कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

युनिटेक हाइड्रोले उत्पादन थाल्यो ताप्लेजुङमा ५.८ मेगावाट बिजुली

एक महिना पछिदेखि व्यापारिक उत्पादन सुरु हुने
आनन्द गौतम

ताप्लेजुङ — युनिटेक हाइड्रोपावर कम्पनीले ५.८ मेगावाट विद्युत उत्पादन गर्न थालेको छ । सिरिजंगा र पाथीभरा याङवरक गाउँपालिकाको सिमाना भएर बहने फावाखोलाबाट विद्युत उत्पादन थालेको हो । 

युनिटेक हाइड्रोले उत्पादन थाल्यो ताप्लेजुङमा ५.८ मेगावाट बिजुली

आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले पावर हाउसमा परीक्षण सफल भएको र अबको एक महिना पछिदेखि व्यापारिक उत्पादन सुरु हुने जानकारी दिए । यहाँ उत्पादित विद्युत १३२ केभीए अमरपुर सबस्टेसनमा लगेर जोडिन्छ । तिरिङगेमा इन्टेक बनाएर ४ हजार मिटरको हेड्रेस पाइप र ४ सय मिटरको पेनस्टक मार्फत डुम्रीसेमा पुर्‍याएर विद्युत उत्पादन गरिएको छ । यहाँ पावर हाउस रहेको छ ।

पावर हाउसदेखि सबस्टेसनसम्मको प्रसारण लाइन जडानको काम पनि भइसकेको कम्पनीका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिए ।

२०७६ सालको हिउँददेखि सुरु भएको आयोजना १ अर्ब ३० करोड रुपैयाँको लागतमा सम्पन्न भएको श्रेष्ठले जानकारी दिए । यसले नेपालको विद्युत उत्पादनमा सहयोग पुर्‍याएको छ । फावाखोलाबाट यसअघि सिवानी हाइड्रो पावरले ५ मेगावाटको आयोजना सम्पन्न गरेको छ भने अढाई मेगावाटको मध्य फावाखोला पनि बनाइएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बहने कावेली नदी तथा फावाखोलाबाट उत्पादित बिजुली अमरपुर सवस्टेसमा जोडिन्छ । यो समेतगरी यहाँ कुल ५४ मेगावाट विद्युत उत्पादन भएको छ ।

प्रकाशित : माघ २९, २०८० १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×