२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

छुटिरहेको यौनिकता बहस

रेणु अधिकारी

मानिसको जीवनसँग जोडिएको एक महत्त्वपूर्ण आयाम उसको यौनिकता हो । यौनिकता एक छाता अवधारणा भएको हुँदा यसको कुनै निर्दिष्ट परिभाषा छैन । विश्व स्वास्थ्य सङ्गठनको सामान्य परिभाषालाई आधार मान्ने हो भने यौनिकता व्यक्तिको विचार, कल्पना, आशा, विश्वास, मूल्य मान्यता, व्यवहार, भूमिका, सम्बन्धलाई अनुभव गराउने तथा प्रकट गराउने कार्य हो ।

छुटिरहेको यौनिकता बहस

यौनिकतालाई व्यक्तिको जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, नैतिक, कानुनी, ऐतिहासिक, धार्मिक तथा आत्मीय तथ्यहरूको अन्तरक्रियात्मक अनुभवले प्रभाव पार्छ । समग्रमा यौनिकताले व्यक्तिको व्यवहार, विश्लेषण, आफूलाई हेर्ने दृष्टिकोणजस्ता विभिन्न आयामलाई समेट्छ । उसको व्यक्तित्वमा प्रभाव पार्छ । आफूले भित्रबाट अनुभव गर्ने स्वतन्त्रताको अनुभूतिलाई प्रभावित बनाउँछ ।

विशेष गरेर यौनिकताको कुरा गर्दा यसलाई यौन सम्बन्धसँग मात्रै जोडेर हेर्ने चलन पनि छ । वास्तविकतामा हेर्ने हो भने यौनिकतालाई मानव जीवनको बहुआयामिक समुद्र मान्न सकिन्छ भने यौन सम्बन्ध त्योभित्र हुने घटना हो वा ज्वारभाटा हो । व्यक्तिको सक्रिय यौन साथी हुँदैमा, उसको नियमित यौन सम्पर्क हुँदैमा, त्यो पूर्ण सन्तुष्टि दिने, यौनिकतालाई पूर्ण बनाउने, चरम आनन्द दिने हुन्छ भन्न सकिन्न । धेरै महिला, पुरुष तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिसँगको अन्तरक्रियाले यसलाई पुष्टि गर्छ । धेरैको भनाइ छ– ‘मेरो यौन साथी (हाम्रोजस्तो समाजमा विशेषतः श्रीमान् र श्रीमती) छ, तर म सन्तुष्ट छैन ।’ सही यौन सम्बन्ध दुवैको पूर्ण सहमति, समान मानसिक, भावनात्मक र शारीरिक सहभागिता भए मात्रै हुन सक्छ । यस्तो यौन सम्बन्ध भए मात्रै व्यक्ति आफ्नो यौनिकतामा रमाउन सक्छ । यौनिक रूपले सन्तुष्ट हुन सक्छ । स्वतन्त्र अनुभुत गर्न सक्छ र खुसी हुन सक्छ । भनिन्छ नि प्रेमबिनाको यौन सम्बन्ध जस्तो पीडादायक केही छैन र प्रेमसहितको यौन सम्बन्ध जस्तो आनन्ददायक अरू केही हुनै सक्दैन । आधारभूत आत्मीयताको सिद्धान्तअनुसार मानव यौनिकता भनेको त्यस्तो अभिव्यक्ति हो, जसले व्यक्ति–व्यक्तिबीच सम्बन्ध तयार गर्दै एकअर्काको भावना सञ्चार गर्छ । आत्मीय सम्बन्धमा सबै कुरा मुखले भन्नुपर्ने वा अभिव्यक्त गर्नुपर्ने हुँदैन । एकअर्काको आँखा, मुड, शारीरिक हाउभाउ (भाषा) जस्ता कुराले पनि धेरै बोल्छन् । त्यसलाई बुझ्न सक्ने सम्बन्ध नै आत्मीय सम्बन्ध हो । यस्तो सम्बन्धमा मात्रै यौन सन्तुष्टि हुन सक्छ । प्रेम झाँगिन्छ । व्यक्तिको यौनिकता मौलाउँछ ।

दुर्भाग्य, हाम्रो जस्तो पितृसत्तात्मक समाजमा यौनिकता खासगरी महिला र पारलिङ्गीहरूको शरीरलाई वस्तुकरण गर्दै पुरुषको नियन्त्रणमा राख्ने औजारका रूपमा विकास गरिएको छ । महिला र पारलिङ्गीले कस्तो लगाउने, कस्तो साथी छान्ने, कोसँग प्रेम गर्ने, कोसँग शारीरिक सम्बन्ध राख्ने वा नराख्ने सबै कुरा पितृसत्ताले स्थापित गरेको महिलापन र पुरुषपनको मापदण्डलाई आधार बनाई तय गरिएको हुन्छ । सामाजिक मूल्य मान्यताअनुरूप त्यसलाई संस्थागत गरिन्छ ।

एउटी महिलाले भर्खरै मसँग साझा गरेको कुरा यहाँ राख्नु सान्दर्भिक होला । उनी कुनै एउटा तालिममा गएकी रहिछन् । समूहमा फोटो खिच्ने क्रममा एक जना पुरुषसँग अलि नजिकिएको जस्तो आएछ । यही फोटो देखेर श्रीमान्ले दिनरात ‘तेरो उसैसँग सम्बन्ध छ’ भन्न थालेछन् । श्रीमान्ले अचानक यस्तो शंका गरेपछि उनको मन यसै दुख्ने भइहाल्यो । त्यसपछि हुने यौन सम्बन्धमा करिब करिब उनी निष्क्रिय हुन पुगिन् । श्रीमान्सँगका यौन सम्बन्ध आनन्दभन्दा बढी पीडाका रूपमा रूपान्तरित हुन थाल्यो । अहिले त राति भयो कि डर लाग्छ रे !

यस्ता घटना हामीकहाँ कैयौं छन् । धेरै विवाहित दम्पती सँगै बस्छन् तर प्रेम छैन । यौन सम्बन्ध हुन्छ तर आत्मीयता छैन । यसको प्रत्यक्ष असर उनीहरूको व्यवहार र व्यक्तित्वमा परेको छ । यौन कुण्ठित व्यक्तिको विकास सहज हुँदैन । यौन कुण्ठाले विभिन्न हिंसा निम्त्याउँछ । मैले केही पारलिङ्गी महिला र पुरुषसँग भेटेर कुरा गर्दा पारिवारिक दबाबका कारण उनीहरूको अर्को लिङ्गको व्यक्तिसँग विवाह हुन्छ । तर, उनीहरूको यौनिकताले त्यो स्विकार्दैन, परिणामस्वरूप दुई व्यक्तिभित्र द्वन्द्व सुरु हुन्छ । पारिवारिक हिंसा सुरु हुन्छ । भर्खरै केही युवायुवतीसँग भेट्ने मौका मिलेको थियो । उनीहरूमध्ये धेरैको गुनासो थियो– ‘आफूले विवाह गरेको व्यक्तिसँग कुरा मिल्दैन, मानिस भएका कारण मानसिक भावनात्मक सहयोग आवश्यक हुन्छ । त्यसैले हाम्रो बाहिर सम्बन्ध हुन्छ भने कसैले अचम्म मान्नु पर्दैन ।’

मानिसको व्यवहार र स्वास्थ्य राम्रो हुन समाजमा अरू व्यक्तिसँग कस्तो सम्बन्ध छ ? उसका आफ्ना अन्तरङ्ग सम्बन्ध कस्ता छन् ? बाल्यकाल, किशोरावस्था र युवावस्थामा नजिकका व्यक्तिसँग सम्बन्ध कस्तो थियो भन्नेले महत्त्वपूर्ण भूमिका खेल्छ । ऊ आफूसँग रमाउन सक्छ कि सक्दैन, उसका सपना देख्ने, खुसी हुने, आफू पनि महत्त्वपूर्ण व्यक्ति हो भनी अनुभुत गर्न पाउने वातावरण छ कि छैन भन्ने स्थितिले मानसिक स्वास्थ्य निर्धारित हुन्छ र यहीअनुरूप व्यक्तित्व बन्छ । यस्तो अवस्था मानिसले त्यतिखेर मात्रै पाउँछ, जतिखेर उसले आफ्नो यौनिकतालाई बुझ्ने, रमाउने अनि खुसी हुने वातावरण पाउँछ ।

महिलाको मुक्ति आफ्नो यौनिकतालाई बुझ्ने, चाहना, भावना अभिव्यक्त गर्न पाउने वातावरणसँग जोडिएको हुन्छ । त्यसैले महिलावादी आन्दोलनको सुरुवातदेखि नै महिलावादीहरू यौनिकताको राजनीतिलाई विश्लेषण गर्दै र समाज बुझ्दै अगाडि बढिरहेका छन् । हाम्रो समाजमा अझै पनि महिलालाई शोषण गर्ने अस्त्रका रूपमा यौनिकतालाई हेरिने गरिन्छ । अतः अहिलेको यो दृष्टिकोणसहितको संरचनामा परिवर्तन हुन सक्दा महिला मुक्तिको आधार बन्न सक्छ भन्ने महिलावादी आन्दोलनले मान्छ । त्यसैले कुनै पनि व्यक्तिले जबसम्म आफ्नो यौनिकतालाई पूर्ण रूपले स्वतन्त्रतासाथ अनुभव गर्न पाउँदैन, तबसम्म ऊ मुक्त भएको मान्न सकिँदैन ।

प्रेम र यौन अन्तरसम्बन्धित छन् तर यी दुवै एक होइनन् । सबै खाले प्रेममा यौन सम्बन्ध हुनुपर्छ भन्ने छैन तर प्रेम नभएको यौन सम्बन्ध आत्मीय हुन सक्दैन । यसलाई पुष्टि गर्न वर्षौं पहिले कोलकाताको सोनागाछीकी एक यौनकर्मीले मसँग भनेको कुरा यहाँ उल्लेख गर्न चाहन्छु । उनले भनेकी थिइन्– ‘दिदी म मेरो कम्मरमाथिको अङ्गहरूद्वारा प्रेम गर्छु तर कम्मरभन्दा तल्लो भागलाई प्रयोग गरेर आफ्नो जीवन चलाउँछु । मैले जीवन चलाउन गरेको कामसँग मेरो कुनै भावनात्मक सम्बन्ध हुँदैन ।’

हिजोआज जो महिला मकहाँ आउँछन्, उनीहरू पनि कतै यस्तै स्थितिमा त छैनन्् भन्ने लाग्छ । धेरैले भन्छन्– ‘म श्रीमान्सँगै छु, मेरो यौन सम्पर्क पनि हुन्छ तर हामीबीच प्रेम छैन । मैले मेरो जीवनमा खुसी र सन्तुष्टिको अनुभव गर्न छाडेको धेरै भइसक्यो ।’ म महिलाका सवाल सम्बन्धित काम गर्छु, त्यसैले मैले धेरै महिलाको कुरा सुनेकी छु । मलाई विश्वास छ, यस्तै अवस्था पुरुषहरूको पनि छ । योभन्दा जटिल अवस्थाबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महिलाहरू गुज्रिरहेको हुनुपर्छ भन्ने अनुमान म सहजै लगाउन सक्छु ।

हामीकहाँ यौन विकृति, शोषण, बाल यौन दुर्व्यवहार, भागेर गर्ने बालविवाह जस्ता यौनसँग जोडिएका घटना बढिरहेका छन् । यसका विभिन्न कारणमध्ये एक महत्त्वपूर्ण हो– व्यक्तिभित्र रहेको यौन चाहना अनि चाहना व्यक्त गर्न नसकेर हुने कुण्ठा । हरेक व्यक्तिभित्र यौन चाहना हुन्छ । ऊ त्यो अभिव्यक्त गर्न चाहन्छ । तर हाम्रो जस्तो समाजमा जहाँ यौनको कुरा गर्नु, चाहनाबारे खुलेर छलफल गर्नुलाई अश्लील मानिन्छ, त्यहाँ व्यक्तिले आफ्नो यौन चाहना पूरा गर्न विभिन्न बाटो रोज्छ । तीमध्ये धेरै अपराधतिर लाग्छन्, अरूलाई पीडा दिने तर आफैंलाई घात गर्ने बाटो रोज्छन् । अर्को महत्त्वपूर्ण कुरा, यी सबै बाटाभित्र उसको यौन चाहना त पूरा होला तर पूर्ण सन्तुष्टि दिने प्रेम उसले पाउन सक्दैन । ऊ आफ्नो यौनिकतामा खुसी हुन सक्दैन । परिणामतः उसको व्यक्तित्व नै प्रभावित हुन पुग्छ । ऊ अपराधी, मानसिक रोगी वा असफल व्यक्ति बन्न पुग्छ ।

त्यसैले महिलावादीहरू भन्छन्– ‘यदि महिलाले आफ्नो यौनिकतालाई बुझ्ने, रमाउने, रोमाञ्चित हुने अनि आफ्नो जीवनबारे आफैं निर्णय लिन सक्ने अधिकार प्राप्त गर्ने अवस्था आयो भने मात्रै महिला मुक्ति सम्भव छ ।’ हामीले अहिलेसम्म व्यक्तिको उत्पादनमाथिको अधिकारको कुरा गर्‍यौं । सम्पत्तिमाथिको कुरा उठायौं तर उक्त उत्पादन गर्न सक्षम बनाउने, सम्पत्तिलाई उपभोग गरी रमाउन आवश्यक पर्ने व्यक्तिको शरीर, यौनिकता अनि मनोभावनाका बारेमा कुरा गरेनौं । हामीले हिंसा र पीडाका बारेमा धेरै बोल्यौं तर खुसी र आनन्दकाबारे बोल्न डरायौं । समाजले के भन्छ भनेर हच्कियौं । सायद त्यसैले महिला हिंसा कम भएको छैन । दम्पतीबीच प्रेम छैन, पारपाचुके बढेको छ । विश्वासको सम्बन्ध छैन, त्यसैले घरभित्र र बाहिर सबैतिर यौन हिंसा बढेको छ । यो स्थितिमा न व्यक्ति नै खुसी हुन्छ न त देश । मानिसको जीवनको जग प्रेममा अडिएको हुन्छ । प्रेम र यौन सम्बन्ध दुई फरक कुरा हुन् । सबै प्रेम यौन सम्बन्धमा टुङ्गिँदैन । तर कुनै पनि यौन सम्बन्धमा प्रेम छैन भने त्यो यौन सम्बन्ध पीडादायक हुन्छ । जबसम्म व्यक्तिले आफ्नो यौनिकतालाई बुझ्ने, खुसी हुने, रमाउने, आफैं निर्णय गर्ने वातावरण पाउँदैन तबसम्म न उसले साँचो प्रेम गर्न सक्छ न त यौन सम्बन्धमा सन्तुष्टि पाउँछ । ऊ कहिले आफूलाई स्वतन्त्र अनुभुत गर्न सक्दैन । यो जीवनको शाश्वत सत्य हो । त्यसैले अब हामी सबैले यौन, यौनिकता र प्रेमका सम्बन्धमा खुलेर चर्चा गर्दै महिला मुक्ति अनि स्वतन्त्रताको आधार तयार गर्नुपर्ने बेला आएको छ ।

प्रकाशित : वैशाख १९, २०८१ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?