कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

‘पुरानै खोज्ने कि, नयाँ रोज्ने भन्ने चुनौती मतदातामा व्याप्त देखिन्छ’ 

इलाम — इलामका अगुवा तथा संस्कृतिविद् युद्धप्रसाद वैद्य राजनीतिशास्त्रका प्राध्यापक पनि हुन् । करिब ३२ वर्ष महेन्द्र रत्न क्याम्पस इलाममा पढाएका उनी २०६३ देखि अवकास जीवन बिताइरहेका छन् ।

‘पुरानै खोज्ने कि, नयाँ रोज्ने भन्ने चुनौती मतदातामा व्याप्त देखिन्छ’ 

८ दशक उमेरमा पनि उनी अध्ययन–अनुसन्धानमा अझै सकिय छन् । इलामको इतिहास, संस्कृतिसँगै राजनीतिलाई नजिकबाट बेझेका रैथाने वैद्यले इलाम-२ मा हुन लागेको प्रतिनिधिसभा उपनिर्वाचनलाई नजिकबाट नियालिरहेका छन् । ‘यसपटकको चुनावी माहोल विल्कुल भिन्न छ’, वैद्यको टिप्पणी छ । उपनिर्वाचन भएपनि शीर्ष नेताबीचको भिडन्तकै झल्को दिने यो निर्वाचनका सन्दर्भमा कान्तिपुरका पर्वत पोर्तेलले वैद्यसँग गरेको कुराकानीको सम्पादित अंश :

चुनावी माहोललाई कसरी नियालिरहनु भएको छ ?

माहोल विगतमा भन्दा भिन्नै पाएको छु । चार पार्टीको प्रतिष्पर्धा प्रष्ट देखिन्छ । पहिला यो क्षेत्रका चिरपरिचित प्रतिस्पर्धी कांग्रेस–एमाले थिए । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी थपिएको छ र सँगै पहिचानवादी शक्ति पनि आएको छ । यी सबै कुरा हेर्दा अनुमान लगाउनै कठिन छ । मतदातको मनस्थिति पनि अन्यौलग्रस्त पाएको छु । कुन दललाई चुन्ने भन्ने अन्यौल र चुनौती मतदातामा व्याप्त देखिएको छ ।

पुराना भनिएका दलहरुको अवस्था के देख्नु हुन्छ ? उस्तै छ कि बदलिँदो छ ?

यो क्षेत्र सुवास नेम्वाङले २५ वर्षदेखि जितेको क्षेत्र हो । खासमा इलामका दुवै क्षेत्र एमालेको ‘लालकिल्ला’ नै भन्दा पनि हुन्छ । क्षेत्र नम्बर १ २०४८ देखि निरन्तर झलनाथ खनालले जित्दै आएका छन् । अघिल्लो पटक नेकपा एकीकृत समाजवादीवाट उम्मेदवार बनेपछि मात्रै उनी हारे । उनी हारे पनि त्यो सिट पुनः एमालेकै पोल्टामा परेको छ । २०५१ मा कुलबहादुर गुरुङ र पहिलोपटक मणिकुमार लिम्बु पछि सुवासले जितेको जित्दै आएका थिए ।

तर, अढाई दशकदेखि ‘लाल किल्ला’का मतदाताले के पाए ? विकास पाए कि ? शिक्षा, स्वास्थ्य, खानेपानीको सजह पहुँच भयो कि या युवाले रोजगारी पाए ? त्यो प्रश्न चै विचारणीय छ । यसप्रति भने अब मतदाता साँच्चै सचेत बनेको मैले बुझेको छु ।

यो चुनावले इलामका विकासमा केही भूमिका खेल्न सक्ला ?

व्यक्तिगत रुपमा हेर्दा इलामको विकासमा उपनिर्वाचनले के भूमिका खेल्छ ? हेर्न बाँकी नै छ । नेम्वाङजीले २५ वर्ष देखि निरन्तर जित्दा इलामले के पायो ? त्यो मतदाताहरुलाई ज्ञात भएकै कुरा हो । इलाम-२ मा राम्रो पूर्वाधार पनि aनेको छैन । गाउँ–गाउँ बाटो त छ तर सबै कच्ची छ । जनताले सास्ती बाहेक केही पाएको छैन । झापावाट दुर्गापुर हुँदै इलाम जोड्ने द्रुत मार्ग अलपत्र छ । राँके–रवि–भेडेटार सडकको हविगत उस्तै छ । अरु पनि दर्जनौं सडक, पुलपुलेसो, पैनी नहर जस्ता विकासका काम अलपत्र नै देखिन्छ । यहाँको शिक्षामा पनि आश गरेको जस्तो विकास हुन सकेन । चाहेको विषय पढ्न बाहिरै जानुपर्ने स्थिति छ । कृषि कलेज र प्राविधिक कलेज भएपनि त्यसले विद्यार्थीलाई किन हो आकर्षित गरेको देखिन्न ।

दलहरुप्रति मतदाताको मुख्य आशाचाहिँ के कुरामा हो ?

यो निर्वाचनले इलामलाई नेपाली राजनीतिमा फोकस गरेको छ । काठमाडौंबाट धेरै मान्छेहरु आएका छन् । रास्वपाका रवि लामिछानेदेखि डकेन्द्र सिंह थेगिमका समर्थकहरु दौडिरहेका छन् ।

एउटा आकर्षण चै इलाममा देखिएको छ । तर, प्रतिष्पर्धी दलहरुले इलामलाई भविष्यमा कस्तो बनाउँछन् भन्ने प्रष्ट रोडम्याप मतदाताले खोजिरहेका छन् । तर, दलहरुसँग रोडम्याप त के प्रष्ट रुपको चुनावी घोषणा पत्रै पनि देखिइरहेको छैन । जसले मतदातामा एक किसिमको नैराश्यता देखिएको छ ।

चार दलबीचको प्रतिस्पर्धा कस्तो देखिन्छ ?

राजनीतिक रुपले एमाले पुरानो विरासत जोगाउँदै वर्चश्व राख्न प्रयासरत देखिन्छ । कांग्रेस एमालेको त्यो वर्चश्व खोस्न तम्तयार देखिन्छ । स्वतन्त्र युवामाझ लोकप्रिय छ । जित्छ जित्दैन त्यो अहिले नै भन्न सकिँदैन । गत वर्ष थोरै मात्रै मत ल्याएको थियो । यसपटक मत चाहीँ इज्जतिलै ल्याउँछ । युवा वर्ग बढी आकर्षित छन् । रवि लामिछानेको क्रेजले पनि काम गरेको छ । पहिचानवादीको पनि चर्चा कम छैन । तर, पहिचानको त्यो परिभाषाले अब पुग्दैन । पहिचानको आन्दोलन–अभियानमा एक्लै हिँडेर अब हुँदैन, सबै साथ लागेर हिँड्नुपर्छ ठूलो स्वरमा बोल्न सक्नु पर्छ । इतिहासलाई आधार मान्ने हो भने म लिम्बुवानको नेवार हुँ । म जस्ता नेवारहरुलाई पनि कन्भिन्स गरेर साथै लिएर हिँड्न सक्नु पहिचानवादीका लागि चुनौती हो । तर, डकेन्द्रजी धर्म गुरु आत्मनन्द लिङ्देनको विश्वास पात्र हुनुहुन्छ । विगतमा धर्मगुरुको आर्शिवाद सुवासजीले पाउनु भएको थियो । अब त्यो आर्शिवाद डकेन्द्रजीले पाउने कुरा छर्लङ्गै ।

मतदाताले सुवास नेम्वाङको अभाव कत्तिको महसुस गरिरहेका छन् ?

एमाले सिद्धान्त र विचारवाट चल्ने पार्टी हो । बावुको छोराको रुपमा चल्ने हैन । सुहाङ नेम्वाङको उम्मेदवारीलाई धेरैले वंशवादको रुपमा पनि लिए । त्यो त्यति गलत पनि हैन । एमालेमा एउटा राम्रो पक्ष चाहीँ के छ भने कार्यकर्ताहरु पार्टीप्रति समर्पित छन् । हाइकमान्डको निर्देशनलाई हत्तपत्त लत्याउँदैनन् । तर, अन्य दलमा त्यो ट्रेन्ड ज्यादै कम छ ।

धर्मगुरुप्रति नेताको मोह भोटकै लागि हो ?

जब जब चुनाव नजिकिन थाल्छ धर्मगुरुलाई भेट्न नेताहरुको ताँती लारुम्बातिर सोझिएको देखिन्छ । धर्म गुरुका अघि पछि धेरै अनुयायी छन् । त्यो मत तान्ने धाउन्ने नेताहरुको हो । उनलाई खुसी पारेर आर्शिवाद लिने चलनै छ । विगतमा सुवासले लारुम्बाका गुरुबाट आर्शिवाद लिएकै हुन् । ५ देखि ७ हजार मत छ उनको खल्तीमा । त्यो मत तान्न नयाँ भनिएका दलका नेताहरु सिके राउत, रवि लामिछानेहरु पनि पुरानै नेताको शैलीमा पुगिसके । गुरुको आर्शिवाद ग्रहण गरिसके ।

कांग्रेसभित्र विगतमा हारेका नेतालाई टिकट दिएको भनी असन्तुष्टि पोखिने र मत अन्तै जाने सम्भावना कत्तिको छ ?

टिकट नपाउँदा सबैमा असन्तुष्टि हुन्छ । त्यो व्यक्तिपिच्छे फरक पर्छ । कोही टिकट नपाउँदा जीवनभर रिसाइरहन पनि सक्छ, कोही नरिसाउन पनि सक्छ । तर, केन्द्रीय स्तरबाटै नेताहरु कमाण्डर बनेर आइ असन्तुष्टि मिलाइसकेको भन्ने सुनेको छु । अब त्यो असन्तुष्टिले असर नगर्ला । सायद अर्न्तघात नहोला । बरालिने भोट नेपाली कांग्रेसमा धेरै थियो यसपालि कम हुन्छ जस्तो लाग्छ ।

पुराना दलमाथि नयाँको दबाब कस्तो छ ?

पुरानालाई डर छ । डर भनेको एमालेलाई भन्दा कांग्रेसलाई बढी छ । एमालेका मतदाता अलि कट्टर हुन्छन् । कांग्रेसका खासै हुँदैनन् ।

पहिचानवादी र स्वतन्त्र दुवैले कांग्रेसको मत तान्ने सम्भावना छ । जात, भाषा, संस्कृतिको मुद्दाका कारण पहिचानवादीको मत निर्णायक देखिन्छ । पहिचानवादी भित्र पनि कांग्रेस, एमाले, माओवादी छन् । उनीहरुले पनि हाम्रो भनेर लागेको देखिन्छ ।

यसपटक अधिकांश दलहरुले लिम्बु उम्मेदवार खडा गरे अरुले जित्दैनन् भन्ने बुझाई हो ?

सबैजसो पार्टीले लिम्बु उम्मेदवार चयन गरेका छन् । लिम्बु बाहेकले जित्दैनन् भन्ने धारणा देखिन्छ । मधेश केन्द्रित दल जनमत जसको इलाममा खासै जनलहर छैन, उसले पनि लिम्बु समुदायबाटै उम्मेदवार चयन गर्‍यो । दलहरुले एउटा कुरा चाहिँ के स्वीकारेको देखियो भने यो लिम्बुवान क्षेत्र हो । पहिचानको मुद्दा पेचिलो छ । त्यसैले भोट आए पनि नआएपनि उम्मेदवार चाहिँ लिम्बु समुदायकै उठाइदिउँ भन्ने अवस्था आएको देखिन्छ ।

इलामको उपनिर्वाचनलाई दलहरुले यसपटक किन अलि बढी महत्व दिएका होलान् ?

यसपालि साँच्ची बढी महत्व दिएको देखियो । विगतमा यस्तो अवस्था थिएन । खासमा पुराना पार्टीहरुसँग भिड्न नयाँ पार्टीहरु पनि आएकाले पुरानालाई चुनौती भएको देखिन्छ । त्यसैले पुराना पार्टीहरुले अलि बढी मेहनत गर्नु पर्ने अवस्था भयो । एमाले अध्यक्ष केपी ओली पटकपटक आइसके । कांग्रेसका महामन्त्री गगन थापा पनि आएर गए । विश्वप्रकाश शर्मा त लगभग यतै नै छन् । शशांक कोइराला, शेखर कोइरालाहरु पनि आए । रास्वपाका पनि रवि लामिछाने, स्वर्णीम वाग्ले पटक पटक आउँदै जाँदै गरिरहेका छन् । मन्त्रीदेखि प्रमुख सचेतक पनि आएको देखियो । खासमा दलहरुका लागि यो चुनाव प्रतिष्ठाको लडाईँ पनि भइदियो ।

प्रकाशित : वैशाख ११, २०८१ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?