जमाल खसोग्गी हत्या प्रकरण : ‘सीसीटीभी फुटेज सार्वजनिक गर’ - विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जमाल खसोग्गी हत्या प्रकरण : ‘सीसीटीभी फुटेज सार्वजनिक गर’ 

एजेन्सी

इस्तानबुल — टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले साउदी अरबसँग पत्रकार तथा लेखक जमाल खसोग्गीले इस्तानबुलस्थित कन्सुलेट कार्यालयबाट बाहिरिएको पुष्टि गर्ने दृश्य सार्वजनिक गर्न माग गरेको छ । 

जमाल खसोग्गीको हत्याबारे छानबिनको माग गर्दै टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको कन्सुलेट कार्यालयअगाडि गरिएको विरोध ।

इर्दोगानले ‘कन्सुलेट कार्यालयमा भएको प्रविधिले चरा उडेको वा मच्छड घुमेको समेत देखिने’ दाबी गर्दै दृश्य सार्वजनिक गर्न माग गरेका हुन् । उनी टर्कीस्थित साउदी कन्सुलेट कार्यालयबाट गत २ अक्टोबरदेखि बेपत्ता छन् ।


साउदी अरबले उनी कार्यलयबाट त्यसै दिन बाहिरिएको बताउँदै आएको छ । इर्दोगानले कार्यालयमा भएका सीसीटीभी दृश्य सार्वजनिक गर्न माग गरेको टर्कीको दैनिक अखबार हुरियतले उल्लेख गरेको छ । ‘हामीले यसबारे अनुसन्धान गरिरहेका छौं,’ उनले बिहीबार भने, ‘हाम्रो भूमिमा भएको यसप्रकारको घटनामा हामी चुप बस्न सक्दैनौं ।’


टर्कीले खसोग्गीको कन्सुलेट कार्यालय परिसरमा हत्या गरिएको दाबी गर्दै आएको छ । तर साउदी अरबले भने उक्त आरोप अस्वीकार गर्छ ।


यसअघि, खसोग्गीको हत्यामा साउदी सरकार संलग्न रहेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको पनि दाबी छ । न्यूयोर्क टाइम्समा प्रकाशित समाचारमा खसोग्गीको हत्या गर्न साउदीले आक्रमणकारी दस्ता खटाएको उल्लेख छ ।


अमेरिका तथा बेलायतले खसोग्गी घटनाको पारदर्शी अनुसन्धानका लागि साउदी अरबलाई दबाब दिएका छन् । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार घटनाको अनुसन्धान गर्न साउदी अरब तयार रहे एफबीआई टिम पठाउने बताएका थिए ।


साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खसोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए ।


यसअघि खसोग्गी साउदी राजपरिवारका सल्लाहकारका रूपमा समेत कार्य गरेका थिए । तर साउदी अरबमा प्रेस स्वतन्त्रतामा कडाइ गरिएपछि एक वर्षअघि उनले देश छाडेका थिए ।

प्रकाशित : आश्विन २६, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

भोजपत्रमा चण्डी

सुनीता साखकर्मी

काठमाडौँ — ‘ममी, यसमा के लेखेको पढेर सुनाउनुस् न,’ भोजपत्रमा लेखिएको सूक्ष्माक्षरको ‘चण्डी’ तिर देखाउँदै आठवर्षे एनिज अभ्युदयले सोधेपछि आमा श्वेता अकमकिइन् । निकैबेर घोरिएर हेरेपछि उनले जवाफ दिइन्, ‘यो कुन लिपिमा लेखिएको नै थाहा भएन, पढ्नै गाह्रो भो ।’ 

राष्ट्रिय अभिलेखालयमा शुक्रबारसम्म चल्ने फोटो प्रदर्शनीमा राखिएका ऐतिहासिक कागजात ।

श्वेता मात्रै होइन, राष्ट्रिय अभिलेखालयको पाँच नम्बरको कोठामा जारी फोटो प्रदर्शनीमा भेटिएका अधिकांश यस्तै अन्योलमा परे । अभिलेखालयमा पुराना अभिलेखका अंशहरूको फोटोहरू प्रदर्शनीमा राखिएको छ । पेसाले अधिवक्ता श्वेता आफ्नो कक्षा २ मा पढ्ने छोरा लिएर आएकी थिइन् । ‘कुनै नेपालीजस्तो, कुनै संस्कृत जस्तो, कुनै त बुझदै नबुझिने,’ श्वेताले भनिन्, ‘यसमा केही महत्त्वपूर्ण कुरा लेखिएको होला तर पढ्नै आएन ।’ देशको इतिहास यिनीहरूमै लेखिएको हुनसक्ने उल्लेख गर्दै उनले यो लिपि पढ्न नआउनु विडम्बना भएको सुनाइन् ।


बीचबाट सुरु गरी गोलाकार रूपमा लेखिएको चण्डीको अक्षर यति सूक्ष्म थियो कि, यो पढ्न जो कोहीलाई गाह्रो हुन्थ्यो । यसमा लेखिएको लिपि पनि कुन हो भन्ने खुलेको थिएन । पढ्न नआए पनि ती फोटाहरूमुनि लेखिएको जानकारी श्वेताले छोरालाई सुनाउँदै गइन् । प्रदर्शनीमा राखिएका लिपिहरू अहिले प्रचलनमा नभएको कारण पनि यो समस्या आएको श्वेतालाई लाग्छ । आफूलाई पढ्न नआएपछि यसमा के लेखिएको रहेछ भनेर अन्य भाषाविद् एवं संस्कृतिविद्मा भर पर्नुपर्ने उनले बताइन् ।

‘आफैंले पढ्न जानेको भए अरूको भर पर्नै पर्दैनथ्यो,’ श्वेताले भनिन्, ‘अरूले व्याख्या गर्दा ऐतिहासिक, धार्मिक कुराहरूलाई अपव्याख्या पनि गरेको हुनसक्छ । आफैंले पढ्दा जति बुझिन्थ्यो, अरूको भर पर्दा अरूको अनुसार हामी चल्छौं ।’ पुराना लिपिहरू जान्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘लिपि जान्दैमा नराम्रो हुन्न ।’

तिलगंगाका रोशन पासवान पनि प्रदर्शनीमा भेटिए । सूचना प्रविधि विज्ञानतर्फ स्नातक तहमा अध्ययन गरिरहेका उनलाई अभिलेखमा लेखिएको फन्टले आकर्षित गर्‍यो ।


‘पहिले अ पनि अर्कै तरिकाले लेखिँदो रैछ,’ उनले भने, ‘पहिलेको टाइपिङ र फन्टहरू कस्तो भिन्नै रैछन् † अहिलेकोमा यस्तो छैन ।’

राष्ट्रिय अभिलेखालयमा प्राप्त कागजमा लेखिएको ग्रन्थमध्ये सबैभन्दा पुरानो काश्मीरतिर प्रचलनमा रहेको शारदा लिपिमा लिपिकृत बौद्ध ग्रन्थ ‘कारण्डव्यूह’ देखि पशुपति तिलगंगास्थित संवत् ३८९ को लिच्छवि अभिलेख छापको उतार, राजा मानदेवले आफ्नी आमा राज्यवतीको नाममा राख्न लगाएको वामन मूर्तिको पादपीठमा रहेको अभिलेखका पनि अंशहरू प्रदर्शनीमा राखिएका छन् ।

पूर्वीय दर्शन बढी तन्त्र, मन्त्रहरूमा पनि केन्द्रित छ । नेपालमा पनि यसलाई निकै महत्त्व दिइथ्यो । पहिलेको समयमा यस्ता तन्त्र–मन्त्रमा झनै विश्वास भएको प्रदर्शनीमा राखिएका तन्त्र–मन्त्रसम्बन्धी पुस्तकहरूले पुष्टि गर्छन् । काला मन्त्रहरूबाट बच्नका लागि साँचो खोल्ने ग्रन्थको अंश राखिएको छ । यहाँ राखिएको धारणी संग्रहअन्तर्गतको एक धारणी ‘रत्नकेतुधारणीनाममहायानसूत्र’, जसको पाठ गर्नाले विघ्न बाधा हट्ने र सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ ।

नवौं शताब्दीमा उत्तरलिच्छवि लिपिमा लेखिएको शैव तन्त्र विद्याको ग्रन्थ ‘निरवासतत्त्वसंहिता’, नेपाल संवत् ७९५ मा तन्त्र विषयक ग्रन्थ ‘तारोभक्तिसुधार्णव’, शैवतन्त्रको प्रसिद्ध ग्रन्थ ‘कालोत्तरतन्त्र’, तन्त्र विषयक ग्रन्थ ‘निर्देशतन्त्र’, बौद्ध तन्त्र विषयको ताडपत्र ग्रन्थ ‘चक्रसंवरतन्त्र’ र ‘चतुष्पीठतन्त्र’ का अंशहरू पनि प्रदर्शनीमा राखिएका छन् । पञ्चाक्षर सूत्रमध्येको एक ‘महासहस्रप्रमर्दननामसूत्र’ ग्रन्थ पनि प्रदर्शनीमा छन् ।

त्यस्तै चिकित्सा र आयुर्वेदसम्बन्धी पुस्तकहरू पनि छन् । ने.सं २८ अर्थात् ई. सं ९०८ मा लेखिएको आयुर्वेद विधाको प्राचीन ग्रन्थ ‘लङकावतार’ मा क्रियाविधि, घृतविधि, प्राणविधि आदि आयुर्वेदीय पद्धतिहरू उल्लेख गरिएका छन् । त्यस्तै नेपाल संवत् ८३८ को योग विषयको ग्रन्थ ‘सिद्धान्त पद्धति’ को गाताचित्र पनि देख्न सकिन्छ ।

प्रदर्शनीमा रञ्जना लिपि, उत्तर लिच्छवि लिपि, बंगाली लिपि, गिल्गिट लिपि, पाली भाषामा लेखिएको, मैथिली लिपि, हरिताल लेपित थ्यासफु, ब्राम्ही लिपिमा लेखिएका अभिलेखहरू तथा प्राचीन पुस्तकहरू छन् । विश्वमै दुर्लभ हस्तलिखित ग्रन्थ ‘कृद्भाष्य’, बौद्ध ग्रन्थ ‘सद्धर्मपुण्डरिकसूत्र,’ संवत् १०७६ मा लेखिएको वाल्मीकि रामायण, सन् १३८० मा जयस्थिति मल्लको समयमा लेखिएको नेपालको पहिलो कानुनसम्बन्धी पुस्तक ‘न्यायविकासिनी’, १९ औं शताब्दीको अन्त्यतिर नेपाली भाषामा लेखिएको स्वस्थानी कथालगायत पनि छन् ।

राजा स्रोङचेन गोम्पो र भृकुटीका बारेमा वर्णन गरिएको ‘मिलाइ गुर्बुम, लेउधुन्मा माणिका बुम’, १८१४ पुसमा काठमाडौंका राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहलाई भोटमा गोर्खा र काठमाडौंका वकिल राख्नेबारे लेखेको धर्मपत्र, २००७ फागुन ७ गते गठन भएको मन्त्रिमण्डलको सूची पनि प्रदर्शनीमा छन् । भोट सरकार ‘गान्देन फोडाङ’ को सय रुपैयाँको नोट, नेपाल–भोट युद्धको ऐतिहासिक सामग्री, १९५८ जेठ ३ गते छापिएको गोरखापत्रको प्रथम अंक, विसं १९१० को मुलुकी ऐन, २०३६ को जनमत संग्रहका बेला राष्ट्रिय चुनाव आयोगबाट लिएको मेची अञ्चलको मतदाता नामावली पनि प्रदर्शनीमा
देख्न सकिन्छ ।

पुराना ग्रन्थहरू थप नबिगार्ने हेतुले प्रदर्शनीमा तिनका फोटाहरू मात्रै राखेको अभिलेखालयका प्रमुख अभिलेख अधिकृत निरन कुमार राजवंशीले बताए ।

‘यी पुस्तकहरू चाहिएमा हामी प्रतिलिपि दिन्छौं,’ उनले भने, ‘हामीकहाँ शैक्षिक तथा प्राज्ञिक क्षेत्रका मानिसहरू खोज अनुसन्धानका लागि आउनुहुन्छ । त्यसैले हामीकहाँ यस्ता पुस्तकहरू छन् भन्ने जनाउ दिन प्रदर्शनी गरेका हौं ।’ प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।

प्रकाशित : आश्विन २६, २०७५ ०९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×