कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रोजगारीका लागि विदेश जानेमा साना उद्योगी र व्यवसायी पनि थपिए : सीएनआई अध्यक्ष अग्रवाल

काठमाडौँ — नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश अग्रवालले अहिले वैदेशिक रोजगार जानेको तथ्यांकमा मुलुकका साना उद्योग-व्यवसायीहरूसमेत थपिएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेका ‘कान्तिपुर इकोनोमिक समिट २०२४’ पहिलो सत्र ‘बजेटमा निजी क्षेत्रका मुद्दा, नीति निर्माताका योजना’ मा परिसंघका अध्यक्ष अग्रवालले उद्योगी-व्यवसायीहरू व्यापार-व्यवसाय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने द्विविधामा रहेको बताएका हुन् । 

रोजगारीका लागि विदेश जानेमा साना उद्योगी र व्यवसायी पनि थपिए : सीएनआई अध्यक्ष अग्रवाल

‘पहिलेदेखि युवाहरू उच्च शिक्षाका लागि विदेश जान्थे, रोजगारीका लागि जान्थे,’ उनले भने, ‘वर्तमान अवस्थामा विदेश जानेको संख्या र रेमिट्यान्स बढ्नुमा वैदेशिक रोजगारीमा स-साना उद्योग व्यवसायीहरु समेत थपिएका छन् ।’ सरकारले लिएको संकुचित नीति नियमका कारण साना व्यवसायीहरू वैदेशिक रोजगारमा जान बाध्य भएको उनको भनाइ छ ।

मागको कमी, बैंकको ऋण तिर्न नसक्ने र थप रोजगारीको अवस्था समेत मुलुकमा नदेखिएपछि साना उद्योग-व्यवसायीहरूले विदेश जानुबाहेक अन्य उपाय नभेटेको उनले प्रस्ट पारे । विगत तीन वर्षदेखि लिएको संकुचित नीतिको परिणाम रहेको समेत उनको तर्क छ । मुलुकको जुनसुकै क्षेत्र विगत दुई वर्षदेखि ३० देखि ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको उनले जानकारी दिए ।

साना उद्योग व्यवसायीहरू बिदेसिन बाध्य भइरहँदा बाह्य क्षेत्र सबल र रेमिट्यान्स बढ्यो भनेर ‘जस’ लिने अवस्थामा पुगेको उनले बताए । मुलुकमा औद्योगिक विकास रणनीति आवश्यक रहको परिसंघका अध्यक्ष अग्रवालले बताए । ‘सरकारले कुन वस्तुको उत्पादन बढाउने र प्रतिस्पर्धा गर्ने, नीतिगत प्रोत्साहनलगायतका लागि वस्तु पहिचान गर्न औद्योगिक विकास रणनीति आवश्यक छ,’ उनले भने, ‘वर्तमान समयमा जुन नीति ठीक लाग्छ, व्यवसायीहरूले त्यससम्बन्धी नै उद्योग चलाउँछ, अर्को वर्ष नीति परिवर्तन हुन्छ । उद्योगलाई समस्या हुन्छ ।’

साथै आयात प्रतिस्थापन गर्न र मुलुकलाई आयातमुखिबाट उत्पादनमुखिमा लैजान स्थिर नीति आवश्यक रहेको उनले बताए ।

प्रकाशित : वैशाख ३०, २०८१ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×