कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ट्वान्टी–२० विश्वकप छनोट

नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्वान्टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै केवल ११७ रन बनाउन सकेको छ । नेपालकोतर्फबाट मध्यक्रममा ब्याटिङ गर्न आएका आरिफ सेखले ३७ बलमा ३८ रन बनाएपछि ओमानविरुद्ध ११८ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।

नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

नेपालका ५ जना ब्याट्स्म्यानले मात्रै दोहोरो रन बनाउन सके ।

पहिलो ओभरदेखि नै फितलो सुरुआत गरेको नेपालले आसिफ सेखलाई केवल ६ रनमा गुमाएको थियो । उनले व्यक्तिगत ४ रन बनाउँदै बिलाल खानको बलमा क्याच आउट भएका थिए ।

सेखसँगै विकेटको पतन नेपालको ब्याटिङक्रम ओमानको बलर सामु निरिह हुँदै पेभिलियन फर्किने क्रम सुरु भएको थियो । त्यसपछि नेपालका कुशल भुर्तेल केवल ५ रन बनाउँदै बिलालकै बलमा आउट भएका थिए ।

यो पनि पढ्नुहोस् :

टस हारेपछि ओमानविरुद्ध नेपालको पहिलो ब्याटिङ

ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको जोडीले केहीबेर क्रिजमा टिक्दै नेपालको स्कोरलाई गति दिने छाँटकाँट देखाएपनि त्यो आशा धेरै समय रहन सकेन । ज्ञानेन्द्र १५ रनको व्यक्तिगत स्कोरमा फयाज बटको बलमा बोल्ड भएर मैदान बाहिर फर्किए । त्यसको केही समयमा नै ऐरी पनि जिसहान मक्सुदको बलमा स्टम्पिङ भएर ११ रनको व्यक्तिगत स्कोरमा पेभिलियन फर्किएका थिए ।

नेपालको अपनिङ लाइन ध्वस्त भएपछि इनिङ सम्हाल्ने जिम्मा मध्यक्रममा ब्याट्स्म्यान आरिफ सेख र लोकेश बमको काँधमा आइपरेको थियो । आरिफ र लोकेशले नेपालको स्कोरबोर्डमा रन जोड्नका लागि महत्त्वपूर्ण योगदान दिए । उनीहरुको साझेदारी धेरैबेर रहन सकेको भए नेपालले सम्मानजनक स्कोर बनाउन सफल रहन्थ्यो । तर, लोकेश १६ रनको व्यक्तिगत स्कोरमा खवार अलिको बलमा क्याच आउट हुन पुगे ।

आरिफले भने व्यक्तिगत रुपमा सम्हालिएर खेल्दै स्कोरबोर्डमा राम्रो योगदान दिइ रहे । तर, उनलाई पुछारमा ब्याटिङ गर्न आएका कप्तान सन्दीप लामिछाने बाहेक कसैले राम्रो साथ दिन सकेनन् । सातौं नम्बरमा ब्याटिङ गर्न आएका विवेक यादव केवल ७ रनमा आउट भए भने कमलसिंह ऐरी १ रन मात्रै बनाएर पेभिलियन फर्किएका थिए । त्यसपछि आएका सन्दीपले भने आरिफसँग ३० रनको साझेदारी गरेका थिए । आरिफ इनिङको अन्तिम बलमा ३८ रनको व्यक्तिगत स्कोरमा रनआउट भए भने सन्दीपले ७ बलमा १६ रन बनाउँदै नटआउट रहे ।

ओमानका लागि खवार अलीले ३० रन दिएर ३ विकेट लिए भने बिलाल खानले २५ रन खर्चेर २ महत्त्वपूर्ण २ विकेट लिएका थिए । फयाज बट र जिसहान मक्सुदले भने १-१ विकेट लिए ।

प्रकाशित : फाल्गुन ६, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?