कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ईसीडी शिक्षा सुधारबारे आन्दोलनरत चापागाईं र शिक्षामन्त्री श्रेष्ठबीचको वार्ता निर्ष्कषविहीन

काठमाडौँ — प्रारम्भिक बालविकास शिक्षा (ईसीडी) सुधारको माग राख्दै १० दिनदेखि माइतीघर मण्डलामा उभिएका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं र शिक्षामन्त्री सुमना श्रेष्ठबीच शुक्रबार शिक्षा मन्त्रालयमा भएको वार्ता निर्ष्कषविहीन बनेको छ ।

ईसीडी शिक्षा सुधारबारे आन्दोलनरत चापागाईं र शिक्षामन्त्री श्रेष्ठबीचको वार्ता निर्ष्कषविहीन

चापागाईंले शुक्रबारमात्रै मन्त्री श्रेष्ठलाई पत्राचार गर्दै आफ्ना मागहरुबारे ध्यानाकर्षण गराएका थिए । लगत्तै मन्त्री श्रेष्ठले वार्ताका लागि सिंहदरबार बोलाएकी थिइन् ।

माइतीघरमा उभिने समयमै सिंहदरबार पुगेका चापगाईंले मन्त्रीको कार्यकक्षमा भएको वार्ता समेत उभिएरै गरेका थिए । वार्तामा बोलाएपनि मन्त्री श्रेष्ठ मुद्दालाई सम्बोधन गर्न सकारात्मक नदेखिएको चापागाईं पक्षको आरोप छ ।

चापागाईं १० दिनदेखि माइतीघरमा बिहान १० बजे देखि ५ बजेसम्म ईसीडी शिक्षा सुधारका लागि भन्दै उभिएर आन्दोलन गर्दै आएका छन् । ईसीडी शिक्षा सुधारका लागि सरकारी प्रतिबद्दता नआएसम्म दबाबमूलक रुपमा उभिने उनले बताउँदै आएका छन् । १० दिन देखि लगातर ८ घण्टाको दरले घाममा उभिँदा उनको खुट्टा सुनिने लगायत स्वास्थ्य समस्या देखिन थालेको छ ।

समाजवादी विद्यार्थी युनियनका महासचिव टंक धमलाले शिक्षामन्त्रीले वार्तामा बोलाएर अलमल्याउन मात्रै खोजेको र मुद्दामा धेरै सकारात्मक नरहेको पाइएको बताए । 'उहाँ मुद्दामा धेरै सकारात्मक भएको देखिएन । शिक्षकले १० हजार रुपैयाँमा काम गर्न बाध्य छन् । कम्तिमा सरकारले तोकेको न्यूनतम पारश्रमिक लागू गर्ने विषयमा समेत मन्त्रीज्यू सकारात्मक देखिनुभएन,' उनले भने, 'उहाँले ठोस् ढंगले समाधान गर्ने विषयमा सकारात्मक देखिएको जस्तो लागेन ।'

चापागाईंले शुक्रबार शिक्षामन्त्री सुमना श्रेष्ठलाई पत्र लेखेका थिए । शिक्षामन्त्रीले ईसीडी शिक्षा सुधारको मागमा बेवास्ता गरेको उनको भनाइ छ । उभिन थालेको ५ औं दिन शिक्षामन्त्री भेट्न आएपनि त्यसपछि मागमा बेवास्ता गरेको चापागाईंले लेखेको पत्रमा उल्लेख छ ।

उनका मागमा अन्य राजनीतिक दल सम्बद्ध विद्यार्थी संघ संगठन, ईसिडी शिक्षक र डा. बावुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले पनि ऐक्यबद्दता जनाएका थिए ।

चापागाईंले सरकारसामु ६ बुदें माग समेत अघि सारेका छन् । ईसीडीका बालबालिकालाई दिने दिवा खाजाको रकमवृद्धि गर्नुपर्ने, ईसीडी शिक्षकको शैक्षिक योग्यता र मासिक पारिश्रमिक वृद्धि गर्नुपर्ने, सामुदायिक र निजी विद्यालयमा सञ्चालित ईसीडी कक्षामा एकरुपता कायम गर्नुपर्ने, ईसीडी शिक्षकको दरबन्दी कायम गरिनुपर्ने लगायतका माग अघि सारिएको छ ।

शिक्षा मन्त्रालयले भने उनको मागमा अर्थ मन्त्रालय सहमत नभएसम्म पूरा गर्न नसकिने जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८१ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?