कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकाले अन्तरिक्ष सेना बनाउने

एएफपी

वासिङटन — अमेरिकाले अन्तरिक्ष सैन्य बल (स्पेस फोर्स) निर्माण गर्ने भएको छ । उपराष्ट्रपति माइक पेन्सले शुक्रबार उक्त प्रस्ताव सार्वजनिक गर्दै स्पेस फोर्स अमेरिकी सैनिकको छैटौं विभाग हुने जनाए । 

अमेरिकाले अन्तरिक्ष सेना बनाउने

फोर्स गठन घोषणा कार्यक्रममा पेन्सले भने, ‘अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।’ उनले चीन, रूसलगायत देशबाट बच्न स्पेस फोर्स गठन गरिन लागेको जनाए ।


‘अन्तरिक्षमा चीन र रूसका उच्च प्रविधियुक्त क्रियाकलापमार्फत हाम्रा भूउपग्रहको नजिकसम्म पुगेर अवाञ्छित कार्य गर्न थालेको पाइएको छ । यसबाट हाम्रो अन्तरिक्ष प्रणालीमा खतरा निम्त्याउन थालिसकेको छ,’ पेन्सले भने ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा अन्तरिक्ष सैन्य बल गठनको आदेश दिएका थिए । तर यो सैनिक विभाग गठनमा अमेरिकी कंग्रेसको स्वीकृति आवश्यक पर्छ ।


‘हाम्रो सैन्य बलको इतिहासमा नयाँ अध्याय लेख्ने समय आइसकेको छ, हाम्रा नागरिक र हाम्रो मुलुकमा नयाँ पुस्ताका सुरक्षा खतरासँग जुध्न र त्यसलाई परास्त गर्न अहिल्यै तयारी थाल्नुको विकल्प छैन,’ पेन्सले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आयोजित समारोहमा भने ।


पेन्सको भाषण सकिएलगत्तै ट्रम्पले ट्वीट गर्दै ‘स्पेस फोर्स अब गठन भएको जनाए । अमेरिकी अन्तरिक्ष सैन्य बलको निर्माणले राष्ट्रिय सुरक्षामा अन्तरिक्षको भूमिकाको बदलिँदो यथार्थलाई प्रतिविम्बित गरेको छ । सन् १९६२ मा राष्ट्रपति जोन एफ केनडीले अमेरिकाले चन्द्रमामा मानव पठाउनुको कारणबारे भनेका थिए । ‘आजसम्म अन्तरिक्षमा कुनै किसिमको विवाद, पक्षपात, राष्ट्रिय द्वन्द्व केही छैन ।’


तर ५६ वर्षपछि, आधुनिक युद्धकौशलका हरेक पक्षका बारेमा अन्तरिक्षले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । अन्तरिक्ष केन्द्रमा उडिरहेका सेन्सर र भूउपग्रहको व्यापक सञ्जालकै भरमा धेरै सैनिक प्रविधिहरूले काम गरिरहेका छन् ।

पेन्सले रसिया र चीनसँग जुध्नका लागि पनि स्वतन्त्र अन्तरिक्ष सैन्य बल आवश्यक रहेको बताए जसले विपक्षी भूउपग्रहीय क्षमतालाई निष्तेज बनाउन आक्रामक ढंगबाट काम गरिरहेका छन् ।


डेमोक्रेटिक सिनेटर ब्रायन साट्जले भने ट्रम्पको योजना कार्यान्वयनमा नआउने प्रतिक्रिया दिएका छन् । ह्वाईबाट निर्वाचित सिनेटर ब्रायनले भने, ‘यो विल्कुल मूर्खतापूर्ण धारणा हो र यस्तो नेतामा धेरै विश्वास गर्नु खतरनाक छ ।’


पेन्सका अनुसार, अमेरिकी स्पेस कमान्डभित्र हाल अमेरिकी सेनाका अन्य विभागमा कार्यरत सैनिकलाई स्थानान्तरण गरिनेछ ।

प्रकाशित : श्रावण २५, २०७५ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?