कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आईपीएल फाइनल आज : कोलकाता र हैदराबाद भिड्दै

काठमाडौँ —  सनराइजर्स हैदराबादले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा कोलकाता नाइट राइडर्सको सामना गर्दै छ । टोलीका अस्ट्रेलियाली विश्वकप विजेता कप्तान प्याट कमिन्सले आइतबार एक अर्को ठूलो उपाधि जित्ने हो भने टिमबाट उत्कृष्ट प्रदर्शन आवश्यक हुनेछ ।

आईपीएल फाइनल आज : कोलकाता र हैदराबाद भिड्दै

कोलकाताको हातबाट प्लेअफमा सजिलै पराजित भएको ५ दिनपछि फेरि उही प्रतिद्वन्द्वीको सामना गर्न लागेको हो । शुक्रबार भएको अन्तिम क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराएको थियो ।

यससँगै टिम तेस्रोपल्ट आईपीएल फाइनल पुगेको थियो । मंगलबार भएको पहिलो क्वालिफायरमा यही टिम दुईपल्टको च्याम्पियन कोलकाताको हातबाट हैदराबाद ८ विकेटले पराजित भएको थियो । हैदराबादले विश्व ट्वान्टी–२० को सबैभन्दा धनी प्रतियोगिताको उपाधि एकैपल्ट जितेको छ । यो सन् २०१६ मा अर्का अस्ट्रेलियाली खेलाडी डेविड वार्नरको नेतृत्वमा सम्भव भएको थियो ।

हैदराबादले तीव्र गतिका बलर कमिन्सलाई आईपीएल अक्सनमा २५ लाख डलर तिरेको थियो । उनको कप्तानीमा अस्ट्रेलियाले एकदिवसीय विश्वकपमात्र होइन, वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि पनि जितेको थियो । ‘पछिल्ला केही वर्ष मेरा लागि उत्कृष्ट रहेको छ । तर, मैले यसपल्ट आईपीएल अगाडि कुनै ट्वान्टी–२० टिमको नेतृत्व गरेको छैन । त्यसैले के अपेक्षा गर्ने हो भनेर म यही भन्न सक्दिनँ,’ उनले मिडियासँगको कुराकानीमा भने, ‘तर मलाई लाग्छ, अहिले आईपीएलको उपाधि धेरै टाढा पनि रहेको छैन।’

कमिन्स र उनका अस्ट्रेलियाली सहकर्मीले पछिल्लो नोभेम्बरमा विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा सम्पन्न विश्वकप फाइनलमा भारतलाई हराएपछि घरेलु समर्थक निराश पारेका थिए । हैदराबादका सहायक प्रशिक्षक सिमोन हेलमोटले कमिन्सबारे भनेका छन्, ‘उनी साह्रै व्यवहारिक र मन ठूलो भएका खेलाडी हुन् । आफ्ना टिममेट र प्रशिक्षक समूहसँग निकै नजिकको सम्बन्ध राख्छन् ।

आफ्नो प्रतिद्वन्द्वी टिमबारे पर्याप्त जानकारी राख्छन् ।’ हैदराबादले यो सिजन प्रतियोगिताको इतिहासकै दुई ठूलो स्कोर खडा गरेको छ, २ सय ७७ र २ सय ८७ रन । कमिन्सको सही नेतृत्व र बलरलाई ठीकसँग पालै–पालो खेलाउने नीतिले हैदराबाद मैदानमा बलियो देखिन्छ । फाइनलमा उनका खास प्रतिद्वन्द्वी हुनेछन्, अस्ट्रेलियाली तीव्र गतिका बलर मिचेल स्टार्क । पहिलो क्वालिफायरमा उनको सटिक बलिङसामु हैदराबाद धराशायी भएको थियो । कमिन्सलाई उछिन्दै त्यही अक्सनमा उनी सबैभन्दा महँगा खेलाडी भएका थिए ।

उनका लागि कोलकाताले २९ लाख ८० हजार डलर तिरेको थियो । हैदराबादका अस्ट्रेलियाली ओपनर ट्रेभिस हेडलाई शून्यमा आउट गर्दै स्टार्कले ३४ रनमा ३ विकेट लिएका थिए । कोलकाता भने श्रेयस ऐय्यरको नेतृत्वमा छ । यसपल्टको प्रतियोगिताका यो नै एकमात्र यस्तो टिम छ, जसलाई सर्वश्रेष्ठ भन्न मिल्छ । कुल १० टिमसम्मिलित लिग चरणको खेलमा २० अंकसहित कोलकाता शीर्षमा थियो ।

लिग चरणमा टोलीलाई कसैले छुनै सकेन । स्टार्कबाहेक कोलकाताले यसपल्ट मेन्टरमा भारतका पूर्वब्याटर गौतम गम्भीरलाई भित्र्याएको छ । गम्भीरकै नेतृत्वमा कोलकाताले सन् २०१२ र २०१४ मा आईपीएल उपाधि जितेको थियो । कोलकाताले अन्तिम पटक चेन्नई सुपर किंग्सलाई हराएर च्याम्पियन हुँदा फाइनल भएको मैदान चिदम्बरम् स्टेडियम नै थियो । गम्भीरबारे ऐय्यर भन्छन्, ‘क्रिकेट कसरी खेल्नुपर्छ, गौतमलाई जत्तिको अरूलाई ज्ञान नहुन सक्छ ।’

गम्भीर निकै कुशल रणनीतिकार मानिन्छ । त्यसैले उनले दुईपल्ट उपाधि जिते । कोलकाताले यस सिजन जम्मा तीन खेलमात्रै गुमाएको छ । अलरान्डर सुनिल नारनले ओपनरको भूमिका पाएपछि ब्याटबाट राम्रो गरिरहेका छन् । उनले ४ सय ८२ रन बनाइसकेका छन् । त्यसमा एक शतक सामेल छ । स्पिनर वरुण चक्रवर्ती र तीव्र गतिका बलर हर्षित राना दुवै लयमा छन् । दुवैले एक आपसमा ३७ विकेट लिइसकेका छन् ।

उनीहरूलाई के राम्रोसँग थाहा छ भने हैदराबादको ओपनर जोडी हेड र अभिषेक शर्मा लयमा छन् । हेडले ५ सय ६७ रन बनाइसके । उनी रोयल च्यालेन्जर्सका विराट कोहलीपछि रन बनाउने सूचीको दोस्रोमा छन् । कोहलीले ७ सय ४१ रन बनाइसके । २३ वर्षीय अभिषेकको ब्याटबाट ४ सय ८२ रन निस्किेको छ । उनलाई भारतीय क्रिकेटको भविष्य स्टार मानिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?