१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

मन्थली विमानस्थलमा विदेशी पर्यटक भरिभराउ

दोलखा — वसन्तकालीन हिमाल आरोहण र पदमार्गमा जाने पर्यटकका कारण मन्थली विमानस्थल भरिभराउ हुन थालेको छ । मन्थलीबाट लुक्ला उडान सुरु भएसँगै हिमाल आरोहण र पदयात्राका लागि सगरमाथा क्षेत्र जाने पर्यटकले विमानस्थल भरिभराउ बनेको हो ।

मन्थली विमानस्थलमा विदेशी पर्यटक भरिभराउ

पर्यटकको चहलपहल बढेसँगै मन्थीका होटल व्यवसायी पनि उत्साहित बनेका छन् । वसन्त ऋतुको मध्य चैत्रदेखि जेष्ठ अन्तिमसम्म मन्थलीबाट लुक्ला उडान हुने गरेको छ । मन्थलीबाट निजी क्षेत्रका ३ वटा विमान कम्पनीले लुक्ला उडान भर्दै आएका छन् ।

तारा, समिट र सीता एयरले दैनिक ३५ देखि ४० वटासम्म उडान भर्दै आइरहेको मन्थली विमानस्थलकी प्रमुख पुजा थापाले बताइन् । ‘मौषम सफा भएको अवस्थामा दैनिक ४० वटासम्म लुक्ला उडान भइरहेको छ,’ उनले भनिन्, ‘विदेशी पर्यटकको चाप बढेपछि लुक्ला उडान थप बढनेछ, अर्को साताबाट लुक्लाबाट फर्कने पर्यटकको पनि चाप हुनेछ ।’

मन्थलीबाट बर्षको दुई पटक पर्यटकका लागि लुक्ला उडान हुने उनले बताइन् । ‘चैत्रबाट जेठ अन्तिमसम्म सगरमाथा जाने विदेशी पर्यटकले यो विमानस्थलबाट उडान भर्ने गरेका छन्,’ उनले भनिन्, ‘अर्को असोजबाट कार्तिक अन्तिमसम्म पनि मन्थलीबाट लुक्ला दैनिक उडान हुने छ ।’

मन्थलीबाट दैनिक ४ सय भन्दाबढी विदेशी पर्यटक लुक्लाका लागि उड्ने गरेको उनले बताइन् । मन्थली विमानस्थलमा हातले चेकजाँच गर्दा समय लाग्ने र पर्यटकले झन्झट मान्ने भएकाले पहिलो पटक एक्स–रे मेसिन पनि जाडन गरिएको छ ।

‘लुक्ला जाने आउने विदेशी पर्यटकले सुरक्षाकर्मीले चेकजाँच गर्दा झन्झट मान्ने भएकाले एक्स–रे मेसिन पनि प्रयोगमा ल्याएका छौं,’ उनले भनिन्, पर्यटकको लगेजदेखि शिरीरसम्म हातले चेकजाँच गर्दा समय लाग्ने र झन्झट पनि हुने भएकाले मेसिन प्रयोगमा ल्याइएको छ ।'

मन्थलीबाट आलोपालो तीन विमान कम्पनीले उडान भरिरहेको तारा एयरका रामेछाप ईन्चार्ज प्रविण सुवदीले बताए । ‘चैत्र तेस्रो साताबाट मौषम खुलेपछि उडान भर्न थालेका हौं,’ उनले भने, ‘लुक्ला जाने पर्यटकको बुकिङ बढ्दै गएकाले उडान थप गर्नुपर्ने भएको छ, मौषममा पनि भर पर्नुपर्ने हुन्छ ।’ इन्धनसहित पुर्वाधार भएकाले काठमाडौंका जाम कम गर्न यो विमानस्थल प्रयोमा ल्याइएको हो ।

काठमाडौंबाट हिमाल आरोहण र पदयात्रामा जाने विदेशी पर्यटक सडकमार्ग हुँदै मन्थली पुग्ने गरेका छन् । त्यहाँबाट पर्यटक हवाईमार्गबाट सिधै लुक्ला जाने गरेका छन् । मन्थलीबाट लुक्ला उडान भएसँगै मन्थलीमा चहलपहल बढेको छ । मन्थलीका होटलहरु विदेशी पर्यटकका कारण चलायमान हुन थालेका छन् ।

लुक्ला जानका लागि आउने पर्यटकका कारण मन्थलीका होटल व्यवसायी उत्साहित बनेका हुन् । मन्थलीबाट लुक्ला उडान सुरु भएसँगै होटलमा चहलपहल बढेको व्यवसायी गणेश थपलियाले बताए । ‘विदेशी पर्यटक सगरमाथा जान मन्थलीको एयरपोर्ट प्रयोग गर्न थालेकाले होटलको व्यवसाय राम्रो भएको छ,’ उनले भने, ‘लुक्लाबाट फर्कने पर्यटक पनि बढने भएकाले चहलपहल अझै बढछ ।’

मौषम खराब भएको दिन पर्यटकको चाप थेगिनसक्नु हुने उनले बताए । ‘हिजो र आज मौषम खराबका कारण मन्थलीबाट उडान प्रभावित हुँदा पर्यटकको चाप निकै बढेको छ,’ उनले भने, ‘उडान नियमित हुँदा बास बस्न आईपुग्ने पर्यटकले होटल भरिने गरेको छ ।’

लुक्ला पुगेका पर्यटक फर्कने पनि यही विमानस्थल प्रयोग गर्ने गरेकाले व्यवसायी उत्साहित छन् । एकसाता पछि आउने र जानेको संख्या बराबर हुने भएकाले मन्थलीमा चहलपहल बढने उनले बताए ।

काठमाडौंबाट विपी राजमार्ग प्रयोग गर्दै आउने पर्यटकका कारण सिन्धुलीको मुलकोटका होटलमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ । बाक्लो तुवाँलोका कारण आइतबार र सोमबार लुक्ला उडान प्रभावित बनेको विमानस्थलले जनाएको छ ।

प्रकाशित : चैत्र २६, २०८० १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?