अस्ट्रेलिया शीर्षमा
नटिङघम — अस्ट्रेलिया बिहीबार बंगलादेशलाई ४८ रनले पराजित गरी विश्वकप क्रिकेटको अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । अस्ट्रेलिया ६ मध्ये ५ खेल जितेर शीर्षस्थानमा रहेको छ ।
अस्ट्रेलियाका ओपनर डेविड वार्नरको क्याच सुरुमै छाडेको बंगलादेशले ठूलो मूल्य चुकाउन पुग्यो । वार्नरको १ सय ६६ रनमा अस्ट्रेलियाले ५ विकेट गुमाई ३ सय ८१ रन बनायो । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो ।
वार्नर १० रनमा हुँदा बंगलादेशका कप्तान मासरफी मोर्टजाको बलमा सबिर रहमानले ब्याकवार्ड प्वाइन्टमा क्याच छाडेका थिए । दक्षिण अफ्रिकामा बल टेम्परिङ काण्डमा परेर एक वर्षे निलम्बन काटेर आएका ३२ वर्षे यस विश्वकपमा ४ सय ४७ रन बनाइसकेका छन् ।
अस्ट्रेलियाले टस जित्दै ब्याटिङ गर्ने निर्णयमा वार्नरले कप्तान आरोन फिन्चसँग पहिलो विकेटमा १ सय २१ र उस्मान ख्वाजासँग दोस्रो विकेटमा १ सय ९२ रन जोडे । फिन्च ५३ र ख्वाजा ८९ रनमा आउट भए । वार्नरले १ सय ४७ बलको इनिङ्समा १४ चौका र ५ छक्का प्रहार गरे । ग्लेन म्याक्सवेलले १० बल खेल्दै २ चौका र ३ छक्का मदतमा ३२ रन जोडेका थिए ।
बंगलादेशबाट सौम्य सरकारले ३ विकेट लिए । जबकि उनले आफ्नो खेलजीवनमै एकदिवसीयमा एक विकेटमात्र लिएका छन् ।
बंगलादेशले एकदिवसीयमा आफ्नो उच्च स्कोर बनाए पनि अस्ट्रेलियाको विशाल स्कोरसामु पुग्न सकेन । बंगलादेशले ८ विकेट गुमाई ३ सय ३३ रन बनायो । यसै प्रतियोगितामा दक्षिण अफ्रिकासँगको खेल २१ रनले जित्दा बंगलादेशले ६ विकेट गुमाई ३ सय ३० रन बनाएको थियो ।
बंगलादेशका पूर्व कप्तान मुस्फिकर रहिम १ सय २ रन बनाई अविजित रहे । उनले ९७ बल खेली ९ चौका र १ छक्का प्रहार गरे । महमुदुल्लाहले ५ चौका र ३ छक्कासहित ६९ र तमिम इकवालले ६ चौकासहित ६२ रन बनाए । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा वार्नरलाई पछ्याइरहेका सकिब अल हसनले ४१ रन जोडे । अस्ट्रेलियाका मिचेल स्टार्क, नाथन कटलर निल र मार्कस स्टोइनिसले २–२ विकेट लिए ।
स्कोर कार्ड
अस्ट्रेलिया
४८ रनले विजयी
अस्ट्रेलिया
५० ओभर ३८१/५
डेविड वार्नर–१६६
उस्मान ख्वाजा–८९
आरोन फिन्च–५३
सौम्य सरकार ३/५८
मुस्ताफिजुर रहमन १/६९
बंगलादेश
५० ओभर ३३३/८
मुस्फिकर रहिम–१०२८
तमिम इकवाल–६२
महमुदुल्लाह–६९
मार्कस स्टोइनिस–२/५४
मिचेल स्टार्क–२/५५
प्रकाशित : असार ६, २०७६ ०८:२२