कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

‘टी-२० लिगले क्रिकेटको मुहार फेर्छ’

लेजेन्ड भारतीय क्रिकेटर अशोक मल्होत्रा नेपाल टी–२० लिगको टिम घोषणाका लागि दुई दिनयता काठमाडौंमा छन् । लिगका बैठकहरू सहभागी भए । उनको परिचय यहाँ नेपाल टी–२० लिगको ‘गभर्निङ काउन्सिल’ सदस्यको रूपमा खुलेको छ । उनै मल्होत्राले नेपाली क्रिकेटलाई कसरी बुझेका छन् त ?

काठमाडौँ — भारतीय क्रिकेटमा जे भयो, सन् १९८३ को विश्वकप जितेपछि नै भयो । अशोक मल्होत्रा त्यही समयका खेलाडी हुन् । उनी आफ्नो खेलजीवनको उच्च लयमा थिए । तर, उनी भारतीय विश्वकप टिममा परेनन् । किन परेनन् त ? ‘यसको उत्तर त कपिल देवले मात्र दिन सक्नेछन्,’ मुसुक्क हाँस्दै मल्होत्राले भने । 

‘टी-२० लिगले क्रिकेटको मुहार फेर्छ’

उनी भारतीय क्रिकेटका ‘लेजेन्ड’ हुन् । कुनै समय रणजी ट्रफीमा सबैभन्दा बढी रन बनाउने खेलाडी उनलाई भारतीय क्रिकेटको अर्को ‘विश्वनाथ’ भनिन्थ्यो । मल्होत्राको भारतीय क्रिकेटमा सबैभन्दा नजिकका साथी थिए, उनै कपिल देव ।

चेतन शर्मासँगै उनीहरू चण्डीगढमा सँगै हुर्के र बढे । उनी ती दिन कपिल देवसँगै एउटै साइकल चढेर अभ्यासका लागि निस्कन्थे । ती दिन त्यस्तै थिए । विश्वकप जितेपछि भारतीय क्रिकेटमा विस्तारै व्यावसायिकता छिरेको थियो ।

अब त इन्डियन प्रिमियर लिग (आईपीएल) को पालो । सन् २००८ मा आईपीएल के आयो, भारतीय क्रिकेटले कोल्टे नै फेर्‍यो । भारतीय क्रिकेट स्वयं मालामाल भयो । खेलाडीले मस्त कमाउन थाले नै । स्वयं भारतीय टिम पनि बलियो भयो । बलियो पनि कति धेरै भने अब भारतले एकै समय तीन टिम बनाउन सक्छ । यी तीनै टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा उस्तै समान चुनौती पेस गर्न सक्छ ।

यही पृष्ठभूमिमा मल्होत्रा भन्छन्, ‘नेपाल टी–२० लिग मज्जाले अगाडि बढ्ने हो भने त्यसले फाइदा पुग्ने भनेकै नेपाली क्रिकेटलाई हो । खेलाडीले कमाउने छन्, माथिल्लो स्तरमा खेल्न सक्ने खेलाडी बढ्नेछ । त्यसैले पनि यो प्रतियोगिता सफल हुन आवश्यक छ,’ कान्तिपुरसँगको विशेष कुराकानीमा मंगलबार उनले भने ।

अहिले पनि भारतीय क्रिकेटमा मल्होत्रा धेरै भूमिकामा छाउने गर्छन् । भारतीय क्रिकेटमै लेभल–थ्री प्रशिक्षक धेरै कम छन् । त्यसमध्ये उनी एक हुन् । कोलकातामा क्रिकेट एकेडेमी चलाउने गर्छन् । छोटो समयकै लागि भारतीय टिमकै प्रशिक्षकसमेत भएका उनी छनोटकर्ता पनि भए । कमेन्ट्री गर्छन्, खेल विशेषज्ञ भनेर टेलिभिजनतिर पनि छाउने गर्छन् । सबैभन्दा ठूलो उनी इन्डियन क्रिकेटर एसोसिएसनका अध्यक्ष हुन् । नेपालीका लागि ठूलो के थपिएको छ भने उनी नेपाल टी–२० लिगको ‘गभर्निङ काउन्सिल’ का सदस्य भएका छन् ।

उनी जत्तिको क्रिकेट पण्डितलाई पाउने नेपाली क्रिकेटकै लागि पनि ठूलै उपलब्धि हो । उनलाई लिएर सबैभन्दा ठूलो के भन्दा भारतका लागि ७ टेस्ट र २० एकदिवसीय खेलेका उनी भलाद्मी छन् । सबैसँग घुलमिल गर्छन् । अझ ठूलो नेपाली क्रिकेटका लागि सहयोग गर्ने भनेपछि खुसीले मीठो हाँसोयुक्त अनुहार बनाएर अगाडि आउँछन् । नेपाल टी–२० लिगमा सहभागी हुने टिम घोषणाका क्रममा पछिल्लो दुई दिन उनी काठमाडौंमा थिए । केही बैठकतिर पनि सहभागी भए । उनी सबैभन्दा पहिले सन् १९९९ मा नेपाल आएका थिए, टेम्पो लेजेन्ड्स कप खेल्न । फाइनलमा कपिल देवको नेतृत्वमा रहेको भारतले फाइनलमा ‘रेस्ट अफ द वर्ल्ड भेट्रान्स’ लाई हराएको थियो ।

त्यस खेलमा उनी ‘प्लेयर अफ द फाइनल’ भए । १ सय ४ रन बनाएर अविजित रहेका थिए । त्यही बेला उनलाई लागेको थियो, नेपालमा क्रिकेटको सम्भावना छ । अहिले तत्काल उनी नेपाली क्रिकेटलाई लिएर के भन्छन् त ? खासमा उनी नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेका छन् ।

भन्छन्, ‘यो वर्ष नेपाली क्रिकेटमा केही नराम्रो भएको छ, अघिल्लो वर्ष राम्रै थियो । ब्याटिङमा रन बनिरहेको छैन । मलाई लाग्छ, नेपाली क्रिकेट खेलाडीले पर्याप्त खेल्न नपाएर नै यस्तो भएको हो । खेलको अनुभव र खेललाई कसरी लिने हो, यो दुवै निकै महत्त्वपूर्ण छन् । आईपीएल सुरु हुनु अगाडि हामीसँग माथिल्लो दर्जाका ३० खेलाडी हुन्थ्यो, अब तीन सयजतिको हाराहारीमा हुन थालेको छ । नेपाल टी–२० लिगले नेपाली खेलाडीलाई विदेशीसँग सिक्ने अवसर दिनेछ ।’

यो प्रतियोगिताले उनी त्यस्ता खेलाडी पनि अगाडि आउने मान्छन्, जसलाई त्यस अगाडि छनोटकर्ताले देखेको पनि हुन्न । उनी भन्छन्, ‘यस प्रतियोगितामा राम्रो गर्न सके, उनीहरू अगाडि आउन सक्छन् । अहिले नेपाली क्रिकेटमा माथिल्लो स्तरका १५ खेलाडी छन् भने थप उस्तै स्तरका १५ खेलाडी थपिने छन् । प्रतियोगितामा ६ टिममा गरेर कम्तीमा पनि ६६ खेलाडी हुनेछन् । त्यसमध्ये आधा मात्र राम्रो निस्के भने धेरै राम्रो । अर्को वर्ष यसमा अझ वृद्धि हुनेछ । यसले नेपाली क्रिकेटमा त्यही काम गर्न सक्छ, जुन आईपीएलले भारतीय क्रिकेटका लागि गरेको छ ।’ मल्होत्रा प्रतियोगितालाई सही दिशातर्फ अग्रसर भएको एउटा पाइला मान्छन् । थप्छन्, ‘यो प्रतियोगितालाई सबैले समर्थन र सहयोग गर्नुपर्छ । नेपाली क्रिकेटमा केही राम्रो हुन लागेको छ भने यो यही नेपाल टी–२० हुनेछ ।’

उनी अचेलको क्रिकेटलाई ‘ह्वाइट बल’ कै मान्छन् । तर अचेल नेपालका ब्याटर रन बटुल्नै बिर्सिरहेका छन् । के गर्ने त ? यसमा उनको जवाफ छ, ‘नेपाली क्रिकेटमै सुरुमा दुई दिनको क्रिकेट पनि ठीक हुन सक्नेछ, यसले क्रिजमा कसरी टिकेर खेल्ने भन्ने सिकाउँछ ।’

उनी सुझाउँछन्, ‘८०–८० ओभरको दुई इनिङ्सको क्रिकेट पनि धेरै सिकाउने गर्छ । नेपाल विश्व क्रिकेटको टायर–टु समूहमा पर्छ । नेपालले प्रतिष्ठा कमाउने भने ह्वाइट बलबाटै हो, रेड बलबाट यस्तै प्रतिष्ठा पाउन गाह्रो छ । त्यसैले नेपालले ह्वाइट बल क्रिकेटमै बढी ध्यान दिएको राम्रो । नयाँ पुस्ताका खेलाडीलाई तयार पार्न रेड बल क्रिकेट पनि चाहिन्छ ।’ सबैभन्दा ठूलो उनी नेपाली क्रिकेटलाई कुनै पनि तरिकाबाट सहयोग गर्न चाहन्छन् । किनभने उनलाई नेपाल प्यारो लाग्छ छिमेकी देश भएको नाताले ।

अझ उनले एक पाइला अगाडि सरेर भने, ‘मलाई लाग्छ, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाललाई जहिले पनि सहयोग र समर्थन गर्नेछ । मुख्य कुरा नेपालले यसअनुसार कुराकानी अगाडि बढाएको छ वा छैन भनेर पनि हो ।’ उनी के मान्छन् भने नेपाली टिमले अभ्यास र मैत्रीपूर्ण खेलका लागि भारतका रणजी टिमविरुद्ध खेल्न सक्छ । भारतमा प्रशिक्षण सत्र राख्न सक्छ । यसका लागि चाहिने भनेको नेपाल क्रिकेट संघ (क्यान) ले बीसीसीआईसँग कुराकानी अगाडि बढाउने हो ।

सन्दीप लामिछाने विश्व क्रिकेटमा जसरी छाएका छन् । त्यसलाई उनी राम्रो उदाहरण मान्छन् । भन्छन्, ‘सन्दीपले कसरी आफ्नो खेलजीवनलाई अगाडि बढाए, त्यसबारे अरूले पनि सिक्न सक्छन् । हाम्रो क्षेत्रबाट कपिल देवले पहिलोपल्ट टेस्ट क्रिकेट खेले । हामीलाई लाग्यो, हामी पनि यो स्तरको क्रिकेट खेल्न सक्छौं । यदि सन्दीपले खेल्न सक्छन् भने अरू नेपाली खेलाडीले पनि सक्छन् । नेपाली खेलाडी प्रतिभाशाली छन्, त्यसैले म नेपाल टी–२० लाई लिएर निकै उत्साही छु ।’

मल्होत्रा नेपाल टी–२० मा आफ्नो भूमिका कुनै समय प्रशिक्षकको पनि हुनसक्ने मान्छन् । अझ उनी नेपाली खेलाडीका लागि ब्याटिङ प्रशिक्षक हुनसक्ने मान्छन् । उनी छोटो समयकै लागि मात्र काठमाडौं बसे, तर उनको कानमा पनि नेपाली टिममा के चलिरहेको छ, त्यो मज्जाले पुगेको छ । उनी भन्छन्, ‘मैले उड्दै उड्दै आएको समाचार सुनेको छु, आजभोलि नेपाली टिममा एकता छैन, टिम भावना छैन । केही खेलाडीले खुलेर खेलेका छैनन् । यस्तो स्थितिमा नेपाल क्रिकेट संघ केही कडा हुनैपर्छ ।’

उनी फेरि सन्दीपको प्रशंसा गर्दै भन्छन्, उनले सक्दो गरिरहेका छन् । भन्छन्, ‘उनलाई समर्थन गर्ने हो भने त्यसपछि मात्र नेपाली क्रिकेट अगाडि बढ्छ । यसका लागि नेपाल क्रिकेट संघ पनि तयार हुनुपर्छ, उनको काँधमा हात राख्नुपर्छ । यही कसैले टिमलाई पछाडि तान्ने प्रयास गरिरहेका छन् भने उनलाई विश्राम दिएकै राम्रो । यस्तो गर्न सके, ती खेलाडीले पनि महसुस गर्नेछन्, मलाई केही सुध्रिनु छ । केही पुराना खेलाडीलाई आराम दिँदा नयाँले मौका पाउने हुन्छ ।’

प्रकाशित : श्रावण ४, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?