कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अलैंचीको भाउ बढ्दा व्यापारीलाई बढी लाभ

उत्कृष्ट अलैंची प्रतिमन ५४, मध्यम ५३ र सामान्य गुणस्तरका अलैंची ५२ हजारमा किनबेच
लक्ष्मी गौतम

पाँचथर — पहाडी जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैंचीको मूल्य सिजन सकिएपछि बढेको छ । कोशीका पहाडी जिल्लामा उत्पादन हुने अलैंचीको मूल्य केही दिनअघि प्रतिमन ५२ हजार पुगेको हो । यसैगरी उत्कृष्ट अलैंची प्रतिमन ५४, मध्यम ५३ र सामान्य गुणस्तरका अलैंची ५२ हजारमा किनबेच भइरहेको फिदिमका व्यवसायी दीपक नेपालले बताए । झापाको बिर्तामोडमा ५४ देखि ५६ हजार रुपैयाँसम्ममा किनबेच भएको थियो । बिर्तामोडमा चलेको
मूल्यले फिदिममा पनि अलैंची किनबेच भएको उनले जनाए ।

अलैंचीको भाउ बढ्दा व्यापारीलाई बढी लाभ

‘यो अलैंचीका लागि अफ सिजन हो, बढेको मूल्य एकाध किसानले मात्रै पाए, भण्डारण गरेर राख्ने र संकलकलाई भने राम्रै भयो,’ नेपालले भने । अलैंचीको उत्पादन भदौ दोस्रो सातादेखि सुरु हुन्छ । भदौदेखि कात्तिकसम्म बगानबाट निकालिने अलैंची प्रायः किसानले माघभित्रै बेचिसकेका हुन्छन् । ‘त्यसकारण यो बेला बढेको मूल्य हामीकहाँ आइपुग्दैन,’ याङवरक–३ ओयामका किसान वीरेन्द्र योङ्याले भने । किसानले बेचिसकेपछि मूल्य बढ्छ । प्रतिफल व्यापारीले मात्रै पाउँछन् । ‘हामीलाई त कागलाई बेल पाक्यो हर्ष न विस्मात् भनेझैं मात्रै,’ योङ्याले भने । अलैंची व्यवसायी भने यस्ता नगदे बालीको मूल्य अन्तर्राष्ट्रिय बजारबाटै निर्धारण भएर आउने गरेकाले नेपालका उत्पादकको गुनासो समेट्न नसकिएको टिप्पणी गर्छन् ।

भारत र बंगलादेशसहितका बजारमा माग बढे मूल्य बढ्ने र माग घटे मूल्य पनि घट्ने हुन्छ । पछिल्लो समय भारत सिक्किम र भुटानमा पर्याप्त मात्रामा ठूलो दाना भएका अलैंची उत्पादन हुन थालेको छ । यी सब कारणले सिजनमा नेपाली अलैंचीले भाउ नपाउने गरेको अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताए । अलैंची पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । यो वर्ष सिजनको सुरुमा अलैंची प्रतिमन (४० किलोग्राम) ३१ हजार रुपैयाँमा किनबेच भएको थियो । व्यवसायीहरूका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ ।

ग श्रेणीका अलैंची अहिले पूर्वका बजारमा ५२ हजार रुपैयाँ र क श्रेणीको प्रतिमन ५४ हजारमा किनबेच भइरहेको पाँचथरका अलैंची व्यवसायी अध्यक्ष खेम अधिकारीले जनाए । मध्यम स्तरका अलैंचीको मूल्य ५३ हजार रुपैयाँ छ । ठूलो दाना, राम्ररी सुकेको र धूवाँ नलगाई सुकाइएको अलैंचीलाई ‘क’ श्रेणीको मापदण्डमा राखिएको पनि उनले बताए । नेपालमा उत्पादित अलैंचीको बजार भारत हो । पूर्वी नेपालमा उत्पादित अलैंची झापाको बिर्तामोड हुँदै भारत छिर्छ । त्यसपछि भारतले तेस्रो मुलुक निर्यात गर्दै आएको छ । अलैंची पूर्वी पहाडी जिल्लाका नागरिकको आम्दानीको भरपर्दो स्रोत हो । अरू अन्न नफल्ने भिरालो खोल्सा र पाखा भित्तामा पनि उत्पादन हुने भएकाले यसलाई ‘खोल्साको सुन’ भनिने फिदिम–३ का किसान धनबहादुर राई बताउँछन् । ‘अलैंचीको मूल्य किसानले तोक्न पाउँदैनन्, व्यापारीले जति भन्यो, त्यतिमै बिक्री गर्नुपर्छ,’ किसान महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेल भन्छन् । अलैंची जस्तै अदुवा र अम्रिसो जस्ता नगदे बालीको न्यूनतम समर्थन मूल्य नतोकिँदा किसानलाई सधैं मर्का पर्ने उनको बुझाइ छ ।

अलैंची उत्पादन हुने खास सिजन भदौ, असोज र कात्तिक हो । मंसिर पहिलो साताभित्र सबै किसानले बगानबाट टिपेर प्रशोधनसहित भण्डारणको काम सक्छन् । ‘किसानसँग रहुन्जेल मूल्य बढ्दैन, प्रायःले बेचिसकेपछि बढ्न थाल्छ, त्यो मूल्य किसानले नभएर व्यापारीले मात्रै पाउँछन्, किसानलाई सधैं घाटा,’ पाँचथरका अगुवा किसान वीरेन्द्र योङ्याले भने । आफूले उत्पादन गरेको अलैंची पहिल्यै बिक्री भइसकेकाले यो मूल्य भण्डारण गरेर राख्ने व्यवसायीले मात्र लिन सक्ने अलैंची किसानको गुनासो छ ।

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम र संखुवासभाका किसानको प्रमुख आय स्रोत नै अलैंची हो । विश्वभर १७ हजार टन उत्पादन हुने अलैंची नेपालमा मात्र ७ हजार टन फल्ने कृषि विभागको तथ्यांक छ । नेपालबाहेक भारत, भुटान र इन्डोनेसियालगायत देशमा पनि अलैंची उत्पादन हुन्छ । यतिको परिमाणमा उत्पादित अलैंची भारतबाट भने इलमी, हिमाली र भारत ब्रान्डका नाममा बंगाल र पाकिस्तानलगायत खाडी मुलुकतर्फ जाने गरेको पाइएको छ । आर्थिक वर्ष ०७९/८० मा झापाको काँकडभिट्टा नाकाबाट मात्रै २ लाख बोरा अलैंची भारत निर्यात भएको निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांक छ । मसलाको परिकार, बेकरी सामग्री, सुगन्धित तेल, टिन्चर बनाउन र रक्सी आदि उत्पादनमा अलैंची प्रयोग हुन्छ । नेपालमा चाहिँ सिंहदरबार वैद्यखाना र आयुर्वेदिक औषधि निर्माणका क्षेत्रमा क्रियाशील जडीबुटी कम्पनीले अलैंची प्रयोग गरेर रक्तशोधक, शक्तिबर्द्धक, दम र खोकी आदिको औषधिमा अलैंची मिसाउने गर्छ ।

हाल पूर्वमा रामसाई, डम्बरसाही, गोलसाही, लसुने र साउनेलगायत आठ प्रजातिका अलैंची उत्पादन हुन्छ । समुद्री सतहबाट ७ सयदेखि २ हजार ३ मिटरसम्मको उचाइ, ७ देखि २० डिग्री सेल्सियस तापक्रम र वार्षिक १५ सयदेखि ५ हजार मिलिमिटरसम्म वर्षा हुने पहाडी जिल्लाका पूर्व र उत्तरी मोहडा भएको सेपिलो जग्गामा यो खेती फस्टाउने कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिग्राम भट्टराईले जनाए ।

प्रकाशित : श्रावण १४, २०८० ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×