कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्णायक खेलमा यूएईले नेपाललाई दियो मध्यम लक्ष्य

काठमाडौँ — नेपालले यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्न १ सय ७७ रनको मध्यम लक्ष्य पाएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि निर्णायक खेलमा ब्याटिङ गर्न आएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ७६ रन बनायो ।

निर्णायक खेलमा यूएईले नेपाललाई दियो मध्यम लक्ष्य

यूएईबाट एलिसन सराफुले ३३ र रोहन मुस्ताफाले २४ रन बनाए । सराफुले ६९ बल खेल्दै ४ चौका प्रहार गरे । पूर्व कप्तान मुस्ताफाले ५६ बलको इनिङ्समा २ चौका प्रहार गरे । ओपनर मोहम्मद वासिमले ११ रन बनाए ।

दोस्रो ओभरको पहिलो बलमै वासिमले गुलशन झाको बलमा छक्का प्रहार गरेका थिए । त्यसको अर्को बलमा गुलशनले वासिमलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए । अर्का ओपनर वृत्य आनन्दलाई सोमपाल कामीले शुन्यमा बोल्ड गरे । गुलशनले यूएईका कप्तान सीपी रिजवानलाई ४ रनमा आसिफबाटै क्याच गराएपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो ।

सराफु र मुस्ताफाले चौथो विकेटमा ६३ रनको साझेदारी गरेका थिए । दीपेन्द्रसिंह ऐरीले मुस्ताफालाई कुशलबाट उत्कृष्ट क्याच गराए पछि यूएईको पतन पुन: सुरु भएको थियो । सराफुलाई कुशलले आफ्नो लेग स्पिनबाट बोल्ड गरे । बसिल हमिद ८ र विष्णु सुकुमरन २ रनमा आउट भए । पूर्व कप्तान अहमद राजा र जाहुर खानले खाता खोल्न सकेनन् । जाहुर रनआउट भए ।

आयन खान र हजरत बिलालले अन्तिम विकेटमा अविजित ८३ रनको साझेदारी गरेपछि यूएई केही बलियो बनेको थियो । यसै शृंखलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका आयनले ६३ बलमा अविजित ५४ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे । बिलालले ५४ बल खेली १ छक्कासहित २० रन बनाए । दुवैको एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर हो ।

नेपालबाट गुलशन, दीपेन्द्र र कुशलले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ३ मेडन राख्दै २२ रन खर्चे । ललित राजवंशीले १० ओभरमा २ मेडन राख्दै २० रनमात्र खर्चेर १ विकेट लिए ।

नेपालले अलराउन्डर करण केसीको स्थानमा हरिशंकर शाहलाई प्लेयिङ ११ मा राखेको छ । हरिशंकरले यसै शृंखलाको पहिलो खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

शृंखला १–१ को बराबरीमा छ । यूएईले पहिलो खेलमा नेपाललाई सजिलै ८४ रनले पराजित गरेको थियो । नेपालले दोस्रो खेल ३ विकेटले जित्दै शृंखला बराबरीमा ल्याएको थियो । नेपालले यस खेल जितेमा पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जित्ने छ ।

प्रकाशित : मंसिर २, २०७९ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?