कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँखाबाट ओझेल नपरुन्जेलसम्मको बाई बाई 

जनकराज सापकोटा

काठमाडौँ — स्नेहको रंग कस्तो हुन्छ ? प्रेम र विछोडको क्षण कस्तो हुन्छ ? मिलनको आँसु कस्तो हुन्छ अनि छुट्टिदाको आँसु कस्तो हुन्छ ? 

आँखाबाट ओझेल नपरुन्जेलसम्मको बाई बाई 

यस्तो लाग्छ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आँगनमा पुगेपछि सबै प्रश्नको उत्तर भेटिन्छ । औसतमा दैनिक १२ सय नेपाली वैदेशिक रोजगारीमा यही आँगन टेकेर जान्छन् । अनि दैनिक सयौंको संख्यामा नेपालीहरु यही बाटो हुँदै घर फर्किन्छन् ।

बुधबार बिहानै विमानस्थल पुगेको थिएँ । सूचना पाएको थिएँ, अवैध बाटो हुँदै अनेकन हण्डर र ठक्कर खाएर अमेरिका पुगेकाहरु डिपोर्ट भएर आउँदैछन् । सूचना सत्य थियो तर अमेरिकाबाट उडेको चार्टर विमान मौसमका कारण अवतरण हुन नसकेपछि विमानमा भएका अन्य दुई पाकिस्तानीलाई पुर्‍याउन विमान उतै सोझिएछ । त्यसपछि त बेकामे जस्तै भइयो ।

त्यो खाली समयमा म प्रवासबाट फर्केकाहरुलाई नियाल्दै थिएँ । प्रवास हिँडेकामध्ये कसैको अनुहारमा देखिएको उदासी, कसैको अनुहारमा पोतिएको आशाको रंग हेर्दै थिएँ । प्लास्टिकले फनफनी मोडिएको सुटकेस ट्रलीमा हालेर बाहिर निस्केका मधेसी मूलका एक तन्नेरीलाई उनकी आमा अंगालो मारेर सुक्कसुक्क गरिरहेकी थिइन् । आफ्नो आँसु अरुले देख्लान् कि भनेर उनी मजेत्रोमा अनुहार छोप्दै थिइन् । सायद त्यो हर्षको रुवाइ थियो ।

हातमा फूलको गुच्छा लिएर यात्रु आगमन कक्षतिर एकटकले हेरिरहेकी थिइन् एक किशोरी । आगमन कक्षबाट सुटकेस गुडाउँदै आएका एक तन्नेरी देखेपछि उनको अनुहार हातको फूलभन्दा धेरै मुस्कुरायो । दुगुर्दै अघि बढेकी उनले फूलको गुच्छा ती युवालाई दिइन् । अनि अँगालो मारेर घुक्क–घुक्क पो गरिन् । सायद वर्षौपछि फर्केको प्रेमीलाई भेटेर ती युवती खुसीले रोएकी थिइन् ।

विदेश पस्नेहरुको लर्कोमा भने फरकखालको उदासी र बेग्लैखालको उत्साह थियो । कमाउन जाने र घुम्न जानेको अनुहारमा फरक–फरक रंगहरु थियो ।

मेरा आँखा यताउता डुलिरहेका थिए । धेरैपछि निरुद्देश्य टहलिने मौका आँखाले पाएका थिए । त्यसैबेला विदेश हिँड्नेहरुको एउटा लस्कर गेट नम्बर ‘बी २’ तिर सोझिएको थियो । भित्र छिरिसकेको आफन्तलाई अन्तिम झल्को हेर्न खोज्ने आफन्तीहरुको एउटा ठूलो हुल बाहिर थियो । आफन्तको काँधमा चढेर दुई स–साना नानीहरु कसैलाई बाई–बाई गर्दै हात हल्लाइरहेका थिए ।

नानीहरु बोकेका तन्नेरी झ्यालको खापाजस्तोमा टेकेर मुश्किलले उभिएका थिए । नानीहरु चर्को स्वरमा ‘बाई–बाई’ भन्दै हात हल्लाइरहेका थिए । उनीहरु भन्दै थिए– ‘लभ यु मम्मी, लभ यु बाबा ।’

नजिकै उभिएकी एक महिलाले ती दुई नानीमध्ये एककी आमा र एकका बाबु–आमा दुवै न्युजिल्याण्ड जाँदै गरेको सुनाइन् । फूलजस्ता छोरीहरुलाई छोडेर जानुपर्दा ती बाबुआमाको मनमा के खेलिरहेको थियो होला ? अनि आफ्नो आँखाबाट बाबुआमा ओझेल परेको दृश्य हेर्दा उनीहरुका कोमल आँखा कति बिझाए होलान ।

स्नेह र संवेदनाको रंग कस्तो हुन्छ ? त्यो दृश्य देखेपछि मलाई उत्तर भेटेजस्तो भयो । विमानस्थलबाट फर्केपछि पनि बाबुआमा आँखाबाट ओझेल नपरुन्जेलसम्म ती नानीहरुले काँधमै बसेर बाई–बाई गरिरहेको अनि हात मुखतिर पुर्‍याउँदै ‘लभ यु बाबा, लभ यु मम्मी’ भनेको दृश्य आँखाभरी आइरहृयो ।

प्रकाशित : पुस ८, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?