चारै दाजुभाइ फुटबलमा- खेलकुद - कान्तिपुर समाचार

चारै दाजुभाइ फुटबलमा

प्रदीप मेन्याङ्बो, सुम्निमा चाम्लिङ

सुनसरी — धरानमा हुने अधिकांश फुटबल प्रतियोगितामा ठुल्दाइ आशिष राई जर्सी र फुटबल बुट लगाएर घरदेखि निस्कनासाथ उनका भाइहरू अमृत, सुजन र रविन पनि पछ्याउँछन् । चारभाइ फुटबल ड्रेसमा निस्कँदा धरान १७ रेल्वेवासीले नियालेर हेर्दै लख काट्छन्, आज कतै प्रतियोगिता हुँदै छ । चारै भाइले एकै रंगको जर्सी लगाउनुको अर्थ हो उनीहरू फुटबल प्रतियोगिताहरूमा सँगै हुन्छन् ।

उनीहरूले गोधूलि क्लब, धरान फुटबल क्लब, बिग्रेड ब्वाइज क्लब काठमाडौं, नेपाल पुलिस क्लब, फेयर फुटबल क्लब र बीआरसी भुटान क्लब, इम्पेरियम मार्केटिङ क्लब, रोयल क्लब सिलिगुढी क्लबबाट सँगै खेलेका थिए । पछिल्लो समयमा भने उनीहरू चारै धरानको फेयर फुटबल क्लबमा आबद्ध छन् ।

चारै छोरा खेलाडी भएर मैदानमा विपक्षीलाई छक्याउँदै बलसँग दौडिएको देख्दा बाआमा राजेन्द्रकुमार र लक्ष्मी राई फुरुंग हुन्छन् । चारै भाइले फुटबल खेलेरै जीविका चलाओस् भन्ने कामना राख्छन् । वर्षायामको बेला प्रतियोगिता नभए पनि सिजन सुरु भएपछि उनीहरूको दिनचर्या खेलेरै बित्छ । धरानको फुटबलमय वातावरणमा हुर्केका आशिषले भने, ‘साथी र अग्रजहरूले खेलेको देखेर ९ वर्षको उमेरदेखि खेल्न सुरु गरें । पढाइभन्दा फुटबलप्रति बढी झुकाव राख्थें । फुटबलमा चासो राख्न थालेको बेला धरानमा चार्ल्स राई र सुमन राई निकै चर्चित थिए । उनीहरू क्लबका पनि राम्रा खेलाडीमा दरिन्थे । सुमन र चार्ल्सको पथ पछ्याउँदै ०७१ देखि धरान फुटबल क्लब, गोधूलि क्लबमा आबद्ध हुँदै विभिन्न प्रतियोगिता खेल्न थालेपछि १९ वर्षको उमेरमा मेरो परिचय फेरियो ।’

त्यतिबेलाका स्टार खेलाडी सुरेन्द्र तामाङको साथ–सहयोग पाएकै कारण खेल जीवन उकास्न सहज भएको आशिषले सुनाए । उनले भने, ‘त्यसबेला मेरा बुवा वीपी प्रतिष्ठान धरानमा कार्यरत भए पनि थोरै तलब भएकाले घरखर्च, शिक्षादीक्षा परिवारको आवश्यकता जुटाउन मुस्किल हुन्थ्यो । तर उहाँले हाम्रा लागि जर्सी र बुट अन्य खर्च कटाएर भए पनि जुटाइदिनु हुन्थ्यो ।’ आशिष पुराना दिन बिर्सिएका छैनन् । ‘दसैंमा टीका लगाएको बेला पाएको दक्षिणा र तिहारमा देउसी खेलेको पैसा बचत गरेर पनि जर्सी र बुट किन्थ्यौं,’ उनले विगत सुनाए ।

उनी जुनसुकै क्लबमा खेले पनि प्रायः डिफेन्सको भूमिकामा देखिन्छन् । उनी ०७७ सालमा चर्च ब्वाइज क्लब काठमाडौंमा आबद्ध भएका थिए । प्रतियोगिता हुँदा काठमाडौं, पूर्वका जिल्ला साथै भारतको पश्चिम बंगालसम्म पुग्छन् । पूर्वको अधिकांश प्रतियोगितामा उनीसहित चारै दाजुभाइ एउटै टिमबाट खेल्छन् । टिममा भाइहरूको साथ खेल्दा सहज लाग्ने गरेको बताउँदै उनले भने, ‘म भएका कारण भाइहरूलाई पनि धेरै सपोर्ट छ, जानेको कुरा भन्छु । पराजित हुँदा गल्तीबारे समीक्षा गर्छौं ।’ उनीहरूको उमेर भिन्नता समेत कम छ । एकाघरकै दाजुभाइ भनेर परिचय गराउँदा थाहा पाउनेले अनौठो मान्छन् । घरको जेठो भएकाले होला आशिषलाई खेलाडी भएर जति गर्व छ, परिवारका लागि आर्थिक दायित्व सोचेजस्तो पुरा गर्न नसक्दा भने नमीठो अनुभव हुने गरेको सुनाउँछन् । उनका अनुसार नेपालबाहिर पश्चिम बंगालको सिलिगुढीका क्लबबाट खेल्दा बढी पारिश्रमिक प्राप्त हुन्छ । पुरा म्याच खेल्दा कम्तीमा २५ हजारदेखि ८७ हजार भारुसम्म पाउने गरेको सुनाए । यता धरानका स्थानीय क्लबमा भने एक खेलवापत १५ सयदेखि २ हजारसम्म मात्र पाउँछन् ।

आशिषका भाइ रविन र अमृतले दाजुकै सिको गरेर ७ वर्षको छँदामै फुटबल सिक्न थालेका थिए । उनीहरूभन्दा सिनियर दाइ चार्ल्स राई, निसान बर्देवाको हौसलाले अझ उत्साहित भए । डिपो स्कुलको मैदानमा खेल्दै गर्दा राष्ट्रिय खेलाडी भइसकेका सचिन राई गुरुका रूपमा थिए । उनले भने, ‘मेरो जिन्दगीको अधिकांश बाल्यकाल वीपी प्रतिष्ठानको क्वाटर र रेल्वेको मैदानमा बित्यो । आर्थिक अभाव एकातिर थियो, अर्कोतिर खेलाडी बन्ने सपना । त्यो सपना पुरा गर्न मैले कहिले दाइको जर्सी लगाएर खेलें, कहिले बाबाले किनिदिएको जर्सी र बुट लगाएर अभ्यास गरें ।’ ०७५ सालमा बिग्रेड ब्वाइज क्लबबाट खेलेको अनुभव उनीसँग छ । फुटबलमा केही परिपक्व हुन थालेपछि दाजुभाइको साथमा स्थानीय क्लबमा त कहिले पश्चिम बंगालसम्म खेल्न पुग्थे । रविनले भने, ‘गोधूलि क्लब धरानको पुरानो र स्तरीय टिमको भएकाले त्यहाँ पनि दाइहरूसँगै खेल्दा खेल्दै गोधुली कपको १८, १९ र २० औं संस्करणको उपाधि जित्दा चार दाजुभाइसँगै थियौं ।’

पुराना दिनका सम्झना पनि गजबको छ । ललित स्मृति यु–१८ का लागि पुलिस क्लबको टिम तयार हुँदै थियो । टोलीमा उनीसहित भाइ रविन र गोधूलि क्लबकै मन्जिल राई पनि छनोटमा परे । खुसीले उनको सीमा नाघेको थियो । अमृतको पुलिस क्लब र दशरथ रंगशालामा खेल्ने सपना पुरा भएको थियो । उनले एन्फा एकेडेमीका प्रशिक्षक इन्दु रसाइलीबाट फुटबलको टेक्निक सिकेको बताए । दाजुभाइ एउटै टिमबाट खेल्न पाउँदा खुसी लागेको बताउँदै उनले भने, ‘घरकै दाजुभाइ प्रायः एउटै टिमबाट खेल्छौं । फुपुको छोरा सुजन पनि हामीसँगै बस्ने भएकाले ५ जनाको टिम घरबाटै बन्छ ।’

अर्का भाइ रविन पनि दाइहरूले लगाउने जर्सी र बुटले रविनको बाल मस्तिष्कलाई लोभ्याएको थियो । जर्सीबाट आर्कषित हुँदै गएको उनी फुटबलमा तानिए । ७ वर्षको उमेरदेखि टोलको मैदानमा खेल्न थाले । उनी सुमन रार्ई, मिलन राई, योगन्द्र राई, चार्ल्स राईलाई फुटबलको गुरु ठान्छन् । रेल्वे युथ क्लबबाट धरानका वडास्तरीय प्रतियोगिताहरू खेल्न थाले । हेमन्त थापा मगर उनका छिमेकी थिए । उनी हेमन्तजस्तै राष्ट्रिय खेलाडी बन्ने सपना बुन्थे । २०७५ सालमा बिग्रेड ब्वाइज क्लबबाट खेलेका उनले ललित स्मृति यु–१८ भने पुलिस क्लबबाट खेलेको अनुभव छ । उनले प्रतियोगितामा २ गोल गरेका थिए । ४ गोलमा असिस्ट गर्न भ्याए ।

प्रशिक्षकको नजरमा भरपर्दा खेलाडीको रूपमा साबित भए पनि अन्त्यमा पुलिस क्लबको छनोटमा नपरेपछि घर आएको दुई वर्ष फुटबल नछोएको रविनले सुनाए । उनले भने, ‘पुलिस क्लबबाट फुटबल खेल्ने र राष्ट्रिय खेलाडी बनेर सफल फुटबल खेलाडी बन्छु भन्ने सपना अझै छ ।’

उनीहरूका फुपुका छोरा हुन् सुजन राई । सुजन पनि आशिषकै परिवारसँगै बस्छन् । उनले १५ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेका थिए । १४ वर्षको उमेरसम्म बास्केटबल खेले । आशिष र अमृतको टिम फुटबल खेल्न भोजपुर जानुपर्ने भयो । तर टिममा गोलरक्षक अभाव थियो । उनी २०६८ मा एसएलसी परीक्षा दिएर बसेका थिए । बास्केटबल खेलाडीले गोलरक्षक गर्न सक्छन् भन्दै आशिष र अमृतले सुजनलाई भोजपुर लगेका थिए । यसरी सुजनको पनि फुटबल यात्रा सुरु भयो । सुजनको परिचय बन्नुमा सुविन्द्र राई, चार्ल्स राईको ठूलो भूमिका छ । गोधूलि कपका लगातार तीन उपाधि जित्दा गोलरक्षकको रूपमा आफूलाई बलियो साबित गर्दै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । धरान १७, रेल्वे चोक फुटबलका लागि यसै पनि उर्वर मानिन्छ । पूर्व राष्ट्रिय खेलाडी हेमन्त थापा मगर, सुरज बिक, सुमन सुवेदी, प्रकाश बुढाथोकीसहित महिला फुटबल टिमका सहायक प्रशिक्षक भगवती राना मगर, ए डिभिजन लिगमा खेल्ने थुप्रै खेलाडीले धरानको नाम रोशन गरिसकेका छन् । हाल रेल्वे चोकका ६० बढी नयाँ पुस्ताका खेलाडी स्थानीय फुटबल क्लबहरूमा सक्रिय छन् ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

६७ सय मिटर उचाइमा भेटियो स्की-पर्वतारोही हिलारीको शव

झोला र कपडालाई पछ्याउँदै बुधबार खोजी गर्दा मनास्लु हिमालको ६७ सय मिटर उचाइ हाराहारीमा हिलारीको शव भेटियो ।
सुरज कुँवर

काठमाडौँ — विश्वको आठौं अग्लो हिमाल मनास्लुको आरोहण सकेर स्की गर्दै फर्कने क्रममा बेपत्ता भएकी चर्चित अमेरिकी पर्वतारोही हिलारी नेल्सन दुई दिनपछि मृत अवस्थामा फेला परेकी छन् । १५ वर्षदेखिका स्की सहयात्री जीम मोरिसनसँग ४९ वर्षीया हिलारी मनास्लु आरोहण सकेर फर्किने क्रममा सोमबार बिहान हिमखाडलमा खसेकी थिइन् ।

८ हजार १ सय ६३ मिटर उचाइ भएको मनास्लु हिमालको चुचुरोबाट ओर्लिंदा बेपत्ता भएकी हिलारीको शव लमजुङपट्टि दक्षिणतर्फ करिब ६ हजार ७ सय मिटर आसपासमा फेला परेको उद्धारमा खटिएका पाइलट सुरेन्द्र पौडेलले कान्तिपुरलाई बताए ।

हेलिकोप्टरमार्फत गरिएको खोजका क्रममा बुधबार बिहान साढे १० बजे हिलारीलाई मृत भेट्टाएको उनका साथी जिमले इन्स्टाग्राममा लेखेका छन् । जिमका अनुसार सोमबार बिहान १०:४२ मा दुवै जना मनास्लु शिखरमा पुगेका थिए । लगत्तै स्की गर्दै ओर्लिने योजनाअनुसार पहिले जिम ओर्लिए ।

आफूलाई पछ्याउँदै आइरहेकी हिलारी केही घुम्तीपछि सानो हिमपहिरोसँगै हुत्तिँदै साँघुरो हिउँको ढलानमा ठोक्किएर खोचमा खसेकी थिइन् । उनलाई जीवितै उद्धार गर्न दुई दिन मनास्लु हिमालमुनि हेलिकप्टर उडाइएको थियो । मंगलबार पहिलो दिन हेलिकप्टरका पाइलट सिद्धार्थ गुरुङ र जिमले फेला पार्न नसकेपछि दोस्रो दिन बुधबार क्याप्टेन पौडेल जिमलाई लिएर काठमाडौंबाट मनास्लुतर्फ उडेका थिए ।

क्याप्टेन पौडेल र जिम मोरिसनलाई थप मद्दत गर्न आरोही निर्मल पुर्जाले आफ्नो कम्पनीका गाइड युक्त गुरुङ र मिङ्मा तेन्जिङ शेर्पालाई मनास्लु आधार शिविरबाट हेलिकप्टरमा पठाएका थिए । हिलारीलाई खोज्न मंगलबार क्याप्टेन गुरुङले जिमलाई मनास्लु अधार शिविरबाट लगेका थिए । गुरुङका अनुसार मंगलबार घटनास्थल कपडाका आधारमा पहिचान भएको थियो तर खराब मौसमका कारण खोजी प्रभावित भएपछि हेलिकप्टर त्यहाँ अवतरण नगरी साँझ काठमाडौं फर्किएको थियो ।

‘हिजो (मंगलबार) क्याप्टेन गुरुङ र जिमले आकाशबाट हेर्दा झोला र लुगा देखिएको रहेछ, बुधबार त्यही ठाउँ खोज्दै बिहान काठमाडौंबाट उड्यौं,’ क्याप्टेन पौडेलले कान्तिपुरसँग भने, ‘झोला र कपडालाई पछ्याउँदै बुधबार खोजी गर्दा मनास्लु हिमालको ६७ सय मिटर उचाइ हाराहारीमा हिलारीको शव भेटियो । तीन जना उद्धारकर्ताले शव खोजेर हेलिकप्टर भएको स्थानमा ल्याए । त्यहाँबाट मैले शव र दुई जना उद्धारकर्मी गाइडलाई मनास्लुको आधार शिविरमा झारें । दोस्रो खेप उडेर अर्का उद्धारकर्मीलाई आधार शिविरमा ल्याएँ ।’

स्की सहयात्री जिम मोरिसनसँग हिलारी नेल्सन ।

आरोहण दलका लागि पर्यटन विभागले तोकेका सम्पर्क अधिकृत सचिन्द्रकुमार यादवका अनुसार सांग्रिला नेपाल ट्रेक्स प्रालिको व्यवस्थापनमा हिलारी नेल्सन र जिम मोरिसन मनास्लु आरोहण गर्न भदौ १७ मा काठमाडौंबाट गएका थिए । केही वर्षयता मोरिसन हिमाल आरोहणमा हिलारीसँगै जाने र स्कीमा साथ दिँदै आएका थिए । उनीहरूलाई उचाइमा सघाउन सांग्रिलाले ५ जना शेर्पा गाइड पठाएको थियो ।

दुई दशकयता नेपालसहित १६ वटा मुलुकमा ४० बढी हिमाल आरोहण गरेकी कोलोराडो निवासी दुई सन्तानकी आमा हिलारीले सन् २०१२ मा विश्वकै अग्लो हिमाल सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से १२ घण्टाभित्र आरोहण गर्ने विश्वको पहिलो महिलाको रेकर्ड बनाएकी थिइन् । सन् २०१८ मा मोरिसनसँगै उनले ल्होत्सेको चुचुरोबाट स्कीको प्रयोग गरी अवतरण गर्ने कीर्तिमान बनाइकी थिइन् । अमेरिकी मासिक म्यागजिन मिन्स जर्नलले हिलारीलाई २५ वर्षयताकै सबैभन्दा साहसिक महिला घोषणा गरेको थियो भने नेसनल जियोग्राफीले २०१८ मा उनलाई साहसी खेलाडीको सूचीमा पनि राखेको थियो ।

अमेरिकी आउटडोर उत्पादन कम्पनी नर्थफेसले पनि सन् २०१८ मा उनलाई एथ्लेटिक क्याप्टेन बनाएको थियो । अमेरिकालगायत पश्चिमा मुलुकमा हिलारी र जिम अग्ला हिमालका लागि सबैभन्दा ठूला र सफल स्की खेलाडी मानिन्छन् ।

जिमले हिलारीलाई गुमाउनुपर्दा अवर्णनीय क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अबका दिन आफू उनका दुई सन्तानको हितमा केन्द्रित रहने भनेका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार हिलारीको परिवारका सदस्य बिहीबार काठमाडौं आउँदै छन् । पोस्टमार्टमपछि हिलारीको शव अमेरिका लैजाने वा नलैजाने निर्णय परिवारले गर्नेछ । यस घटनामा अमेरिकी दूतावासले पनि सघाइरहेको छ ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×