कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण अफ्रिकाको सामना गर्दै इंग्ल्यान्ड

एएफपी

लन्डन — इंग्ल्यान्डले चार वर्षदेखि बुनेको आफ्नो योजनाको त्यति बेला वास्तविक परीक्षण गर्नेछ जति बेला सन् २०१९ को विश्वकपको ओभलमा हुने उद्घाटन खेलमा टिमले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

दक्षिण अफ्रिकाको सामना गर्दै इंग्ल्यान्ड

सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको विश्वकपमा इंग्ल्यान्ड लज्जास्पद ढंगले पहिलो चरणबाटै बाहिरिएको थियो । त्यसयता इंग्लिस क्रिकेटले सेतो बलमा खेलिने खेललाई फरक नजरले हेर्नेक्रम सुरु गरेको हो ।

त्यसको नतिजा भने गज्जब छ । कप्तान इयान मोर्गनको टिम अहिले एकदिवसीय वरीयताको शीर्षस्थानमा छ । यसक्रम इंग्ल्यान्डले दुई अवसरमा सबैभन्दा उच्च स्कोरको कीर्तिमान बनाइसकेको छ । त्यसमध्ये अस्ट्रेलियाविरुद्ध उसले बनाएको छ विकेटमा ४ सय ८१ रननै पछिल्लो समयको उच्च कीर्तिमान स्कोर हो । इंग्लिस ब्याटिङ निकै मजुबत छ । त्यसमा समावेश छन्, जेसन रोय, जोनी बरिस्टो, जोए रुट, जोस बटलर र कप्तान मोर्गन आफैं ।

यी खेलाडीले कति सक्षम छन् भने उनीहरूमध्ये कोही एकले एक सानो मोडबाट खेललाई नै आफ्नो पक्षमा परिवर्तन गर्न सक्छन् । ‘टिममा एक–से–एक विश्वस्तरीय खेलाडी रहेको हुनाले सबै उत्साही छन्,’ इंग्लिस लेग स्पिनर अदिल रशिदको भनाइ छ, ‘विपक्षी टिमले ३ सय ७० रनभन्दा माथिको लक्ष्य खडा गरेपछि त्यसलाई पछ्याउन सक्ने ब्याट्सम्यान टिममा रहेको विश्वासले हामी ढुक्क हुनसक्छौं ।’ रशिदका अनुसार सबै खेलाडी अहिले आत्मविश्वासी छन् ।

उनले थपेका छन्, ‘हामीले गर्न सक्छौं भन्ने आत्मविश्वासले हामीलाई फरक बनाएको छ । पछिल्ला चार वर्षमा हामी जे गर्न जान्यौं र सक्यौं, यसपल्टको विश्वकपमा त्यही दोहोरिने छ ।’ रशिद आफैं पनि निर्णायक मोडमा विकेट लिन माहिर छन् । दक्षिण अफ्रिकाका लागि भने विश्वकप पीडाको कथाले भरिएको प्रतियोगिता हो । चार वर्षअगाडि यही टिमले सेमिफाइनल यात्रा तय गरेको हुनेले धेरैको विश्वास बढेको छ, यो टिमले अब केही गर्नसक्छ भनेर ।

दक्षिण अफ्रिकी प्रशिक्षक ओटिस गिब्सन के मान्छन् भने आयोजक र शीर्ष वरीयताको टिम हुनाले सबैखाले दबाब इंग्ल्यान्डमै हुनेछ । उनले भनेका छन्, ‘इंग्ल्यान्डले अहिले जसरी भनिरहेको छ, त्यसअनुसार त टिमले विश्वकप नै जितिसकेको छ । स्टुवार्ट ब्रोड र जेम्स एन्डरसन जस्ता पुराना बलरले त इंग्ल्यान्डले केही खराब गरेन भने उपाधि सजिलै जित्ने भनेका छन् । तर मेरो विचारमा सबै यस्तो हुन्न । दबाब उल्ट इंग्ल्यान्डमै हुनेछ ।’

वेस्ट इन्डिजका पूर्व बलर रहेको गिब्सन मान्छन्, ‘विश्वकप जित्न नम्बर एक वरीयताकै टिम हुनुपर्छ भन्ने छैन । सबै टिमसामु उपाधि जित्ने समान अवसर छ ।’ फाफ डु प्लेसिसको नेतृत्वमा रहेको टिममा यसपल्ट एबी डी भिलियर्स जस्ता स्टार खेलाडी छैनन् । तर टिमसँग क्विन्टन डी ककजस्ता प्रतिभाशाली खेलाडी छ । चोटका कारण डेल स्टेयन पनि टिममा छैनन् । तर पछिल्लो समय दक्षिण अफ्रिकालाई उनीबिना खेल्ने बानी भइसकेको छ ।

प्रकाशित : जेष्ठ १६, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?