कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

नन्दादेवी कर्णलीकै नमूना विद्यालय

कालीकोट — सशस्त्र द्धन्द्धमा हिंसाको दोहोरो मारमा परेको कालीकोटको कोटवाडास्थित नन्दादेवी मावि कर्णाली प्रदेशकै नमूना विद्यालयकोरुपमा छनोट भएको छ । सार्वजनिक शिक्षा सुधार सम्बन्धी एक जिल्ला एक नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण तथा शिक्षण सिकाइ सुधार र शिक्षकको पेशागत सहयोग कार्यविधि २०८० अनुसार जिल्लाका ६४ वटा माविमध्ये उत्कृष्ठ बन्दै प्रदेशको नमूना विद्यालयका रुपमा छनोट भएको हो ।

नन्दादेवी कर्णलीकै नमूना विद्यालय

जिल्लाका सबैजसो विद्यालयले नमूनाका लागि आवेदन दिएका थिए । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख प्रकाशचन्द्र धितालले भने, 'स्थलगत अनुगमनको प्रतिवेदनका आधारमा सामाजिक विकास मन्त्रालयले कोटवाडाको नन्दादेवी माविलाई छनोट गर्‍यो ।'

उनले कोटवाडामा विद्यार्थी उपस्थिति, भौतिक तथा शैक्षिक गतिविधि र सिकाइ उपलब्धि, विद्यालय ब्यवस्थापन समिति, शिक्षक सक्रियता, अभिभावकको अपनत्वलगायतका पक्षमा राम्रो रहेको बताए ।

सामाजिक विकास मन्त्रालयले गत कात्तिक र मंसिरमा सार्वजनिक सूचनामार्फत् प्रदेशका सबै विद्यालयबाट आवेदन माग गरेको थियो भने गत चैत्र ५ गते मन्त्रिस्तरीय निर्णयबाट कर्णाली प्रदेशभरका १३ वटा विद्यालयलाई नमूना विद्यालय छनोट भएका छन् ।

कालीकोटको नन्दादेवीसहित सुर्खेतको आर्दश मावि लेकफर्सा, दैलेखको जनज्योति मावि राकम, डोल्पाको सरस्वती मावि दुनै, जुम्लाको कनकासुन्दरी मावि लुड्कु, मुगुको नेपाल राष्टिय आवासीय मावि ताखा, हुम्लाको सल्लाघारी मावि अदानचुली, जाजरकोटको नारायणी मावि कार्कीगाउँ र इन्द्रज्योति मावि थालारैकर, सल्लानका नेपाल राष्टिय मावि किमुचौर र जनज्योति मावि दार्मा र रुकुमपश्चिमको शितल मावि नयाँ बजार र यमुना नन्द मावि सेरिगाउँ छनोटमा परेको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले जानकारी दिइन् ।

मन्त्रालयले विभिन्न सूचकहरुका आधारमा विद्यालयको मूल्यांकन गरेर छनोट गरिएको जानकारी दिँदै नमूना विद्यालयमा थप भौतिक पूर्वाधार र शिक्षण सिकाई सुधारका लागि कार्यक्रम आउने बताइन् ।

सशस्त्र द्धन्द्धको बेला दोहोरो हिंसामा परेको कालीकोटको नन्दादेवी मावि पछिल्लो समइमा जिल्लाकै नमूना विद्यालयकोरुपमा चिनिन थालेकोले गर्व लागेको नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर विष्टले बताए । उनकाअनुसार नन्दादेवी माविको आधारभूत तहको शिक्षण सिकाइ, भौतिक पूर्वाधार तथा ब्यवस्थापन पक्ष सुर्धान प्लानलगायतका संघसंस्थाको सहयोगले पनि विद्यालय नमूना छनोट हुन सफल भएको हो ।

विद्यालयमा बनेका लैगिंक तथा अपांग मैत्री शौचालय, बालमैत्री धारा, कक्षा कोठा ब्यवस्थापन जिल्लामै उत्कृष्ट भएको उनको दाबी छ । सशस्त्र द्धन्द्धमा दोहोरो डरत्रासले भर्ना भएर पनि विद्यालय नआउने समस्या अचेल छैन । प्रधानाध्यापक रत्नसिंह सावदले भने, 'शिक्षक, विद्यार्थीको नियमितताले विद्यालय नमूना बनाउन सकेका छौँ ।'

नन्दादेवी माविले प्रत्येक दिन साढे नौ बजे नै प्रार्थना सभा सुरु गरेर संगीतमार्फत् कवाज खेलाउने र विद्यार्थीलाई दिनभरी गर्ने क्रियाकलापको जिम्मेवारी बाडफाड गर्ने अभ्यास रहेको सहायक प्रधानाध्यापक धनकृष्ण पाण्डेले बताए । बालविकास केन्द्रदेखि १२ कक्षासम्म ६ सय ३४ जना विद्यार्थी रहेको नन्दादेवी मावि नरहरिनाथ गाउँपालिकाको सबैभन्दा पुरानो विद्यालय हो ।

सशस्त्र द्धन्द्धमा पठनपाठनको वातावरण नभए पनि त्यस यता शैक्षिक हबको रुपमा विकास भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण भण्डाराले बताए । पहिले त विद्यालय परेड खेल्ने ठाउ थियो । उनले भने अशान्तिको बेला के को पढाई ? शान्तिपछि विद्यालयमा पठनपाठन राम्रो भएको सुनाउदै विद्यालयले शैक्षिक, भौतिक र ब्यवस्थापन पक्ष सुधार गरेको छ ।

उनले विद्यालय सेवा क्षेत्रमा कक्षा १ देखि ३ सम्मका बालबालिकालाई लक्षित गरी ३ वटा सिकाइ केन्द्र स्थापना भएर पठनपाठन हुन थालेपछि सानो कक्षामा पनि विद्यार्थी नियमिततामा सुधार आएको सुनाए । नन्दादेवी मावि नरहरिनाथकै अपांगता भएका बालबालिकाको लागि पढाई हुने विशेष विद्यालय पनि हो ।

विद्यालयमा महिनावारीको बेला छात्रा नियमित गर्न आराम गर्ने बेडसहितको विद्यालयमै महिनावारी स्वच्छता कक्ष छ । 'महिनावारी भएको बेला पनि विद्यालय आउँछौँ,' कक्षा-९ की छात्रा दर्पना विष्टले भनिन्, 'प्याड फेर्न र पेट दुखेको बेला आराम कक्षमा बस्छौँ ।'

उनले पहिले महिनावारी हुँदा ५ दिनसम्म विद्यालय नआउने सबै छात्रा अचेल नियमित आउने गरेको सुनाइन् । नन्दादेवी मावि पालिकाकै नमूना विद्यालयकोरुपमा विकास भएको गाउँपालिका शिक्षा, यूवा तथा खेलकूद शाखा प्रमुख दुर्गलाल न्यौपानेले बताए ।

प्रकाशित : चैत्र १९, २०८० १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?