मेसीको दुई गोल नेयमरको ह्याट्रिक- खेलकुद - कान्तिपुर समाचार

मेसीको दुई गोल नेयमरको ह्याट्रिक

एएफपी

पेरिस — लियोनल मेसीले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार बार्सिलोनाले टोटेनहम हट्स्परलाई ४–२ ले पराजित गरेको छ । अर्को खेलमा नेयमरको ह्याट्रिक मदतमा पेरिस सेन्ट जर्मेनले रेड स्टार बेलग्रेडलाई ६–१ को फराकिलो अन्तरले हरायो ।

ह्याट्रिक गरेका पीएसजीका नेयमर । दुई गोल गरेका बार्सिलोनाका लियोनल मेसी (बायाँ) । तस्बिर : एपी

वेम्बलीमा भएको खेलमा बार्सिलोनाका लागि फिलिपे कोउटिन्होले दोस्रो मिनेटमा गोल गर्दै अग्रता अग्रता दिलाए । पहिलो हाफमै इभान राकेटिचले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट भलीमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा दुईपल्ट पोस्टमा प्रहार गरेका मेसीले पनि दोस्रो हाफमा गोल गरे । टोटेनहमका ह्यारी केनले गोल फर्काएपछि मेसीले गोल गर्दै पुन: दुई गोलको अग्रता बनाए । अर्जेन्टिनाकै एरिक लामेलाले खेललाई ३–१ को स्थितिमा ल्याए पनि मेसीले अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।


‘केही खराब नतिजापछि आजको खेलमा यस्तो प्रदर्शन अत्यावश्यक थियो । हामीले निकै राम्रो खेल्न सक्यौं,’ बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभेर्डेले भने । अंकतालिकामा बार्सिलोना र इन्टर मिलानको समान ६ अंक छ । अंकविहीन टोटेनहमले भने अब बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नु जरुरी छ । स्पर्सका प्रशिक्षक मोउरिसियो पोचेटिनोले मेसीलाई रोक्न नसक्दा हार बेहोरेको बताए । ‘मेसी उत्कृष्ट खेलाडी हुन् । उनले औसत प्रदर्शन गर्दा पनि राम्रो नै देखिन्छ । उनी सर्वश्रेष्ठ खेलाडी हुन्,’ पोचेटिनोले भने ।


पछिल्लोपल्ट सन् २०१० मा च्याम्पियन्स लिग जितेको इन्टरले एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै पीएसजीलाई २–१ ले हरायो । घरेलु टोलीका लागि पाब्लो रोजारियोले सुरुआती अग्रता दिलाए । इन्टरका लागि राड्जा नाइनगोलन र माउरो इकार्डीले गोल गर्दै जित पक्का गरेका थिए ।


पीएसजीले पहिलो खेलमा लिभरपुलसँग भोगेको हार बिर्साउँदै घरेलु मैदानमा रेडस्टार बेलग्रेडलाई फराकिलो अन्तरले हरायो । नेयमरले २० औं मिनेटमा फ्रिकिकमार्फत गोलको खाता खोलेका थिए । लगत्तै अर्को गोल थपेर उनले अग्रता दोब्बर पारे । त्यसपछि एडिन्सन काभानी, एन्जल डी मारिया र केलियन एमबाप्पेले पनि गोल गरे । दोस्रो हाफमा मार्काे मारिनले एक गोल फर्काए पनि नेयमरले अन्तिम समयमा अर्को फ्रिकिक गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।


‘मेरो टोलीले देखेको प्रदर्शनबाट एकदम सन्तुष्ट छु । विशेषत: नेयमरसँग । उनले एकदमै राम्रो खेले । उनी युरोपका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । यो जितले हाम्रा लागि निकै महत्त्व राख्छ,’ पीएसजी प्रशिक्षक थोमस टुचेलले भने ।


लिभरपुल पराजित
कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा रहेको इटालियन क्लब नेपोलीले बुधबार लिभरपुललाई १–० ले पराजित गर्‍यो । नेपोलीको जितमा लोरेन्जो इन्सिनेले ९० औं मिनेटमा विजयी गोल गरे । ड्रिज मर्टेन्सले अन्तिमतिर गरेको प्रहार पोस्टमा लागेर फर्के पनि इन्सिनेले अन्तिम मिनेटमा गोल गरेर महत्त्वपूर्ण ३ अंक दिलाए । ‘आज टोलीले निकै राम्रो प्रदर्शन गर्‍यो । अघिल्लो सिजनको च्याम्पियन्स लिग फाइनल पुगेको टोलीलाई जित्न सक्नु निकै महत्त्व बोकेको छ,’ एन्सेलोट्टीले भने ।


एन्टोइन ग्रिज्मनले दुई गोल गर्दा गत सिजन युरोपा लिगको उपाधि जितेको एट्लेटिको म्याड्रिडले क्लब ब्रुजलाई ३–१ ले हरायो । समूहमा मोनाकोलाई ३–० ले हराउँदै बोरुसिया डर्टमन्ड अंकतालिकाको शीर्षस्थानमा पुग्यो । समूह ‘डी’ मा वेस्टन मकेनीको ८८ औं मिनेटको गोलसँगै साल्केले लोकोमोटिभ मस्कोलाई १–० ले हरायो । पोर्टोले पनि गालाटासरेलाई सोही अन्तरमा हरायो ।

प्रकाशित : आश्विन १९, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

लालबाबु र पल्लवी उदीयमान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पुलिस क्लबका सन्देश गुरुङ र तारादेवी पुन दोस्रो नेपाल स्ट्रोङगेस्ट भारोत्तोलन च्याम्पियनसिपमा स्ट्रोङगेस्ट खेलाडी भएका छन् । सन्देशले १०५ केजी तौलमा २ सय ५८ केजी उचाल्दै स्वर्ण जितेका थिए ।

तारादेवीले ७५ केजी माथिको तौलमा १ सय ६६ केजी उचालेर स्वर्ण जितेकी हुन् । तारादेवीले लगातार दोस्रो वर्ष यो उपाधि जितिन् । दुवैले समान ११ हजार रुपैयाँ पुरस्कार पाए ।


पूर्व ओलम्पियन सुनीललाल जोशीको स्मृतिमा काठमाडौं जिल्ला भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिनियरतर्फ आर्मीका कमलबहादुर अधिकारी र जुनियरमा बाँकेका प्रकाश केसी उत्कृष्ट भारोत्तोलक भए ।


महिला सिनियरमा पुलिसकी देवीकुमारी चौधरी र जुनियरमा बाँकेकी सन्जु चौधरी उत्कृष्ट भारोत्तोलक भए ।


जुनियरतर्फ एपीएफका लालबाबु पासवान र महिलामा डिभाइन फिटनेसकी पल्लवी चौधरी उदीयमान खेलाडी घोषित भए । उनीहरूले ट्रफीसहित जुरी घनश्याम मुखियाबाट प्रोत्साहनस्वरुप समान २ हजार ५ सय पुरस्कार पाए ।


बिहीबार आर्मीका राजु चौधरीले सिनियर ६२ केजी तौलसमूहमा २ सय ३ केजी उचाल्दै स्वर्ण जिते । उनले स्न्याचमा ८८ र क्लिन एन्ड जर्कमा १ सय १५ केजी उचाले । पुलिसका मुई लामा स्न्याचमा ८७ केजी र क्लिन एन्डमा १०० केजी उचालेर रजत जित्न सफल भए । कांस्य जितेका एपीएफका सुवासकुमार शाहले स्न्याचमा ७८ र क्लिन एन्डमा ९६ केजी उठाएका थिए । जुनियरतर्फ पुलिसका गणेश रानाभाटले स्न्याचमा ७३ केजी र क्लिन एन्डमा ८८ केजी उचालेर स्वर्ण जिते भने दोस्रो भएका बाँकेका तुसार बुढामगरले स्न्याचमा ६५ र क्लिन एन्डमा ८५ केजी उठाए । पर्साका नीरज गुप्ताले स्न्याचमा ५० र क्लिन एन्डमा ६७ केजी उचाल्दै कांस्य जिते ।


६९ केजी तौलमा स्वर्ण जितेका ओलम्पियन कमलबहादुर अधिकारीले स्न्याचमा ११० र क्लिन एन्डमा १४५ केजी उचालेका थिए । एपीएफका महेश चौधरीले स्न्याचमा ९० केजी र क्लिन एन्डमा १२० केजी उचालेर रजत तथा कांस्य जितेका आर्मीका जीवन तामाङले स्न्याचमा ७५ र क्लिन एन्डमा १०२ केजी उचाले । जुनियरतर्फ बाँकेका प्रकाश केसीले स्वर्ण जित्दा स्न्याचमा ९५ केजी र क्लिन एन्डमा १२२ केजी उठाए । बाराका सजरुद्दिन आलमले कुल १५५ केजीसाथ रजत र बाँकेका प्रशान्त योगीले कुल १४० केजीसाथ कांस्य जिते ।


सिनियर ७७ केजी तौलमा पुलिसका विकास थापाले स्न्याचमा ११२ र क्लिन एन्डमा १३० केजी उचाल्दै स्वर्ण जिते । आर्मीका यज्ञबहादुर सारुले कुल २२० केजी र एपीएफका तिलक थापाले कुल १८५ केजी उचालेर क्रमश: रजत र कांस्य जिते ।


जुनियरतर्फ बाँकेका सुरज वैश्यले स्न्याचमा ८५ केजी र क्लिन एन्डमा ११० केजी उचालेर स्वर्ण तथा झापाका सुलभ बस्नेतले कुल १०२ केजी उचालेर रजत जिते ।


पुलिसका ओमप्रकाश वैश्यले स्न्याचमा १०० केजी र क्लिन एन्डमा १२६ केजी उचालेर ८५ केजी तौलसमूहको स्वर्ण जिते । आर्मीका दिनेश कार्कीले रजत र एपीएफका सन्तोष चौधरीले कांस्य जिते । दिनेशले २०३ केजी र सन्तोषले १९८ केजी तौल उचाले । जुनियरतर्फ कञ्चनपुरका विकास भट्टले स्न्याचमा ६० र क्लिनमा ८२ केजी उचाल्दै स्वर्ण हात पारे । बाराका नाग अर्जुन गुप्ताले ११२ केजीसहित रजत जिते ।


९४ केजीको सिनियरतर्फ आर्मीका टहलबहादुर बसेलले पुलिसका खेलाडीलाई पछि पार्दै स्वर्ण जिते । उनले स्न्याचमा ८८ र क्लिन एन्डमा १२५ केजी उठाए । पुलिसका गगन चन्द (२११ केजी) ले रजत र श्रीकृष्ण महर्जन (२१०) ले कांस्य जिते । जुनियरमा कञ्चनपुरका विशालसिंह विष्टले एकल प्रतिस्पर्धामा स्न्याचमा ८५ र क्लिन एन्डमा ११० केजी उचालेर स्वर्ण जिते ।


स्ट्रोङगेस्ट खेलाडी घोषित सन्देश गुरुङले स्न्याचमा ११५ केजी र क्लिन एन्ड जर्कमा १४३ केजी उचाले । दोस्रो भएका आर्मीका विनोद खड्काले स्न्याचमा ८५ केजी र क्लिन एन्डमा ११५ केजीका उठाए । एपीएफका रनबहादुर नगरकोटीले स्न्याचमा ८६ केजी र क्निल एन्डमा ११३ केजी उठाएर कांस्य जिते । जुनियरतर्फ बर्दियाका रोशन बिसीले एकल प्रतिस्पर्धामा स्न्याचमा ६५ र क्लिनमा ८५ केजी उचाल्दै स्वर्ण जिते ।


१०५ केजीमाथि तौलमा स्वर्ण जितेका आर्मीका पुकार गुरुङले स्न्याचमा ११५ केजी र क्लिनमा १३० केजी भार उचाले । रजत जितेका बाराका आदर्शकुमार गुप्ताले स्न्याचमा ५६ र क्लिन एन्डमा ७० केजी उचाले । जुनियरतर्फ कञ्चनपुरका सागर भण्डारीले स्न्याचमा ९७ र क्लिन एन्डमा १२५ केजी उचालेर स्वर्ण जिते । रूपन्देहीका प्रवीण नेपालीले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ७० केजी उचालेर रजत थापे ।

प्रकाशित : आश्विन १९, २०७५ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×