कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ब्युँतियो नेपालको फाइनलमा पुग्ने आशा

मैले फसाएको खेल मैले नै निकाल्नुपर्छ भन्ने थियो : करण केसी
विनोद पाण्डे

काठमाडौँ — नेपालले शुक्रबार नामिबियाविरुद्ध यस्तो विजय हात पारेको छ, जसले घरेलु टोलीलाई ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको फाइनलमा पुर्‍याउन सक्छ । जबकि प्रतियोगितामा नेपालको यो पहिलो विजय हो । 

ब्युँतियो नेपालको फाइनलमा पुग्ने आशा

पहिलो दुई खेलमा क्रमशः नामिबिया र नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बन्दै गएको थियो । तर नामिबियासँगको जितपछि नेपाल एकाएक फाइनलको हकदार बनेको छ । नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । त्यसमा विजय हात पारे नेपालको फाइनल पुग्ने सम्भावना झनै बलियो हुनेछ ।

करण केसीले अन्तिम ओभरमा ८ रनमात्र दिएपछि नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो । अन्तिम ओभरमा विजयका लागि नामिबियालाई १२ रन चाहिने अवस्थामा करणले ८ रन मात्र दिएका थिए । आफ्नो अघिल्लो ३ ओभरमा ४१ रन खर्चेका करणले जोखिमपूर्ण अन्तिम ओभर लिएर सानदार बलिङ गरेका थिए । अन्तिम ओभरमा नामिबियाले जोडेको ८ रनमध्ये अन्तिम बलको चौका पनि थियो । १ सय ८१ रनको विजय लक्ष्य लिएर आएको नामिबिया १७७–७ को स्कोरमा रोकिएको थियो ।

‘मैले फसाएको खेल मैले नै निकाल्नुपर्छ भन्ने थियो, त्यही भएर रोहित (कप्तान) सँग म नै अन्तिम ओभर फाल्छु भनेर भनेको थिएँ,’ करणले भने, ‘यसमा म आत्मविश्वासी पनि थिएँ । कप्तानले पनि मलाई सहयोग गरे । योर्कर अथवा स्लो बल फाल्यो भने खेल निकाल्न सकिन्छ भन्ने थियो । मैले त्यहीअनुसार बलिङ गरे ।’ नेपालले करणसहित सबै ५ तीव्र बलर खेलाएर नामिबियालाई रोक्न सकेको थियो ।

नेपालले अन्तिम दुई ओभर पेनाल्टी ओभर खेप्नुपरेको थियो । निर्धारित समयअनुसार बलिङ पूरा नगरेका कारण नेपाललाई पेनाल्टी ओभर लगाइएको थियो । जसका कारण नेपालले ३० यार्ड सर्कलबाहिर ४ फिल्डर मात्र राख्न पाएको थियो । तर १९ औं ओभरमा अविनाशले ११ रन मात्र दिए भने त्यसपछि करणले कसिलो बलिङ गरी नेपाललाई जिताए ।

नामिबियाले १४ ओभरमा १ सय १० रन मात्र बनाउन सकेको थियो । नेपालको नियन्त्रणमा रहेको खेलमा जान फ्रिलिन्क र कप्तान जेजे स्मिटले १५ औं ओभरमा करणलाई ३ छक्कासहित २३ रन प्रहार गरेपछि नामिबियालाई खेलमा फर्काएका थिए ।

खेल नामिबियाको पक्षमा मोडिएको समयमा दीपेन्द्रसिंह ऐरीले १६ औं ओभरमा २ रन मात्र दिएर स्मिट र जान निकोलस लफ्टी इटनलाई लगातार बलमा आउट गरेका थिए । ओभरको पहिलो बलमा दीपेन्द्रले स्मिटलाई लङ अफमा अनिल शाहबाट क्याच गराए भने अर्को बलमा लफ्टी इटनलाई आउट गरे । नेपालविरुद्धको अघिल्लो खेलमा ३३ बलमा शतक बनाएर विश्व कीर्तिमान बनाएका लफ्टी इटनले मिडविकेटमा वैकल्पिक फिल्डर सन्दीप जोरालाई क्याच दिन पुगेका थिए ।


त्यसको अर्को ओभरमा अविनाश बोहराले जान फ्राइलिन्कलाई आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो । अविनाशले १७ औं ओभरमा ५ रन मात्र दिएका थिए । नामिबियाका नियमित कप्तान जेर्हाड इरासमस चोटका कारण फर्किसकेका अवस्थामा टोलीको नेतृत्व गरिरहेका स्मिटले २६ बल खेली ६ चौका र २ छक्का प्रहार गरी ५० रन बनाए । फ्राइलिन्कले २९ बलमा १ चौका र २ छक्कासहित ३७, जेपी कोट्जेले २२ बल खेली ४ चौकासहित २५ र जेन ग्रिनले १३ बल खेली ४ चौकासहित अविजित २३ रन बनाए ।

दीपेन्द्रले ४ ओभरमा २९, सोमपालले ४ ओभरमा ३४ र करणले ४ ओभरमा ४९ रन खर्चेर २–२ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको थियो । कुशल मल्लले अविजित ५५ रन बनाए । उनले कुल ३७ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे । ३० बलमा अर्धशतक पूरा गरेका कुशलले आरिफ शेखसँग पाँचौं विकेटमा ५५ बलमा ८५ रनको साझेदारी गरे । प्रतियोगितामा पहिलो खेल खेलिरहेका आरिफले २४ बल खेली ४ चौका प्रहार गर्दै ३१ रन बनाए ।

नेपालको सुरुआत राम्रो हुन सकेन । आसिफ शेख १ रन मात्र बनाई बेन सिकोन्गोको बलमा बोल्ड भए । रोहित पौडेलले २ चौका प्रहार गरी ९ बलमा १० रन बनाएर आउट भए । आरिफजस्तै प्रतियोगितामा पहिलो खेल खेलिरहेका अनिलले ३ छक्का प्रहार गर्दै १७ बलमा २३ रन बनाए ।

चौथो नम्बरमा पठाइएका गुलसन झाले १६ बल खेली १ चौका र ३ छक्का प्रहार गर्दै २६ रन बनाए । उनलाई बर्नान्ड स्कोल्ट्जले एलबीडब्लू आउट भएका थिए । त्यसपछि कुशल र आरिफको साझेदारी जमेको थियो । आरिफ आउट भएपछि आएका करणले १ छक्का प्रहार गर्दै ३ बलमा ७ रन बनाए । सोमपाल कामीले ३ बलमा २ रन मात्र बनाउन सके । सिकोन्गोले ४ ओभरमा २८ रन खर्चेर ३ र ज्याक ब्रसेलले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।

नेदरल्यान्ड्सविरुद्ध बुधबार खेलेको नेपाली टोलीबाट कुशल भुर्तेलसहित सन्दीप जोरा र ललित राजवंशीलाई बेन्चमा राख्दै नेपालले उनीहरूको स्थानमा अनिल शाह, आरिफ शेख र अविनाश बोहरालाई प्लेयिङ ११ मा राखेको छ । भुर्तेल यस प्रतियोगितामा नेपालले खेलेको दुबै खेलमा शून्यमा आउट भएका थिए । नेपाल पहिलो दुई खेलमा क्रमशः नामिबिया र नेदरल्यान्ड्ससँग २० रन र २ विकेटले पराजित भएको थियो । नामिबिया बिहीबार नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।

प्रकाशित : फाल्गुन १९, २०८० ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×