्छ, तर आजको जितका लागि हामीले पनि श्रेय पाउनुपर्छ,’ विलियमसनले भने, ‘आजका खेल क्रिकेटका लागि निकै उच्च दर्जाको रह्यो । यस्तो खेलमा विजयी टिमको पक्षमा रहनु मज्जाको हुने गर्छ । खेलाडीले सिक्ने भनेकै यस्तै खेलबाट हो ।’ वेस्ट इन्डिज कप्तान जेसन होल्डरले भने हारमा आफ्नो टिमको प्रदर्शनलाई लिएर गर्व लागेको बताए ।

उनले भने, ‘जितको यति नजिक पुगेर पनि पराजित हुनुमा खुबै पीडा हुन्छ । तर पूरा खेललाई नियालेर हेर्ने हो भने सायद हामी प्रतिस्पर्धाका केही खास क्षेत्रमा कमजोर रह्यौं । यसै कारणले हामी पराजित रह्यौं ।’ वेस्ट इन्डिजका भेट्रान ब्याट्सम्यान क्रिस गेलले तीनपल्ट जीवनदान पाए र त्यसको फाइदा उठाउँदै ८४ बलमा ८७ रन बनाए । उनको विकेटसँगै वेस्ट इन्डिजको पतन सुरुभएको थियो र टिमले २८ बलमा २२ रन मात्र बनाएर ५ विकेट गुमाएको थियो ।

यसअघि सेल्डन कोट्रेलले न्युजिल्यान्डका दुवै प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुपटिल र कोलिन मुन्रोलाई शून्यमै आउट पारेपछि टिम ७ रन बनाउँदासम्म २ विकेट गुमाएको स्थितिमा थियो । विलियमसनले यस विश्वकपमा लगातार दोस्रो शतक बनाए । उनले दक्षिण अफ्रिकाविरुद्धको अघिल्लो खेलमा पनि १ सय ६ रन बनाएर अविजित रहेका थिए । त्यस प्रदर्शनको मद्दतले न्युजिल्यान्डले सम्मानजनक स्कोर खडा गर्न सफल रहेको थियो ।

प्रकाशित : असार ९, २०७६ ०८:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT