२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

नागढुंगा सुरुङ एक महिनाभित्रै ‘ब्रेक थ्रु’, ३२ मिटर मात्र खन्न बाँकी

आयोजनामा दुई सिफ्टमा काम जारी, काठमाडौंको बलम्बुमा फ्लाई ओभर निर्माणस्थलमा पर्ने घर भत्काइयो, चर्किएका घरको स्थानान्तरण 
विमल खतिवडा

काठमाडौँ — एक महिनाभित्र नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिने भएको छ । त्यहीअनुसार अहिले काम भइरहेको छ । अहिलेसम्म मुख्य सुरुङ २.६८८ किमिमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताए । ‘फागुन २३ मा ब्रेक थ्रु गर्ने गरी निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘बीचमा केही समस्या आएका थिए, तिनलाई समाधान गरेर काम अघि बढाइएको छ ।’ 

नागढुंगा सुरुङ एक महिनाभित्रै ‘ब्रेक थ्रु’, ३२ मिटर मात्र खन्न बाँकी

धादिङ र काठमाडौंतर्फ केही मुआब्जाका समस्या भए पनि त्यसलाई टुंग्याउने प्रक्रिया चलिरहेको उनको भनाइ छ । अहिलेसम्म २६३६ मिटर सुरुङ खन्ने काम सकिइसकेको छ । निर्माण सुरु भएको ५१ महिना बित्न लाग्दा समग्र आयोजनाको भौतिक प्रगति ६९.१५ प्रतिशत छ । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् । एउटा फ्लाई ओभर निर्माणको क्रममा रहेको आयोजनाले जनाएको छ । ‘ब्रेक थ्रु भनेको सुरुङ खन्ने काम मात्र सकिने हो,’ उनले भने, ‘फिनिसिङ गरेर सवारी सञ्चालनमा आउन थप एक वर्ष लाग्छ ।’

सुरु सम्झौताअनुसार यसको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि तीन महिना म्याद थप गर्दै ०८० साउन ४ सम्म पुर्‍याइएको थियो । यस अवधिमा पनि काममा प्रगति नदेखिएपछि दोस्रो पटक ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । ‘यो समयभित्र प्रारम्भिक काम सकिए पनि सवारी सञ्चालनमा आउने गरी काम सकिनेछैन,’ प्रमुख श्रेष्ठले भने, ‘सुरुङबाट गाडी सञ्चालन गर्न ०८१ पुस/माघ नै पुग्नेछ ।’ यो सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन् । यो सुरुङबाट सवारी सञ्चालन गर्दा शुल्क लाग्नेछ । ‘त्यसका लागि कति शुल्क निर्धारण गर्ने भन्नेबारे तयारी भइरहेको छ,’ प्रमुख श्रेष्ठले भने, ‘सुरुङबाट सवारी चलाउने बेलासम्म शुल्क निर्धारण भइसक्छ ।’

अहिले दुई सिफ्टमा काम भइरहेको छ । काठमाडौंको बलम्बुमा फ्लाई ओभर निर्माणस्थलमा पर्ने घर भत्काइएको छ । चर्किएका घरको स्थानान्तरण गरिएको उनको भनाइ छ । ‘धादिङतर्फ सुरुङको मुखमा पहिरो नजाओस् भनेर पर्खाल निर्माणको काम भइरहेको छ, जहाँ नाली निर्माणको काम पनि भएको छ,’ उनले भने, ‘जग्गा अधिग्रहणमा केहीकेही समस्या छ, त्यो समाधान गर्ने काम भइरहेको छ ।’ त्यस्तै पानीको मुहान सुकेका र सुरुङले भोलिका दिनमा असर गर्छ/गर्दैन भन्ने सम्बन्धमा भौगर्भिक अध्ययनको काम पनि भइरहेको श्रेष्ठको भनाइ छ ।

आयोजना सुरु भएयता १४ अर्ब ६ करोड २ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । धादिङ र काठमाडौं दुवैतिर धमाधम काम भइरहेको बताइएको छ । समग्र सुरुङ खन्ने काम १ प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । २५५७ मिटर दूरी रहेको

आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै अहिले फिनिसिङको काम भइरहेको छ । नेपालको पहिलो यातायात सुरुङ भएकाले निर्माणका क्रममा कुनै समस्या नआए अबको एक वर्षभित्र यातायात सञ्चालन गर्न कुनै समस्या नहुने आयोजनाले बताएको छ ।

काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा सुरुङ निर्माणको काम भइरहेको छ । यो सुरुङ सञ्चालनमा आएपछि नागढुंगा उकालोमा हुने ट्राफिक जाम कम हुनेछ । यात्रुले ट्राफिक जामको सास्ती खेप्नुपर्ने छैन । सुरुङ बनेपछि साढे ७ किलोमिटर सडक छोटिने आयोजनाको भनाइ छ ।

०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।

प्रकाशित : माघ २२, २०८० ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?