कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मल्लको अर्धशतकमा नेपालको मध्यम योगफल

काठमाडौँ — कुशल मल्लको अर्धशतकमा नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा शुक्रबार नामिबियालाई १ सय ८१ रनको लक्ष्य दिएको छ । नामिबियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको हो ।

मल्लको अर्धशतकमा नेपालको मध्यम योगफल

कुशलले अविजित ५५ रन बनाए । उनले कुल ३७ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे । ३० बलमा अर्धशतक पूरा गरेका कुशलले आरिफ शेखसँग पाँचौं विकेटमा ५५ बलमा ८५ रनको साझेदारी गरे । प्रतियोगितामा पहिलो खेल खेलिरहेका आरिफले २४ बल खेली ४ चौका प्रहार गर्दै ३१ रन बनाए ।

नेपालको सुरुआत राम्रो हुन सकेन । आसिफ शेख १ रनमात्र बनाई बेन सिकोन्गोको बलमा बोल्ड भए । कप्तान रोहित पौडेलले २ चौका प्रहार गरी ९ बलमा १० रन बनाएर आउट भए । आरिफ जस्तै प्रतियोगितामा पहिलो खेल खेलिरहेका अनिलले ३ छक्का प्रहार गर्दै १७ बलमा २३ रन बनाए ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

चौथो नम्बरमा पठाइएका गुलशन झाले १६ बल खेली १ चौका र ३ छक्का प्रहार गर्दै २६ रन बनाए । उनलाई बर्नान्ड स्कोल्ट्जले एलबीडब्लु आउट भएका थिए । त्यसपछि कुशल र आरिफको साझेदारी जमेको थियो । आरिफ आउट भएपछि आएका करणले १ छक्का प्रहार गर्दै ३ बलमा ७ रन बनाए । सोमपाल कामीले ३ बलमा २ रनमात्र बनाउन सके । सिकोन्गोले ४ ओभरमा २८ रन खर्चेर ३ र ज्याक ब्रसेलले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।

नेदरल्यान्ड्सविरुद्ध बुधबार खेलेको नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । कुशल भुर्तेलसहित सन्दीप जोरा र ललित राजवंशीलाई बेन्चमा राख्दै नेपालले उनीहरुको स्थानमा अनिल साह, आरिफ शेख र अविनाश बोहरालाई प्लेयिङ ११ मा राखेको छ । भुर्तेल यस प्रतियोगितामा नेपालले खेलेको दुबै खेलमा शुन्यमा आउट भएका थिए ।

फाइनलमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने आवश्यक्ता रहेको छ । नेपाल पहिलो दुई खेलमा क्रमशः नामिबिया र नेदरल्यान्ड्ससँग २० रन र २ विकेटले पराजित भएको थियो । नेपालले यस खेल जितेमा फाइनलमा पुग्ने सम्भावना रहन्छ । पराजित भएमा नेपाल फाइनल दौडबाट बाहिरिन्छ ।

नामिबिया बिहीबार नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो । नामिबियाका नियमित कप्तान जेर्हाड इरासमस चोटका कारण फर्किसकेका छन् । उनको स्थानमा जेजे स्मिटले नामिबियाको कप्तानी गरिरहेका छन् । उनले टस जितेर नेपाललाई पहिला ब्याटिङका लागि बोलाएका हुन् ।

प्रकाशित : फाल्गुन १८, २०८० १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×