कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अन्तिम तयारीमा नेपाल

ह्युस्टनबाट निस्केको नेपाली टोली डालास आइपुगेको छ, ‘कन्डिसन’मा भिज्ने प्रयासमा नेपाली खेलाडी
विनोद पाण्डे

डालास, अमेरिका — आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा पुगेको नेपालले सोमबार क्यानडासँग अभ्यास खेल खेल्दै छ । जुन १ देखि हुने ट्वान्टी–२० विश्वकपअघि नेपालले खेल्न लागेको दुई आधिकारिकमध्ये पहिलो अभ्यास खेल हो । 

अन्तिम तयारीमा नेपाल

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपमा सहभागी सबै २० टोलीलाई अमेरिका र वेस्ट इन्डिजमा गरी २–२ अभ्यास खेलको व्यवस्था मिलाइदिएको छ, त्यसअनुरुप नेपालले सोमबार क्यानडा र तीन दिनपछि अमेरिकासँग खेल्ने छ । पहिलो दिनको अभ्यासमा ओमानले पपुवा न्युगिनी र नामिबियाले युगान्डासँग खेल्नेछ । मंगलबार श्रीलंका र नेदरल्यान्ड्स, बंगलादेश र अमेरिका, अस्ट्रेलिया र नामिबिया, बुधबार अफगानिस्तान र ओमान विश्वकपअघि अभ्यास खेल जुट्नेछन् ।

नेपालले दुवै खेल डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा खेल्ने छ । नेपालले यही मैदानमा जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेलेर ट्वान्टी–२० विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि अमेरिकाकै फ्लोरिडामा श्रीलंकासँग जुन ११ मा तथा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने छ ।

मे पहिलो साता नेपाली टोली फ्लोरिडा आइपुगेको थियो । त्यसपछि एक साता वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा पुगेर घरेलु टोलीसँग दुई अभ्यास खेल खेलेको नेपाली टोली पुनः अमेरिका फर्किएको थियो । अमेरिकाको ह्युस्टनमा नेपालले ह्युस्टन हरिकन्ससँग दुई अभ्यास खेल खेल्यो ।

पहिलो खेल ‘टाइ’ भएपछि सुपर ओभरमा सफलता हात पारेको नेपालले शनिबार दोस्रो खेलमा हरिकन्सलाई २७ रनले हरायो । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २२ रनमात्र बनाउन सक्यो ।

कप्तान रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले ४१ बलमा २ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलले ३१ बलमा २ चौकासहित २३ र गुलशन झाले १५ बलमा १ चौकासहित १४ रन बनाए । तल्लोक्रममा सन्दीप जोरा १३ बलमा १२ र सोमपाल कामी १० बलमा १२ रन बनाई अविजित रहे । कुनै छक्का प्रहार नभएको नेपाली इनिङ्समा आसिफ शेख १, अनिल साह ४, कुशल मल्ल २ रनमा आउट भए । हरिकन्सबाट इमरान खान जुनियर र जिया सेहजादले २–२ विकेट लिएका थिए ।

सेहजादले २९ बलमा ३५ रन बनाए पनि प्रेरी भ्यू मैदानमा हरिकन्स १८.३ ओभरमा ९६ रनमा अलआउट भयो । प्लेयर अफ द म्याच सेहजादले १ चौका र २ छक्का प्रहार गरे । लाहिरू मिलान्था र इमरानले समान १६ रन बनाए । अघिल्लो वर्ष काठमाडौं गएर लुम्बिनी अल स्टार्सबाट नेपाल ट्वान्टी–२० लिग खेलेका मिलान्था रनआउट हुनु हरिकन्सको दुर्भाग्य बन्यो । हरिकन्सबाट अरूले दोहोरो स्कोर बनाउन सकेनन् ।

नेपालबाट करण केसीले ३ विकेट लिए । उनले ३ ओभरमा १ मेडन राख्दै १४ रन खर्चे । सोमपालले ४ ओभरमा १२ रन खर्चेर २ तथा रोहित, अविनाश बोहरा र सागर ढकालले १–१ विकेट लिए । म्याचलगत्तै ह्युस्टनबाट निस्केको नेपाली टोली डालास आइपुगेको छ । स्थानीय टोलीसँग खेलेर नेपाल कन्डिसनमा भिज्ने प्रयास गरिरहेको छ ।

क्यानडा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको छ । वेस्ट इन्डिजको सेन्ट किट्समा अभ्यास खेल खेलेर क्यानडाको टोली डालास आइपुगेको छ । विश्वकपको एक साताअघि क्यानडाले पुबुदुलाई बर्खास्त गरेको खबर सञ्चारमाध्यममा आए पनि त्यसलाई पछि क्रिकेट क्यानडाले खण्डन गरेको थियो ।

नेपालले यसअघिको एकमात्र ट्वान्टी–२० विश्वकप २०१४ मा पुबुदुकै प्रशिक्षणमा खेलेको थियो । सन् २०११ मा पहिलो पटक नेपालको प्रशिक्षक भएका पुबुदु २०१५ मा फर्किएका थिए र पछि अमेरिकाको प्रशिक्षक भए । सन् २०२२ मा पुनः नेपालको प्रशिक्षक भए पनि पुबुदुको कार्यकाल ६ महिनामात्र टिक्न सक्यो । नेपालबाट फर्किएलगत्तै उनी क्यानडाको प्रशिक्षक बनेका थिए ।

फेब्रुअरीमा पुबुदुको प्रशिक्षणमा क्यानडा टोली काठमाडौं आएर तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला र नेपाल ‘ए’ सँग खेलेको थियो । क्यानडाले त्यसपछि दुबई गएर यूएई र स्कटल्यान्डसँग २–२ गरी सबै चार खेल जितेर विश्वकप क्रिकेट लिग २ को शीर्षस्थानमा छ । क्यानडाले ट्वान्टी–२० विश्वकपमा भारत, पाकिस्तान, आयरल्यान्ड र अमेरिकासँग समूह चरणमा खेल्दै छ । छिमेकी प्रतिद्घन्द्घी अमेरिकासँग डालासमा जुन १ मा खेलेर क्यानडाले विश्वकप यात्रा सुरु गर्नेछ ।

प्रकाशित : जेष्ठ १४, २०८१ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×