कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सकिबको उत्कृष्ट इनिङ्स

एएफपी

टाउन्टन — बंगलादेशका अलराउन्डर सकिब अल हसनले वेस्ट इन्डिजविरुद्ध अविजित १ सय २४ रनको विजयी इनिङ्सलाई आफ्नो करिअरकै उत्कृष्ट क्षणको रूपमा परिभाषित गरेका छन् । सकिबको जादुयी प्रदर्शनका कारण बंगलादेशले विश्वकप इतिहासमै दोस्रो ठूलो रन पछ्याएर जित हासिल गरेको थियो । 

सकिबको उत्कृष्ट इनिङ्स

सकिबले ९९ बलमा १ सय २४ रनको अविजित इनिङ्स खेल्ने क्रममा लिट्टोन दाससँग सानदार साझेदारी गरे । पहिलो विश्वकप खेलिरहेका दासले पनि ६९ बलमा ९४ रन प्रहार गरे । यी दुईले चौथो विकेटमा गरेको १ सय ८९ रनको नटआउट साझेदारी पनि विश्वकपमा दोस्रो ठूलो हो । सकिबका लागि यो अविस्मरणीय दिन थियो, किनभने उनको उत्कृष्ट प्रदर्शनकै कारण टिमले सानदार जित पाएको थियो ।


‘निश्चित रूपमा यो मेरो करिअरकै उत्कृष्ट प्रदर्शन हो, किनभने जुन तरिकाले हामीले जवाफी ब्याटिङ गरी जित हासिल गर्‍यौं । जसरी मैले इनिङ्स अघि बढाएँ, त्यहाँ हतार थिएन । राम्रो बलमा शट खेल्नुपर्ने आवश्यकता नै परेन,’ सकिबले भने, ‘मलाई धैर्य राख्नु थियो । आफ्ना लागि खराब बल छाड्न मलाई पर्याप्त समय थियो । मैले यस्ता धेरै उत्कृष्ट प्रदर्शन गरेको छु । तर ठूलो स्कोरको जवाफी ब्याटिङमा यो मेरो करिअरकै उत्कृष्ट इनिङ्स रह्यो ।’


सन् २०११ को विश्वकपमा आयरल्यान्डले इंग्ल्यान्डले दिएको ३ सय २९ रनको लक्ष्य पूरा गरेको थियो । विश्वकपमा त्यो नै सबैभन्दा ठूलो रन चेज हो । वेस्ट इन्डिजले खडा गरेको ३२१–८ को योगफल पछ्याउने क्रममा आफूले कुनै पनि समयमा दबाब महसुस नगरेको सकिबले बताएका छन् । अन्तिममा उनले दाससँग मिलेर ८.३ ओभरअगावै लक्ष्य पूरा गरे ।


‘पहिलो इनिङ्सको समाप्तिपछि ड्रेसिङ रूममा कसैले पनि सोचेनन्, यो लक्ष्य कठिन थियो । सबै सहज थिए र रमाइलो गरिरहेका थिए,’ सकिबले सुनाए, ‘ड्रेसिङ रूमबाटै हामीले पर्याप्त आत्मविश्वास लिएका थियौं कि लक्ष्य पूरा गर्न सक्छौं । हाम्रा ओपनरहरूले जसरी ब्याटिङ सुरु गरे ड्रेसिङ रूममा कुरिरहेका ब्याट्सम्यानहरूमा सहजता र उर्जा थपियो ।’


इंग्ल्यान्डविरुद्ध पनि १ सय २१ रन बनाएका सकिबले जारी विश्वकपमा दोस्रो शतक बनाएका हुन् । वेस्ट इन्डिजविरुद्ध खेलेपछि उनी एकदिवसीय क्रिकेटमा ६ हजारभन्दा धेरै रन बनाउने दोस्रो बंगलादेशी क्रिकेटर बनेका छन् । उनकै नायकी प्रदर्शनले बंगलादेश विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना जीवितै बनेको छ । सकिबले पनि त्यो स्वर्णिम पलको आशा गरेका छन् ।

प्रकाशित : असार ४, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?