कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बेलायत नेपालमा लगानी बढाउन तयार

काठमाडौँ — लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बेलायती दूतावासले आफ्नो देश नेपालमा लगानी बढाउन तयार भएको बताएको छ । ‘हामी नेपालमा लगानी गर्ने अवसर खोजिरहेका छौं र बढाउन तया पनि छौं,’ नेपालका लागि बेलायती राजदूत रब फेनले भने, ‘तर, त्यसका लागि सरकारले लगानीमैत्री बातावरण बनाउन पर्छ ।’

बेलायत नेपालमा लगानी बढाउन तयार

बेलायतमा पढेर आएका नेपालीहरुको संगठन ‘अबान’को छब्बीसौं वर्षगाँठ मनाउन बिहीबार दूतावासमा आयोजना गरिएको कार्यक्रममा बोल्दै राजदूत फेनले भने, ‘बेलायत नेपालको मानवीय विकासका लागि सँधै नै प्रयत्नशील मित्र हो, । तर, लगानीका लागि चाहिँ अनुकूल नीति र संयन्त्रको विकास गर्नु पर्ने देखेको छु ।’

नेपालमा बेलायतले गरेका केही लगानीमा सरकारले नियमभन्दा बाहिर गएर कर लगाएको र त्यसमा आफ्नो देशको फरक मत रहेको राजदूत फेनले बताए । ‘तपाईंहरु बेलायतको अनुदानमात्रै चाहनु हुन्छ कि लगानी पनि भनेर मैले सरकारका अधिकारीहरुलाई भेटमा भन्ने गरेको छु,’ भूतलक्षीत कानुन बनाएर अवाञ्छित कर लगाए त्यसले लगानीकर्ताहरुलाई नेपालमा जाऊ भन्न नसकिने बताउँदै राजदूत फेनले भने, ‘जे रोजे पनि नेपालको स्वतन्त्रता हो र त्यसका हामी सम्मान गर्छौं ।’

बेलातमा पढेर आएकाहरुको संगठन आबानले दुई देशबीचको सम्बन्धलाई व्यावसायिक र सामाजिक विकासका लागि साझेदारीमा लगाउन विविध कार्यक्रहरु गर्दै आएको छ ।

‘यसका लागि दूतावासको सँधै साथ र सहयोग मिलेको छ,’ अबानकी अध्यक्ष पद्मा वैद्यले भनिन्, ‘आगामी दिनमा हामी यो साझेदारीलाई थप फराकिलो दायरमा लैजाने योजनामा छौं ।’

ठूलो संख्यामा बेलायतीहरु नेपालका लागि सहयोग गर्न र नेपाल घुम्न आउन इच्छुक भएको र उनीहरुको नेपाल प्रतिको माया सदा रहेको पाएको भन्दै दूतावासले त्यो सद्भाव नयाँ पुस्ताका बेलायतीमा पनि सार्न थप पहलको जरुरत भएको बताएको छ । दुई देशका तन्नेरीलाई जोड्न र बेलायतको नयाँ पुस्तामा नेपालबारे चासो जगाउन त्यहाँ पढेर आएका विद्यार्थीहरुको संस्थाले ठूलो भूमिका निर्वाह गर्न सक्ने भन्दै राजदूत फेनले थप सहकार्यका लागि आफू इच्छुक रहेको बताए ।


प्रकाशित : वैशाख ६, २०८१ २२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×