कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

झापालाई रोक्दै चर्च ब्वाइजको फाइनल यात्रा

अर्जुन राजवंशी

झापा — घरेलु टोली झापा–११ लाई टाइब्रेकरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेड शनिबार छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । लगातार पाँचौं संस्करणसम्म फाइनल खेलेको आयोजक झापा–११ यसपालि सेमिफाइनलमै रोकियो । चर्च ब्वाइजसँग टाइब्रेकरमा ४–३ गोलले पराजित भयो ।

झापालाई रोक्दै चर्च ब्वाइजको फाइनल यात्रा

झापाका प्रदीप बुढाथोकी र विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको पेनाल्टी प्रहार गोल हुन नसक्दा झापा सेमिफाइनलमै रोकिएको हो । चौथो नम्बरमा पेनाल्टी प्रहार गरेका प्रदीपको प्रहार पोस्टको क्रसबारमा लागेर फर्कियो । मार्क जुनियरको अन्तिम पेनाल्टी प्रहार चर्च ब्वाइजका गोलकिपर दीप कार्कीले रोकेका थिए ।

चर्च ब्वाइजको जितमा सुरजज्यू ठकुरी, विजय भुजेल, अबायोमी फकुन्ले र गोलकिपर दीप कार्की (कप्तान) को पेनाल्टी गोलमा परिणत भयो । चर्च ब्वाइजका डिफेन्डर सर्ज डिकाको प्रहार झापाका गोलकिपर सुदीप लिम्बूले रोकेका थिए । झापाबाट आदित्य शाक्य, विवेक पौडेल र आशिष चापागाईंको पेनाल्टीमात्र गोल भयो ।

निर्धारित ९० मिनेट र थप १४ मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । अतिरिक्त १४ औं मिनेटमा चर्च ब्वाइजका विजय भुजेलको प्रहार पोस्टमा लागेर फर्कियो । अतिरिक्त समयको दोस्रो हाफमा झापाका मार्क जुनियरले बक्सबाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर दीप कार्कीले बाहिर फाल्दै संकट टारेका थिए ।

निर्धारित ९० मिनेटमा दुवै टिमले बनाएका केही राम्रा अवसर सदुपयोग हुन सकेन । घरेलु टोली झापाको तुलनामा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज बलियो देखिएको थियो । टोलीले बलमाथि पकड राख्दै झापालाई दबाबमा राखे पनि निर्धारित र थप समयभित्र नतिजा भने निकाल्न सकेन । पहिलो हाफमा दुवै टोली जमेर खेल्न सकेनन् । चर्च ब्वाइजका बिजु भुजेलले १९ औं मिनेटमा पहिलो पटक झापाको पोस्टमा धावा बोले । तर, उनको प्रहार फितलो हुँदा गोलकिपर सुदीपले सहजै नियन्त्रणमा लिए । २५ औं मिनेटमा झापाका मार्क जुनियरको पासमा आशिष चापागाईंको प्रहार गोलकिपर दीपले पञ्च गर्दै विफल तुल्याए । ३५ औं मिनेटमा झापाका दिपेश आलेमगरले करिब ३५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

चर्च ब्वाइजका फकुन्लेले ४९ औं मिनेटमा मैदानको मध्यभागबाट अगाडि बढाएको बलमा गरेको प्रहार गोलकिपर सुदीपले नियन्त्रणमा लिए । ५५ औं मिनेटमा सुरजज्यूको फ्रिकिक गोलकिपर सुदीपले कठिनसँग नियन्त्रणमा लिए । सुरजको पासमा विजय भुजेलले ६३ औं मिनेटमा बक्सभित्र बल पाए पनि सदुपयोग गर्न सकेनन् । अन्तिम मिनेटमा फकुन्लेको प्रहारलाई झापाका गोलकिपर सुदीपले उत्कृष्ट बचाउ गरे । नीरज चौधरीले दिएको पासमा फकुन्लेले बक्सभित्रबाट प्रहार गरेका थिए ।

झापाका प्रशिक्षक अङ्गुरकुमार खड्गीले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाए । उनले १४ जनाविरुद्ध ११ जनाले खेल्नुपर्दा जित हासिल गर्न नसकेको आरोप लगाए । चर्च ब्वाइजका प्रशिक्षक रुवेन राईले खेल सोचेभन्दा उत्कृष्ट भएको बताए । केही नयाँ खेलाडीले पनि राम्रो खेल पस्किँदा नतिजा ल्याउन सफल भएको बताए ।

चर्च ब्वाइजका गोलकिपर दीप कार्की प्लेयर अफ द म्याच भए । उनले ११ हजार रुपैयाँ प्राप्त गरे । चर्च ब्वाइजले गोल्डकपको उपाधिका लागि सोमबार फाइनलमा एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । विजेताले १३ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

झापा गोल्डकप फुटबलमा शनिबार झापा र चर्च ब्वाइजको प्रतिस्पर्धा ।

प्रकाशित : फाल्गुन २६, २०८० २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?