कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

त्रिवि पनिकाको वेबसाइट एक सातादेखि अवरुद्ध

माघ १५ गते त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन आवेदनबाटै शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेको थियो त्यही दिन देखि वेवसाइट ह्याक भएपछि अवरुद्ध छ ।
सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुको वेबसाइट एकसातादेखि अवरुद्ध छ । कार्यालयले अनलाइन आवेदनबाट विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेलगत्तै वेबसाइट ह्याक भएर अवरुद्ध बनेको हो ।

त्रिवि पनिकाको वेबसाइट एक सातादेखि अवरुद्ध

निमित्त उपकुलपति शिवलाल भुसालले माघ १५ गते अनलाइन सेवाको प्रारम्भ गरेका थिए । सोही दिन रातिदेखि वेबसाइट ह्याक भएको कर्मचारीहरुले बताए ।

विद्यालयमा पढ्ने एक छात्रले कमजोर सुरक्षा प्रणाली रहेको वेबसाइट ह्याक गरेको स्वीकार गरेका छन् । पनिकाको वेबसाइटबाट अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । ट्रान्सक्रिप्ट, प्रोभिजनल, मूल प्रमाणपत्र, पुनर्योग र त्रुटि सुधारका लागि अनलाइनबाटै आवेदन दिन सकिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताएका थिए । पनिकाको ढिलासुस्तीप्रति त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियनले चरणबद्ध आन्दोलन गर्दै आएको थियो । विद्यार्थीले दैनिक कार्यालयमा धर्ना दिन थालेपछि अनलाइन सेवा सुरु गर्ने प्रतिबद्धता घोषणा गरेको थियो ।

स्ववियू सभापति श्यामराज ओझाले गत साताभित्र उपकुलपतिले वेबसाइट पुनःसञ्चालनको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए पनि पूरा नभएको जनाए । ‘निजी आइटी कम्पनीमार्फत वेबसाइट सञ्चालन गरिएको थियो । हामीले त्रिविले आफ्नै आइटीबाट सञ्चालन गर्न नसकेसम्म यस्ता समस्या आउँछ भनेका छौं,’ उनले भने, ‘उपकुलपतिलगायत पदाधिकारी र परीक्षा नियन्त्रकले गम्भिरतापूर्वक सुझाव नलिँदा विद्यार्थीले दुःख पाएका छन् ।’ वेबसाइटमा अनधिकृत प्रवेश गरेर ह्याक गर्दा हजारौं विद्यार्थीको डाटा दुरुपयोग हुने जोखिमसमेत बढेको उनले औंल्याए । ‘साधारण चटपट पसलमा क्युआर स्क्यान गरेर पैसा तिर्न पाइन्छ । विश्वविद्यालयमा शुल्क बुझाउन घण्टौ लाइनमा बस्नुपर्छ,’ उनले भने । उपकुलपति र परीक्षा नियन्त्रकले वेबसाइट ह्याक हुनु सामान्य भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको प्रति विद्यार्थीले आपत्तिसमेत जनाएका छन् ।

‘टियुएक्जाम डट इडियु डट एपी’ मा लगइन गरी प्राप्त निर्देशनअनुसार विद्यार्थीले आवेदन दिनसक्ने कार्यालयद्वारा माघ १५ गते जारी विज्ञप्तिमा उल्लेख छ । तर आइतबारसम्म उक्त साइट खुल्दैन । पनिकाका कर्मचारीले वेबसाइट मर्मतकै चरणमा रहेको जनाए । अनलाइन आवेदन फाराममा विवरण र प्रमाणहरु पेस गरेपछि अनलाइन बैंकिङबाटै प्रमाणपत्र बापत लाग्ने शुल्कसमेत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको पनिकाले घोषणा गरेको छ । अनलाइन फाराम २४ सै घण्टा उपलब्ध हुने व्यवस्था गरिने जोशीले बताए । ‘अनलाइन आवेदनको रुजु कार्यालय समयभित्र कर्मचारीले गरी ठीक भए ठीक छ र नभएको खण्डमा निर्देशनसहित आवेदकलाई जनकारी पठाइन्छ,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवेदकले निर्देशनबमोजिम विवरण पेस खण्डमा पुनः प्रक्रियामा संलग्न हुन्छ ।’

कुनै विवरण सच्याउन पर्ने भए समेत त्यसको जानकारी आवेदकलाई पठाउने व्यवस्था गरिएको छ । आवेदकले पाउने सेवाको प्रत्येक चरणको जानकारी समेत दिने व्यवस्था गरिएको जोशीले बताए । विद्यार्थीको प्रमाणपत्र तयार भएपछि तोकिएको स्थानबाट संकलन गर्न समेत सूचना प्रवाह हुने कार्यालयले जनाएको छ ।

केन्द्रीय कार्यालय र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुबाट समेत प्रमाणपत्र संकलन गर्न सक्ने जनाइएको छ । आवदेकले अनलाइन फाराम भरेको एकसाताभित्र प्रमाणपत्र उपलब्ध गराइसक्ने प्रतिबद्धतासमेत परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । अहिलेसम्म ७७ जिल्लाका विद्यार्थी शैक्षिक तह उत्तीर्ण गरेपछि प्रमाणपत्र लिन केन्द्रीय कार्यालय नै धाउनु पर्ने बाध्यता छ भने प्रमाणपत्र प्राप्त गर्न ७ देखि १५ दिनभन्दा बढी लाग्ने विद्यार्थीले गुनासो गर्दै आएका छन् ।

केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवाबाट शैक्षिक प्रमाणपत्र वितरणको काम हुने विज्ञप्तिमा उल्लेख छ । पूर्ण अनलाइन सेवा सञ्चालन पुनः सूचना प्रकाशित गरी जानकारी दिने जोशीले जनाए । वैशाखदेखि पूर्ण अनलाइन प्रणालीमा जाने पनिकाले घोषणा गरेको छ । निकट भविष्यमा विद्यार्थीले अध्ययन गरेकै क्याम्पसमा अनलाइन आवेदनको आधारमा प्रमाणपत्र उपलब्ध गराइने प्रतिबद्धतासमेत कार्यालयले जनाएको छ ।

परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत कार्यालयले ढिलाई गर्दै आएको छ । परीक्षा सकिएको १८ महिनापछि मात्र विद्यार्थीले नतिजा प्राप्त गरेका थिए । सम्झौताभन्दा पनि कार्यान्वयनको माग राख्दै आन्दोलन गरेपछि कार्यालयले अनलाइन सेवा सुरु गर्ने घोषणा गरेको स्ववियु सभापति ओझाले जनाए । अनलाइन सेवा भरपर्दो र दिगो हुनुपर्ने विद्यार्थीले माग गरेका छन् ।

प्रकाशित : माघ २१, २०८० १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×