कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मच्छिन्द्रलाई हराउँदै आर्मी सेमिफाइनलमा

अर्जुन राजवंशी

झापा — डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मी लगातार छैटौं पटक गोल्डकपको सेमिफाइनलमा पुगेको हो ।

मच्छिन्द्रलाई हराउँदै आर्मी सेमिफाइनलमा

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न तेस्रो क्वाटरफाइनलमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै आर्मीले जित हासिल गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको आर्मीले जितका लागि दुवै गोल दोस्रो हाफमा गरेको थियो । उसका नवयुग श्रेष्ठले ६० तथा बसन्त जिम्बाले ८० औं मिनेटमा गोल गर्दै टिमलाई लगातार छैटौं पटक झापा गोल्डकपको सेमिफाइनलमा पुर्‍याएका हुन् ।

मच्छिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई बक्स नजिकै रहेका नवयुगले ६० औं मिनेटमा जाली चुमाएका थिए । ८० औं मिनेटमा बसन्तले काउन्टर अट्याकमा गोल गर्न सफल भए । खेलमा मच्छिन्द्रले ११ औं मिनेटमै अग्रता बनाएको थियो । तर, निर्धारित समयसम्म अग्रता जोगाउन नसक्दा पहिलो पटक झापा गोल्डकप खेलेको मच्छिन्द्र पहिलो खेलबाटै घर फर्किएको छ ।

मच्छिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले ११ औं मिनेटमा गोल गरेका थिए । हिसुब थपलियाको पासमा बिनोङले कुनै गल्ती नगरी बललाई गोलपोस्टको दिशा दिएका थिए ।

पराजयसँगै मच्छिन्द्र यो सिजनमा उपाधि ≈याट्रिक गर्नबाट बञ्चित भएको छ । मच्छिन्द्रले लगातार केपी ओली कप र बाग्मति गोल्डकपको उपाधि हात पारेको थियो । खेलको सातौं मिनेटमा नवयुगले मच्छिन्द्रका गोलकिपर बिशाल श्रेष्ठसंग वान–टू–वानको अवस्थामा गोल गर्ने अवसर गुमाएका थिए । उनको फितलो प्रहार गोलकिपर बिशालले सहजै नियन्त्रणमा लिए ।

खेलको सुरुवातदेखि नै मच्छिन्द्रले आर्मीमाथि दबाब दिन सुरु गरेको थियो । चौथो मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी ओमोलाजा करिमको फ्रिकिकमा विमल घर्तीमगरको हेडर तथा लगत्तै पाँचौं मिनेटमा देवेन्द्र तामाङको हेडर पनि बाहिरिनपुग्यो । २२ औं मिनेटमा मच्छिन्द्रका अभिषेक गुरुङको पासमा विमलले गरेको कडा प्रहार आर्मीका गोलकिपर विकेश कुथुले पञ्च गरेर बाहिर पठाए ।

७९ औं मिनेटमा अग्रता दोब्बर बनाउन मच्छिन्द्र अनलक्की रह्यो । आर्मीका गोलकिपर विकेश अगाडि बढेको अवस्थामा खाली पोस्टमा मच्छिन्द्रका आयुष घलानले प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्किएको थियो । ६७ औं मिनेटमा आर्मीका कमल थापाको पासमा पाएको बललाई बसन्त जाम्बाले गोलपोस्टमा चार्ज गर्न सकेनन् । ७० औं मिनेटमा गोलकिपर विकेश बिट भइसकेको अवस्थामा मच्छिन्द्रका स्टेफनले बल नियन्त्रणमा लिएर गोलपोस्टका लागि पास मिलाउन सकेनन् ।

आर्मीका प्रशिक्षक मेघराज केसीले नयाँ र पुराना खेलाडीको तालमेलबाट खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको प्रतिक्रिया दिए । उनले झापा गोल्डकप मोफलसकै उत्कृष्ट भएकाले रणनीतिअनुसार नै खेलेर जित हासिल गरेको बताए । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीहरु खटेर खेलेपनि जित निकाल्न अनलक्की भएको बताए । आधा दर्जन अवसर पाएपनि बललाई गोलपोस्टको दिशा दिन नसक्दा खेल गुमाउन पुगेको उनले धारणा राखे ।

खेलमा आर्मीका बसन्त जिम्बा प्लेयर अफ दी म्याच भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । बिहीबार अन्तिम क्वाटरफाइनलमा घरेलु टोली झापा–११ र एन्फा मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : फाल्गुन २३, २०८० १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?