१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

प्रचण्डजीले गठबन्धन तोड्नु मेरा लागि सरप्राइज, धोका सबैथोक : सिटौला

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअघि नै प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससहितको सत्ता गठबन्धन परिवर्तन गरी एमालेसहितको गठबन्धन गरेपछि कृष्णप्रसाद सिटौला एकाएक ‘यु टर्न’ भएका छन् । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा अध्यक्षमा ल्याउने तयारीसहित कोशी प्रदेशबाट गठबन्धनका साझा उम्मेदवार बनाइएका थिए ।

प्रचण्डजीले गठबन्धन तोड्नु मेरा लागि सरप्राइज, धोका सबैथोक : सिटौला

सिटौलाले उक्त निर्वाचनमा विजय हात पार्दै राष्ट्रिय सभामा ‘इन्ट्री’ मारे पनि अध्यक्ष बन्ने आकांक्षा भने पूरा नहुने भएको छ । उनले आइतबार प्रधानमन्त्री दाहाललाई भेटेर असन्तुष्टिसमेत पोखेका छन् । यसै सन्दर्भमा सिटौलासँग कान्तिपुरले गरेको कुराकानी :

आज प्रधानमन्त्रीलाई भेटेर के कुरा राख्नुभयो ?

प्रचण्डजीले गठबन्धन तोड्ने कुरा मेरा लागि सरप्राइज, धोका सबैथोक थियो । म र पूर्णबहादुर खड्काजीले फागुन १७ मा उहाँलाई भेटेका थियौं । फागुन २० मा पनि भेट्ने तय भएको थियो । त्यसपछि धार्मिक कार्यक्रममा सहभागी हुन म बाहिर गएँ । फागुन २१ मा बिहान पूर्णजी र म भेट्न गयौं, उहाँले धेरै चिज बिग्रियो भन्नुभयो । ९९ सय प्रतिशत बिग्रिसक्यो, एक प्रतिशत जति बाँकी छ, सचिवालयमा सल्लाह गरेर खबर गरौंला भन्नुभयो तर गर्नुभएन । एकैचोटि मन्त्रिपरिषद् पुनर्गठनको खबर आयो । अचम्म लाग्यो ।

यही गर्नु थियो भने मैले अर्को बाटो लिने भएँ भनेर गठबन्धनका साथीहरूलाई भन्नुपर्थ्यो । आज (आइतबार) प्रधानमन्त्रीलाई भेटेर आफ्नो कुरा राखौं भनेर शेरबहादुरजीसँग सल्लाह गरेरै गएका हौं । हामीले (गगन थापा, रमेश लेखक) किन यस्तो गर्नुभयो, कुनै दिन तपाईंलाई गल्ती गरेछु भनेर पश्चाताप मान्ने दिन आउला भन्यौं ।

तपाईंले गठबन्धन तोडेकामा प्रधानमन्त्रीलाई अलि चेतावनी नै दिनुभएको हो ?

म र मेरो पार्टीका लागि प्रचण्डजीसँगको फाइनल कुरा सुन्न गएको हो । राजनीतिमा यस्तो धोकाधडी हुन्छ ? तपार्इंले धोकाधडी सुरु गर्नुभयो भनेर मैले नै त्यहाँ भनेको हो । उहाँले साथीहरूले मानेनन् लगायत झिनामसिना कुरा निकाल्न थाल्नुभयो । हामी धेरै कुरा गर्न वा केही माग्न गएका थिएनौं, केबल तपाईंले कांग्रेसलाई धोका दिनुभयो, कम्तीमा साथीहरूलाई भनेर गर्नुपर्थ्यो भन्न गएका हौं । हाम्रोतर्फबाट कुनै धाक, धम्की केही होइन, धोकाधडीको राजनीतिले देश बन्दैन भन्ने कुरा राखेका हौं ।

अब माओवादीसँगको सम्बन्धमा बिट मार्नु भएको हो ?

अहिलेलाई हो । गठबन्धनबाट नयाँ सरकार बन्यो । अब हामी राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैतिर रचनात्मक प्रतिपक्षको भूमिका निर्बाह गर्छौं ।

माओवादीलाई बारम्बार धोका दियो भन्नुभयो, यो राजनीतिक दलहरूबीच द्वन्द्व बढ्ने संकेत हो ?

अहिल्यै नै यस्तो विश्लेषण गर्नु उपयुक्त हुँदैन । यी सब भोलिका दिनमा संसद्भित्र कसरी अभ्यास हुन्छ, कसरी सरकार प्रस्तुत हुन्छ ? प्रधानमन्त्रीजी कसरी प्रस्तुत हुनुहुन्छ ? उहाँहरूको नीति, योजना र कार्यक्रम कस्तो आउँछ ? राजनीतिक व्यवहार कस्तो हुन्छ ? प्रधानमन्त्रीले देश र जनताको हितमा काम गर्नुहुन्छ कि आफ्नो स्वार्थमा, त्यसको मूल्यांकनको आधारमा राजनीतिक सम्बन्ध विकास हुने हो । त्यसैको आधारमा हामी सहयोग वा विरोध गर्छौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले तपाईंलाई राष्ट्रिय सभाको अध्यक्षमा समर्थन गर्छौं भन्नुभएको हो ?

प्रचण्ड र शेरबहादुरजी दुवैले सिटौलाजी आउनुपर्‍यो, अध्यक्ष बन्नुपर्‍यो भनेर निकै अगाडि भन्नुभएको थियो । पछिल्ला दिनमा सामूहिक रूपमा र एक्लाएक्लै भेटेरसमेत भन्नुभएको हो । बरु, म आफैं राष्ट्रिय सभामा आउने कि नआउने द्विविधामा थिएँ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनको मुखमा उहाँहरूले फेरि भन्नुभयो । मेरो पार्टीमा सर्वसम्मतिबाट हुन्छ भने मात्रै म तयार हुन्छु, नत्र हुन्न भनेर मैले आफ्नो सभापतिलाई भनें । पार्टीमा विवाद थियो । तर, मेरो हकमा सभापतिले सर्वसम्मत गराउनुभयो । सभापति, शेखर कोइराला, पदाधिकारी सबैले मान्नुभयो । तर, राजनीतिमा प्रचण्डजीले जुन चरित्र देखाउनुभएको छ, त्यसमा मलाई गम्भीर आपत्ति लागेको छ र दुःख पनि लागेको छ ।

राष्ट्रिय सभा अध्यक्षको यो लडाइँ संवैधानिक परिषद्को सदस्य हुने स्वार्थ मात्रै हो ?

अरू त के होला र ? एउटा संवैधानिक परिषद्को सदस्यले के नै गर्न सक्थ्यो र ? दुई/चार जना मान्छे नियुक्ति गर्थ्यो होला । अरू केही हुन्थेन । मुख्य कुरा राजनीतिमा लोकतन्त्र, पारदर्शिता, जबाफदेहिता र इमानदारिता मूलभूत तत्त्व हुन् ।

दलहरूप्रति इमानदार नहुने नेता जनताप्रति कति इमानदार हुन सक्लान् ? प्रश्न खडा भएको छ । शीर्ष स्तरमा भएका कुरामा पनि विश्वास हुँदैन भने जनताको हितमा कति काम हुन सक्ला । अहिले एकजना प्रचण्डजीले गर्नुभयो भनेर मात्रै होइन । समग्र प्रश्न हामीमाथि उठ्छ । व्यवस्थामाथि जनताको आस्था र विश्वास घट्छ । मनोबल गिर्छ । अहिले मलाई दिएनन् भन्ने सरोकारको विषय होइन, गठबन्धनको सरकार तोड्दा जुन धोकाधडी देखियो, त्यसले जनतामा राम्रो सन्देश दिएको छैन ।

प्रधानमन्त्रीले त राष्ट्रिय सभा अध्यक्षकै कारण चाँडै गठबन्धन तोड्नुपरेको हो भनेर पार्टीको आन्तरिक बैठकमा भनेका छन् नि ?

म र पूर्णजीले प्रचण्डजीलाई भेटेरै राष्ट्रिय सभाको अध्यक्ष लिनुहोस् तर गठबन्धन नतोड्नुहोस् भनेका हौं । अध्यक्षमा मलाई त्यस्तो लालसा छैन भनेको हो । मेरो व्यक्तिगत गुनासो होला, यसलाई छोडिदिनुहोस्, राजनीतिमा यसको कुनै अर्थ हुँदैन । तर, गठबन्धन नतोड्नुहोस्, सोच्नुहोस् भनेकै हो । पाँच वर्ष यही गठबन्धन जान्छ भनेर उहाँ आफैं र माओवादीका नेताहरूले सार्वजनिक रूपमा बोल्नु भएको हो । सार्वजनिक रूपमा बोलेको कुरामै पछि हट्नुभयो भने भोलि बोल्ने कुरा पूरा होलान् भनेर कसरी विश्वास गर्ने ?

तपाईंहरूको विचारमा प्रधानमन्त्रीले किन गठबन्धन तोड्नुभयो होला ?

त्यो बुझिएन, उहाँलाई के लाग्यो, किन जानुभयो बुझ्न सकिएको छैन ।

तपाईंहरूसँग बस्दा आफू प्रधानमन्त्री हुने कार्यकाल सकिन लागेको थियो, त्यही भएर एमालेसँग जानुभएको भन्ने पनि छ नि ?

त्यस्तो कुरा शेरबहादुरजीसँग भएको हो कि भनेर हामीले सोध्यौं । तर, केही भएको छैन भन्नुहुन्छ । पूर्णजी हाम्रो नेता भएर सरकारमा गएको हो, उहाँले पनि केही भनिएको छैन भन्नुहुन्छ ।

एक वर्ष कार्यकाल बढाउने कुरा पनि तपाईंहरूले राख्नुभएको थियो ?

मैले होइन । पूर्णजीले राख्नुभएको होला । तर, गठबन्धन नतोड्नुहोस्, राष्ट्रिय सभाको अध्यक्ष लिनुहोस्, हामी खुसीले सघाउँछौं भनेका हौं ।

प्रकाशित : फाल्गुन २८, २०८० ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?