जमाल खसोग्गी हत्या प्रकरण : ‘सीसीटीभी फुटेज सार्वजनिक गर’ 

आश्विन २६, २०७५

एजेन्सी

इस्तानबुल — टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले साउदी अरबसँग पत्रकार तथा लेखक जमाल खसोग्गीले इस्तानबुलस्थित कन्सुलेट कार्यालयबाट बाहिरिएको पुष्टि गर्ने दृश्य सार्वजनिक गर्न माग गरेको छ । 

इर्दोगानले ‘कन्सुलेट कार्यालयमा भएको प्रविधिले चरा उडेको वा मच्छड घुमेको समेत देखिने’ दाबी गर्दै दृश्य सार्वजनिक गर्न माग गरेका हुन् । उनी टर्कीस्थित साउदी कन्सुलेट कार्यालयबाट गत २ अक्टोबरदेखि बेपत्ता छन् ।


साउदी अरबले उनी कार्यलयबाट त्यसै दिन बाहिरिएको बताउँदै आएको छ । इर्दोगानले कार्यालयमा भएका सीसीटीभी दृश्य सार्वजनिक गर्न माग गरेको टर्कीको दैनिक अखबार हुरियतले उल्लेख गरेको छ । ‘हामीले यसबारे अनुसन्धान गरिरहेका छौं,’ उनले बिहीबार भने, ‘हाम्रो भूमिमा भएको यसप्रकारको घटनामा हामी चुप बस्न सक्दैनौं ।’ 


टर्कीले खसोग्गीको कन्सुलेट कार्यालय परिसरमा हत्या गरिएको दाबी गर्दै आएको छ । तर साउदी अरबले भने उक्त आरोप अस्वीकार गर्छ । 


यसअघि, खसोग्गीको हत्यामा साउदी सरकार संलग्न रहेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको पनि दाबी छ । न्यूयोर्क टाइम्समा प्रकाशित समाचारमा खसोग्गीको हत्या गर्न साउदीले आक्रमणकारी दस्ता खटाएको उल्लेख छ । 


अमेरिका तथा बेलायतले खसोग्गी घटनाको पारदर्शी अनुसन्धानका लागि साउदी अरबलाई दबाब दिएका छन् । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार घटनाको अनुसन्धान गर्न साउदी अरब तयार रहे एफबीआई टिम पठाउने बताएका थिए ।


साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खसोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए ।


यसअघि खसोग्गी साउदी राजपरिवारका सल्लाहकारका रूपमा समेत कार्य गरेका थिए । तर साउदी अरबमा प्रेस स्वतन्त्रतामा कडाइ गरिएपछि एक वर्षअघि उनले देश छाडेका थिए । 

एजेन्सी

Link copied successfully