२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

सभामुख बनाउन गिरिजाप्रसादले मिनेट पनि सोच्नुभएन

कृष्णप्रसाद सिटौला

पूर्वराजा ज्ञानेन्द्रले लोकतान्त्रिक व्यवस्था अपहरण गरेपछि तत्कालीन सात राजनीतिक दल प्रतिगमनका विरुद्धमा आन्दोलनरत थिए । राजनीतिक दलका कार्यक्रम तय गर्दा र छलफल हुँदा नेम्वाङजी सधैं एमालेका तर्फबाट प्रतिनिधित्व गर्नुहुन्थ्यो । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालका अत्यन्तै विश्वास पात्र हुनुहुन्थ्यो ।

सभामुख बनाउन गिरिजाप्रसादले मिनेट पनि सोच्नुभएन

प्रतिनिधिसभा पुनःस्थापना र गणतन्त्रको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन सात दलको कार्यदलमा बसेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कांग्रेसका तर्फबाट म र एमालेका तर्फबाट सुवासजी हुनुहुन्थ्यो ।

लोकतान्त्रिक आन्दोलनमा सुवासजीले एमालेका नेताहरूमध्ये सबैभन्दा उत्कृष्ट योगदान गर्नुभएको छ । उहाँलाई सभामुख बनाउने विषयमा निर्णयमा पुग्न मिनेट पनि लागेको थिएन । गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपालका बीचमा यस विषयमा छलफल हुँदा मिनेटमै उहाँको नाममा सहमति जुटेको मलाई स्मरण छ । तत्कालीन एमाले महासचिव नेपालजीले आशय प्रकट गर्नासाथ गिरिजाबाबुले सहजै स्वीकार गर्नुभएको थियो । आन्दोलनका बेला उहाँले निर्वाह गरेको भूमिका गिरिजाप्रसादलाई नजिकबाट जानकारी थियो ।

एमाले पार्टीका नेताहरूमध्येमा उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरा गिरिजाबाबुलाई अनुभूति भइरहेको थियो । गिरिजाबाबुले सुवासजीका बारेमा केही कुरा नै नगरी स्वीकार गर्नुभएको थियो । सात दलको सहमतिमै गिरिजाप्रसादलाई प्रधानमन्त्री र सुवासजीलाई सभामुख बनाउने निर्णय भएको थियो ।

संसद् पुनःस्थापनालगतै उहाँ सभामुख बन्नुभयो र अन्तरिम संविधान जारी भयो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम भयो । पहिलो संविधानसभाको निर्वाचनपछि फेरि उहाँ नै संविधानसभाको अध्यक्ष हुनुभयो । पहिलो संविधानसभाको अन्तिम अर्थात् चौथो वर्षमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा म छोटो समयका लागि मन्त्री भएको थिएँ । करिब एक महिना मन्त्री भएँ । संविधानका धेरै अन्तरवस्तुमा कुरा मिलेको थिएन । राजनीतिक विवाद थियो । त्यसमा सहमति गर्न सकिन्छ कि भनेर कांग्रेस सरकारमा सहभागी भएको थियो । तर, पार लागेन । संविधानसभा विघटन भयो । संविधानसभा विघटन हुँदा सुवासजी मुलुकले संविधान बनाउन सकेन भनेर अत्यन्तै खिन्न हुनुहुन्थ्यो ।

दोस्रोपटक संविधानसभाकै निर्वाचन भयो । त्यसपछि पनि संविधानसभाको अध्यक्ष उहाँ नै बन्नुभयो । म संविधान मस्यौदा समितिको संयोजक थिएँ । हामीहरूले सुरुदेखि नै एक/डेढ वर्षमै संविधान जारी गर्नुपर्छ भनेर छलफल गरेका थियौं । लोकतान्त्रिक मूल्य–मान्यतामा रहेर संविधानका विवादित विषय मिलाउने र छोटो समयभित्रै जारी गर्नुपर्छ भन्नेमा हामीहरू थियौं । मेरो नेतृत्वमा रहेको मस्यौदा समितिले विवाद समाधान समितिमा रहेका शीर्ष नेतासँग बसेर समझदारी जुटाउने काम गर्‍यो ।

मस्यौदा समितिले विधेयक पेस गरेपछि सुवासजीले तत्काल संविधानसभामा राखेर छलफल सुरु गरेपछि मात्रै संविधान जारी गर्ने अवस्थामा पुगिएको हो । २०६२/०६३ को आन्दोलन र संविधान निर्माणताका खेलेको भूमिकालाई केन्द्रमा राखेर मूल्यांकन गर्ने हो भने सुवासजी लोकतन्त्रप्रति, जनताको अधिकारमा सचेत र समर्पित राष्ट्रवादी नेता हो । एमाले मात्रै नभएर सबै राजनीतिक दलभित्र गन्ती गर्दा धेरै थोरै संख्यामा पर्ने इमानदार र राष्ट्रवादी चरित्र बोकेको नेता हो उहाँ ।

-कुराकानीमा आधारित

प्रकाशित : भाद्र २७, २०८० ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?