दमन र उत्पीडनबाट 'विमोक्ष'

काठमाडौँ — कुनै कथाले लामो समय दिल-दिमाग कब्जा गरिरहन्छ । कुनै कथा मञ्चबाट कलाकार ओझेल परेसँगै बिर्सिइजान्छन् । शिल्पी थिएटरमा मञ्चनरत नाटक 'विमोक्ष' मा भने ह्रदय हुँडल्ने कथाहरूको सूचीमा छ । यो एउटा यस्तो प्रेमको स्मृति हो । जसलाई पछ्याउँदै जाँदा भेटिन्छ, विभेद, यातना अनि दमनका कथा ।

एउटा यस्तो समय, जहाँ समाजका मूल्य मान्यतालाई भत्काएर प्रेम गरिन्छ । उमेरको अन्तर छ, तर प्रेममा हुनुपर्ने सद्भाव, सम्मान अनि माया छ । संयोगले दोबाटोमा भेटिएका अनि फरक गन्तव्यले छुट्टिएका दुई पात्रले साटेको प्रेम, गरेका वाचा अनि प्रेमिल क्षणहरुमा बाँचेको सम्झना हो-'विमोक्ष'।
मुमाहजुरले एकदिन दीप दर्नाल उर्फ कमल घिमिरेलाई केही विशेष छलफलका लागि आफूबस्ने स्थानमा डाक्छिन् । शान्त कोठा । दायाँतिरको कुनामा पलङ छ, त्यसको नजिकै अक्सिजनको सिलिन्डर । बाँयाकुनामा सम्मान र पुरस्कारले भरिएको र्याक । पलङ र त्यही र्याकको दूरीबीच अटाएको छ, एउटा सोफा र गलैंचा । हलचल गर्न नसक्ने अवस्थामा पुगेकी मुमा हजुरलाई भेट्न दीप त्यही कोठामा आइपुग्छन् । त्यसपछि यी दुई आफ्ना स्मृतिमा फर्कन्छन्, जहाँ उनीहरूले रश्मी अनि कमल बनेर विभेद र हिंसारहितको प्रेमिल संसार निर्माण गरेका थिए । आखिर मुमा हजुरले दीपलाई के कुरा गर्न त्यहाँ बोलाएका थिए त ? 'विमोक्ष' यही प्रश्नको उत्तर वरपर घुम्छ ।
तस्बिरहरू : दीपक केसी/कान्तिपुर
नाटक एउटै सेटमा तयार पारिएको छ । मञ्चमा दुई कोठा देखाइन्छ । तलको कोठामा वर्तमानकी मुमा हजुर बस्छिन् । माथिल्लो तल्लामा विगतकी रश्मी । मुमा हजुर र दीप विगतका स्मृति(फ्ल्यासब्याक)मा पुग्दा प्रकाशमार्फत माथिल्लो कोठा देखाइन्छ । जब-जब यी दुई स्मृतिका कुरा गर्छन् तब-तब माथिल्लो कोठामा देखापर्छन्, जवान कमल(सागर कामी) र दुई छोरीकी आमा रश्मी आन्टी (पवित्रा खड्का) । दुईका यौन चाहना, उन्माद प्रेम, स्वतन्त्रताको साक्षी हो, यो कोठा(कर्णेलको घर) । विगत र वर्तमानलाई मञ्चमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ । यी दुई पात्रमार्फत दर्शक चरम विभेद, पितृसत्ता अनि वर्जित प्रेमको साक्षी बन्छन् ।
मुमाहजुर अर्थात विगतकी रश्मी आन्टी पितृसत्ताले दबिएकी पात्र हुन् । पितृसत्ताले उनलाई संस्कारी, पतिव्रता र पतिको यातना सहने महिला बनायो । उनका लागि कर्णेल पति श्यामकुमार संरक्षक थिए । उनीबाट कहिल्यै पति प्रेम पाइनन् । उनी सँधै, छोरीहरुका बुवा मात्र भए । पतिको मृत्युपछि कर्णेलले गरेको बेइमानी जब पर्दाफास हुन्छ, तब रश्मी स्वतन्त्रतामा रमाउन थाल्छिन् । आफ्नो खुसीका लागि बाँच्न सिक्छिन् । सारा सामाजिक बन्धनहरू तोडेर आफूभन्दा २५ वर्ष सानो युवकसँग प्रेम गर्छिन् । यही विद्रोही स्वभावकी रश्मीले आफ्नो प्रेमका लागि गर्ने पर्खाई र छटपटी, परिवारका लागि गर्ने त्याग र समर्पणको कथा 'विमोक्ष'मा प्रस्तुत छ । उनी पितृसत्ताले पिल्सिएर विद्रोह र स्वतन्त्रताको उडान भर्ने समाजका महिला पात्रहरुकी उदाहरण पनि हुन् ।
त्यस्तै, दीप दर्नाल पनि यही समाजबाट टपक्क टिपिएको अर्को पात्र हुन् । जातकै कारण अपमानित जीवन बाँच्न बाध्य एक पात्र । जो अहिले छुवाछुत र दमनविरुद्धको अभियानमा लागे । दीपले दलित भएकै कारण काठमाडौंमा कोठा भाडा पाएनन् । 'कोटेश्वरदेखि स्वयम्भूसम्म, कलंकीदेखि बूढानीलकण्ठसम्म । तर, यो दर्नालले आफ्नो नामपछाडि झुन्डिएको थरकै कारण कोठा भाडा पाएन, 'लामो सुस्केरामा दीपले विभेदको यो अँध्यारो पाटो केलाउँदै गर्दा रुपा सुनारदेखि प्रतिनिधिसभा सदस्य आशाकुमारी विकहरुले कोठा खोज्नकै लागि गर्नुपरेको संघर्ष कथा स्मृतिमा आइपुग्छ ।
दीप दर्नालबाट कमल घिमिरे भएर बाँच्नुपर्ने बाध्यताले, यो शिक्षित सहरको वर्तमान साक्षरता र व्यवहारमा गढेर बसेको विभेदको यो पक्षलाई नाटकको यो दृश्यले गिज्याइरहेझैं लाग्छ । साथै, सम्झाइदिन्छ रुकुम 'नरसंहार', अन्तरजातीय प्रेमकै कारण नवराज विकहरूले दिनुपरेको प्राणको आहुति । नाटकको कथा यी दुई पात्रले भोगेको यही नमिठो, दबिएको जीवनबाट खोज्ने मोक्षमा आधारित छ । जात व्यवस्थाको जञ्जिरमा जकडिएको समाजविरुद्धको आवाज बनेको छ- 'विमोक्ष' ।
पछिल्लो समय अनूदित नाटकहरूको भीडमा 'विमोक्ष' मौलिक र सशक्त छ । प्रेमको मिठो पलहरुसँगै तीता भोगाईको कथा भन्ने यो नाटक, लेखन र निर्देशकीय पक्षबाट अब्बल छ । कथा, वर्तमान समाजसँग मेल खान्छ । उत्पीडनमा परेकी महिला र समाजमा दमित दलित मुद्दाको सन्तुलित संयोजन यो नाटक प्रस्तुतिकरण, संवाद, संगीत र प्रप्सका पाटोमा पनि बलियो लाग्छ । रश्मी र कमलको प्रेम अनि मुमाहजुर र दीपबीचको मनमुटावको मुड सिर्जना गर्नमा पार्श्व संगीतको निकै ठूलो भूमिका छ ।
त्यस्तै, जवान कमलको भूमिकामा देखिएका सागरले केही दृश्यमा बजाउने संगीत रमाइला लाग्छन् । दुई फरक समयका फरक परिस्थिति देखाउन बनाइएको सेट तारिफयोग्य छ । निराजन डोटेलसहितको टिमले कलात्मक मञ्च निर्माण गरेका छन् । एउटै सेटमा घण्टौं दर्शकलाई बाँधेर राख्नु चुनौतीको विषय हो, तर प्रेमको यो फरक कथा र कलाकारहरूको अभिनयले ध्यान भड्किन दिँदैन । प्रोजेक्सन भिडियोको प्रयोग कलात्मक छ ।
प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा बनेको यस नाटकमा रंगकर्मी घिमिरे युवराजको बेजोड अभिनय देख्न पाइन्छ । दीपको परिपक्वता, विद्रोह र भलादमीपन उनको अभिनयमार्फत् प्रस्तुत भएको छ । शारीरिक हाउभाउदेखि संवादसम्म अभिनयको निखार भेटिन्छ । त्यस्तै, रश्मी आन्टीको स्वतन्त्रता, अन्योल र खुसीलाई पवित्रा खड्काले आफ्नो अभिनयमार्फत मञ्चमा उभ्याउन सफल छिन् । त्यस्तै, दीपको युवा चरित्रमा देखिएका सागरले युवा जोश र प्रेम आशक्तिलाई अभिनयकलाले पस्किएका छन् । मुमाहजुरको चरित्रमा लेखक सगुना शाह फिट देखिएकी छिन् ।
वर्तमान समाजको कथा बोल्ने यो नाटक महिला र दलितले वर्षौंदेखि भोग्दै आइरहेको दमन र उत्पीडनविरुद्धको प्रतिनिधि आवाज हो । यी दुईले बाँच्न चाहेको समतामूलक समाज, स्वतन्त्र र प्रेमिल संसारको परिकल्पना हो,'विमोक्ष' ।
नाटक : विमोक्ष
नाटककार : घिमिरे युवराज
परिकल्पना/निर्देशक : प्रवीण खतिवडा
कलाकारहरू : सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामी
मञ्चन मिति : फागुन १७-चैत १८
समय : प्रत्येक दिन अपराह्न सवा ५ बजे मंगलबारबाहेक(शनिबार १ बजे अतिरिक्त शो)
प्रकाशित : फाल्गुन २४, २०७९ १४:१७