ब्लग

रश्मिदेवीको अपार्टमेन्टमा यहाँलाई स्वागत छ 

७० वर्षीया रश्मिदेवीले तपाईंलाई सरप्राइज दिन सक्छिन् । उनले तपाईंलाई स्मृतिलोकमा पनि लान सक्छिन् । आफ्ना बैंसालु दिनहरूको यात्रा गराउँदै २५ वर्ष कान्छो प्रेमीसँग भेट गराउने छिन् ।
पवित्रा खड्का

काठमाडौँ — रश्मिदेवीको घरमा यहाँहरूलाई हार्दिक मंगलमय स्वागत छ । उनले प्रेमिल भएर तपाईंलाई स्वागत गर्नेछिन् र आफ्ना जीवनका रोचक कथा सुनाउनेछिन् । रश्मिदेवीको घर विचित्रको ठाउँमा छ । काल्पनिक संसार जस्तो, हो चाहिँ वास्तविक । उनको घरसम्म पुग्ने बाटोमा केही चिह्नहरु छन् । आउनुस् मलाई पछ्याउनुस् । 

हामी छौं पाशुपत क्षेत्रमा । पशुपतिनाथ मन्दिरको दक्षिणपट्टि गौशाला पुरानो बानेश्वर सडकमा तपाईँ आइपुग्नु पर्नेछ । मूलबाटोबाट भित्र छिर्ने ठ्याक्कै पर्खालको भित्तामा निकै मेहनत र मायाले बनाएको श्रीकाल भैरव आजुको भित्तेचित्रले तपाईंहरुलाई स्वागत गर्नेछ । अब अलिकति मात्र दुः ख गरेर ५० मिटरभित्र छिर्नु होला । वर्षौंदेखि बन्द रहेको क्यापिटल मर्चेन्ट बैंक र देवान मेनपावर कट्नु होला । तपाईंहरुको नजर अंग्रेजीमा नै लेखिएको शिल्पी क्याफेमा पक्कै पर्नुपर्छ ।

हेर्नुहोस् त, त्यो बोर्ड निक्कै हार्दिकताका साथ घामपानी, आइयाआत्था, चिसोतातो, भोकतिर्खा केही नभनी रातदिन निस्वार्थसँग हाम्रो स्वागतमा लट्किरहेको छ । ध्यान दिनुहोस् तपाईंले टेकिरहेको भुइँ कालोपत्र पीच छ । अब विस्तारै 'प्यासन फर आर्ट' लेखेको गेटबाट प्रवेश गर्नु पर्नेछ । शिल्पी थिएटरका कलाकारहरुले निकै मेहनतका साथ छापेको सिमेन्टको ब्लकमा टेकिनेछ ।

चारैतिर नजर पनि घुमाउनुहोस् । दायाँतिर नाटककार अभि सुवेदीको नाममा निर्मित अभिमञ्च देख्नुभयो होला । केही जीवित र केही स्वर्गको मार्ग तय गरिसकेका वरिष्ठ रंगकर्मीहरुका लहरै झुन्डिरहेका तस्बिरहरु पनि देख्नु भयो होला । ती तस्बिरमा फोटो कवि कुमार आलेको मिहिनेत छ । नत्र भने हामीले कसरी देख्न पाउँनु र ! उहाँको नाममा एउटा मिठो मुस्कान त अवश्य नै बन्छ । बायाँतिर शिल्पी क्याफे छ देख्नु भो ? वर्तमान मौसम अनुसार 'कुछ ठन्डा गरम त मिलेगा ही ।' तपाईं उभिएको ठिक दक्षिणपट्टि जुन घर छ नि, यो विशेष घर हो । जसलाई नाटककार गोविन्दबहादुर मल्ल गोठालेको नाममा समर्पण गरिएको छ । नपत्याए हेर्नुस् त, माथि भित्तामा गोठालेको ठूलो तस्बिर छ ।

हो यही घरमा केही समयदेखि रश्मिदेवी भाडामा बस्छिन् । पख्नुस्, पख्नुस् ! रश्मिदेवीलाई भेट्न हतार नगर्नुस् ।

क्याफेको छेऊमा बक्स अफिस छ । देख्नु भयो ? त्यहाँ केही रकम टक्रयाएपछि प्रवेशपत्र पाउनु हुनेछ । धन्दा नमान्नुहोस्, नहिच्किचाउनुहोस् त्यसको क्षतिपूर्ति गरौंला । एकछिन प्रवेशपत्रलाई ध्यानपूर्वक निहाल्नुहोस् । प्रवेशपत्रसहित पाएको कागज नपढ्न पनि तपाईंलाई छुट छ । सायद त्यही बेला एउटा मिडियम खालको घन्टीको आवाज गुन्जिन्छ । टिङ्ग टिङ्ग टिङ्ग ! त्यो घन्टीको आवाजले तपाईंलाई सतर्क रहन अनुरोध गर्नेछ र रश्मिदेवीलाई पनि आफ्नो गहिरो निन्द्राबाट ब्युँझाउने छ । माथि झुन्ड्याइएको सुन्दर तस्बिरबाट नाटककार गोविन्दबहादुर मल्ल गोठालेका आँखाले तपाईंलाई स्नेहले हेर्नेछन् । गोठाले नाटकघर अर्थात् रश्मिदेवीको अल्पकालीन डेरामा तपाईं छिर्दै हुनुहुन्छ ।

सावधान ! यस घरभित्रका आफ्नै नियमहरु छन् । तपाईं पूर्णरुपमा रश्मिदेवीलाई सुन्ने मुडमा हुनुहुन्न भने भित्र नछिरेकै राम्रो । रश्मिदेवीले तपाईंलाई निश्चित समय दिनेछिन् । ठिक ८० मिनेट । ८० मिनेटमा उनले आफ्नो कुरा सक्ने छिन् । ८१ मिनेटमा तपाईंलाई उनलाई गुडबाई गर्ने छिन् । त्यसो त मन भए तपाईं भित्रै बस्न पनि सक्नु हुन्छ । तर रश्मिदेवी कोमामा गैसकेकी हुने छिन् । अब सम्झनुस् रश्मिदेवीसँग तपाईंको ८० मिनेट कति महत्त्वपूर्ण हो भनेर । के अझै तपाईं फोन चलाउने, फोटो भिडियो खिच्ने वा गाइँगुइँ गर्ने मनस्थितिमा हुनुहुन्छ ? पक्कै तपाईं एउटा विशेष मनस्थिति लिएर भित्र छिर्दै हुनुहुन्छ ।

प्रिय तपाईंलाई स्वागत छ । रश्मिदेवीको अल्पकालीन अपार्टमेन्टमा ! त्यसो त हामी मानिसहरुको लागि यो पृथ्वी नै अल्पकालीन अपार्टमेन्ट नै हो । खैर, तपाईं मूल ढोकाबाट भित्र छिर्नु भयो भने अचम्म हुनेछ । ८० मिनेटसम्म ढोका बन्द रहने छ । तपाईंको सम्मानका निम्ति कोही पनि ढोकाबाट ओहोर दोहोर गर्ने छैन ।

भव्य पलङ, सोफा, कलात्मक र्‍याकहरु, पेन्टिड र तस्बिरहरुले सिंगारिएको ७० वर्षे रश्मिदेवी बस्नेतको अपार्टमेन्टको मूल आकर्षण हो, अक्सिजन सिलिन्डर । अक्सिजन सिलिन्डरमा टाँगिएकी रश्मिदेवीले तपाईंलाई जीवनका अनेकौँ रोमाञ्चक र टिठ लाग्दा यात्रा गराउने छिन् । तपाईं ढुक्क हुनु होस्, उनीसँगको एकालापको ८० मिनेट तपाईंको जीवनको एउटा विशेष सम्झना हुनेछ । उनी ठट्टा गर्न पनि सिपालु छिन् । उनका जोकहरु अलिक डार्क र व्यंग्य मिसिएका हुन्छन् । ख्याल गर्नु होला । ध्यान दिएर सुन्नु होला, चित्त चाहिँ नदुखाउनु होला ।

७० वर्षे रश्मिदेवीले तपाईंलाई अचानक सरप्राइज गराउन सक्छिन् । उनले तपाईंलाई आफ्नो स्मृतिलोकमा पनि लान सक्छिन् । उनले आफ्ना बैंसालु दिनहरुको यात्रा गराउने छिन् । आफ्ना स्वर्गीय श्रीमान् कर्नेल श्यामकुमार बस्नेतका किस्सा सुनाउने छिन् । दाम्पत्य जीवनका चिसाताता सम्बन्धहरुका बारेमा सुनाउनेछिन् । अर्को रोचक र तपाईंलाई चकित पार्ने क्षण पनि रश्मिदेवीले ल्याउने छिन् । उनले आफ्नो २५ वर्ष कान्छो प्रेमीसँग भेट गराउने छिन् । झन् अचम्म लाग्दो त के छ भने स्मृतिलोकमा पुर्‍याएर आफ्नै ४५ वर्षे स्वरुप र आफ्नो २० वर्षे प्रेमीलाई पनि तपाईंसँग साक्षात्कार गराउने छिन् । उनको जीवनमा सुख र खुसी नआएको हैन । तर यसो विचार गरी ल्याउँदा उनको जीवनमा संघर्ष र दुःखका कथा अथाह छन् । तर भ्रममा नपर्नुहोस् रश्मिदेवी आफ्नै दुःखको घाउ चाटेर भने बसेकी छैनन् । उनी त आफ्ना जीवनका स्मरणीय वा बिर्सन लायक पलहरु तपाईंसँग बाँड्न चाहन्छिन् । उनी अतितबाट उर्जा लिन चाहन्छिन् ।

तस्बिहरू : दीपक केसी/कान्तिपुर

बरु उनलाई चिन्ता छ आफ्नो कथा सुनाउँदा सुनाउँदै कतै फोन बजिहाल्छ कि ! गाँइँगुँइँ भैहाल्छ कि ? क्यामेराको फ्ल्यास बलि हाल्छ कि ? एनी वे, तपाईंहरुलाई स्मृतिलोकमा स्वागत छ ! कर्णेल श्यामकुमार बस्नेतको भव्य तीन तले घर । हेर्दा यस्तो लाग्छ कुनै महलभन्दा कम छैन । यो घरमा के छैन ? हेर्दै मायालु लाग्ने कलिलो चित्तलको सिङ छैन कि, देशीविदेशी महँगा रक्सी छैनन् कि, महँगा एस्ट्रे छैनन् कि, महँगा एन्टिक सामान छैनन् कि, सुनका गहना र मोतीका हार छैनन् कि, आफैंलाई हेर्ने बडेमानको ऐना छैन कि ? ल भन्नुहोस् त के के मात्र छैन । एउटा हैकमदार, शक्तिशाली र सम्पन्न श्रीमान्‌की एउटी संस्कारी श्रीमतीलाई यो भन्दा बढी अरु के चाहिन्छ ? यही आलिसान महल भित्रकी रानीसाहेब कर्नेलनी रश्मिदेवीले आफ्ना अन्तर्यका कथा यहाँ भन्दै छिन् ।

बाहिरबाट हेर्दा देखिने सम्पन्नता र सुखभित्र लुकेको भयानक दुःख र संघर्ष पनि रश्मिदेवीले 'फेरिटेल' झैं रोचक पारामा सुनाउँछिन् । रश्मिदेवी बस्नेतको अपार्टमेन्टमा कथाको अर्को सिंगै पाटो पनि छ । रश्मिदेवीको प्रेम । खासमा त्यो प्रेम थियो कि थिएन ? असलीप्रेमी कमल घिमिरे हुन् वा दीप दर्नाल ? खासमा कमल घिमिरे र दीप दर्नालबीचको सम्बन्ध हो चाहिँ के ? हिजोको रश्मिदेवीको प्रेमी कमल घिमिरे कसरी दीप दर्नाल भएर २५ वर्षपछि भेट्न आउँदैछन् ? हिजो रश्मिदेवी भनेपछि मरिहत्ते गर्ने कमल आज दीप बनेर किन रश्मिदेवीलाई घृणा गर्छन् ? यी कुराको रहस्य खोल्ने हैसियत मसँग छैन । रश्मिदेवीले तपाईंलाई आफ्नै अपार्टमेन्टमा यी जेलिएका कथा सुनाउने छिन् । हस् त, उतै भेटौंला ।

(खड्का शिल्पी नाटकघरमा हाल चलिरहेको महिला र दलित उत्पीडनविरुद्धको आवाज बोल्ने नाटक 'विमोक्ष' की कलाकार हुन् ।)

प्रकाशित : चैत्र १२, २०७९ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्

छारेरोग र 'ट्रिट्मेन्ट ग्याप'

डा. शरद हरी गजुरेल

सामान्यतया हाम्रो शरिरलाई नियन्त्रण गर्ने दिमाग न्यून मात्राको करेन्ट (माइक्रो भोल्ट)द्वारा सञ्चालित रहेको हुन्छ । कुनै कारणवश सो करेन्टको सञ्चार धेरै मात्रामा हुन गए दिमागको निश्चित भागले नियन्त्रण गर्ने शरीरका अंगमा अचानक करेन्ट लागेझैं झट्का उत्पन्न हुन थाल्दछ । यही असन्तुलित प्रक्रिया बारम्बर भैरहने अवस्थालाई छारेरोग अर्थात् 'इपिलेप्सी' भनिन्छ ।

सबै छारेरोगका बिरामीलाई एकै प्रकारको शरीर काप्ने, बेहोस हुने जस्ता लक्षणहरु नदेखिन पनि सक्छ । कसैको आधा भाग काप्ने वा ट्वाल्ल पर्ने, हिँड्दा हिँड्दै लड्ने (ड्रप एट्याक), शारीरिक कमजोरी देखिने, आँखा पल्टाउने, फिँज काड्ने साथै कपडामा दिसापिसाब हुने लगायत लक्षणहरु देखिन्छन् । यी लक्षणहरु व्यक्ति अनुसार पनि फरक पर्न सक्छ ।

विश्वभर जनस्वास्थ्यको चासो रहेको छारेरोगको असर विश्व स्वास्थ्य संस्थाको अनुसार विश्वभर करिब ५ करोड बढी मानिसमा देखिएको छ । यीमध्ये करिब ८०% छारेरोगका बिरामी न्यून आयस्रोत तथा विकासोन्मुख देशहरुमा रहेका छ्न् । यस्तै, विभिन्न अनुसन्धान अनुसार विश्वभर प्रत्येक १ हजार जनामध्ये ४ देखि १० जनामा छारेरोग देखिने र न्यून आयस्रोत भएका देशमा प्रति हजारमा ७ देखि १४ जनामा छारेरोग देखिने गरेको पाइएको छ। न्यून आय स्रोतका साथै स्वास्थ्यको न्यून स्रोत–साधन भएको देशहरुमा छारेरोग एक किसिमको चुनौतीको रुपमा देखिएको छ । साथै यी मुलुकहरुमा स्वास्थ्यको लागि छुट्याएको बजेट विश्वव्यापी कुल बजेटको करिब १२ प्रतिशत मात्र हुने गर्दछ ।

आधुनिक युगमा विभिन्न प्रकारका अनुसन्धान, औषधि तथा प्रविधिको विकास भए पनि न्यून आयस्रोत तथा विकासोन्मुख देशमा रहेका छारेरोगका बिरामीमध्ये करिब ७५% बिरामी उपचारको दायरा तथा पहुँच बाहिर रहेको पाइएको छ । जसलाई हामी 'ट्रिट्मेन्ट ग्याप' पनि भन्ने गर्दछौं । सामन्यतया 'ट्रिट्मेन्ट ग्याप' विभिन्न कारणवश छारेरोग भएका व्यक्तिको उपचारको माध्यममा सहज वातावरण नहुनुका साथै पर्याप्त उपचार नपाउनुलाई मानिन्छ । उपचारको दायरा र पहुँच बाहिर हुने कारण धेरै रहेका छन् । जसमध्ये केही रोग पत्ता लाग्नु अगावै ट्रिट्मेन्ट ग्यापको सिकार हुन्छन् भने कोही रोग पत्ता लागेपछि ।

छारेरोगका लक्षण भए पनि बिरामी तथा परिवारलाई यो निश्चित रुपमा कुन रोग हो भन्ने पत्ता लगाउन त गाह्रो नै पर्छ । सबै छारेरोगमा एकै किसिमको बेहोस हुने मुर्छा पर्ने जस्ता लक्षण नदेखिँदा यो रोगलाई हाम्रो समाजमा सामन्य रुपमा पनि लिने गरिन्छ । साथै गाउँ समाजमा मिर्गी भनिने यो अवस्थामा कसैलाई रोगको लक्ष्यण देखिए पनि स्वास्थ्य संस्थासम्म पहुँच नहुनु, समाजमा विद्यमान अन्धविश्वास कायम रहनु जसले गर्दा रोग लागेका व्यक्तिलाई अस्पताल नलागी धामी झाँक्रीकोमा लग्नु, भूत-प्रेत लागेको संज्ञा दिइने गर्दा पनि बिरामीले सही उपचार को पहुँचबाट बञ्चित हुनु परेको छ ।

यसका साथै समाजमा रहेका जनमानसमा छारेरोगका बारे जनचेतनाको कमी हुनु, बिरामीलाई पारिवारिक साथ र हौसला नमिल्नु, बिरामी स्वयंले रोगको लक्षण भएपनि रोग नलागेझैं गर्नु, स्वास्थ्य संस्थामा रोग पत्ता लगाउने प्रविधि नहुनु, साथै स्वास्थ्यकर्मीलाई छारेरोग सम्बन्धी उचित तालिम साथै उपचार पद्धति अधावधिक नहुनु पनि यसको मुख्य कारण रहेको छ । नेपालमा छारेरोगलाई सामान्य चिकित्सकद्वारा उपचार गराइएको पाइएको छ । देशका विभिन्न ठाउँमा स्नायु रोग विशेषज्ञहरुको कमी र रोग पत्ता लगाउने सीटी, एमआरई, ईईजी जस्ता उपकरणको अभावले समयमै रोग पत्ता लाग्न सक्दैन । यसले गर्दा पनि बिरामीको संख्या र रोगको असर बढ्दो पाइएको छ । हाम्रो समाजमा यसप्रकारका रोगलाई नकारात्मक दृष्टिकोणले हेर्ने गर्दा पनि कतिपय बिरामी र उनका परिवारले रोग लुकाउनुका साथै उचित उपचारको बाटो नखोज्ने गरेको देखिन्छ ।

ट्रिट्मेन्ट ग्यापका यी कारक तत्त्व त रोग उचित तवरले पत्ता लाग्नुभन्दा अगावै देखिने कुरा हुन भने चिकित्सकले कुनै बिरामीलाई छारेरोग लागिसकेको निष्कर्षमा पुगेपछि अनि बिरामीलाई रोगको बारे परामर्श दिइसक्दा पनि धेरै बिरामीमा ट्रिट्मेन्ट ग्याप देखिने गरेको छ । विभिन्न विकासोन्मुख र न्यून आयस्रोत भएको देशमा यसको कारण हेर्ने हो भने बिरामीले छारेरोगको औषधि किन्न नसक्नु, स्वास्थ्य संस्थाको पहुँच नजिक नहुनु, औषधिको 'साइड इफेक्ट'ले गर्दा औषधि छोड्नु, औषधिले काम नगर्नु र चिकित्सकसँग परामर्शमा बिरामी नजानु, नियमित औषधि सेवन नगर्नु, पारिवारिक साथ नहुनु साथै घर परिवार र समाजबाट अपहेलित हुनु जस्ता कारण रहेका छन् । यसका साथै, बिरामी स्वास्थ्य संस्थामा नियमित उपचारमा जाँदा विशेषज्ञ चिकित्सक साथै प्रविधिको पहुँच नहुँदा पनि उपचारबीच उपचार छोडी सही तबरले उपचार नगराएको पनि पाइएको छ । यस्तै, सरकारी निकायबाट प्रदान गरिने फस्ट लाइन ड्रग तोकिए पनि त्यो सहज र सुलभ रुपमा बिरामीले प्राप्त नगर्नु पनि एउटा कारण हो ।

छारेरोग आजको सन्दर्भमा जनस्वास्थ्यको सरोकार भएको हुँदा सरकारले नै यस विषयमा ध्यान दिएर नीति तथा कार्यक्रम विकास तथा सञ्चालन गरी प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । छारेरोग निर्मूल गर्नका लागि नेपालमा केही संघ संस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् । विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय, सरकारी तथा गैरसरकारी संघ सस्थासँग सहकार्य गरी अगाडि बढ्न सके ट्रिट्मेन्ट ग्याप न्यूनीकरण गर्न मद्दत पुग्ने छ । नेपालमा अझै पनि छारेरोगको पहिचान र उपचार चुनौतीपूर्ण रहेकोमा दुई मत छैन। ट्रिट्मेन्ट ग्यापलाई न्यूनीकरण गर्न उचित उपचारको अभाव, अन्धविश्वास, जनचेतनाको कमी, आर्थिक अभाव तथा सामाजिक भेदभाव जस्ता कारक तत्त्वहरुलाई निर्मूल पार्नु जरुरी छ ।

प्राथमिक निदान तथा समयमै गरिएको उपचारेले छारेरोग लोगेका बिरामी निको हुने सम्भावना अधिक रहन्छ भने करिब २५ प्रतिशतलाई छारेरोग लाग्नुभन्दा अगाडि नै रोकथाम गर्न सकिन्छ । समयमै औषधि सेवन, निरन्तर चिकित्सकसँग परामर्श गर्नाले बिरामीले यो रोगलाई बोझको रुपमा नलिइ सामान्य जीवन बिताउन सक्छन् । औषधिले नियन्त्रण नभएका छारेरोगको उपचार शल्यक्रियाबाट पनि गर्न सकिन्छ । र, यो पद्धति नेपालमै उपल्ब्ध पनि छ ।

(लेखक अन्नपूर्ण न्यूरो अस्पतालमा जनस्वास्थ्य निर्देशकका रुपमा कार्यरत छन् ।)

प्रकाशित : चैत्र १२, २०७९ १३:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×