३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपाल–यूएई शृंखला : नजर अब ट्वान्टी–२० मा

आदर्श ढकाल

युएई — एकदिवसीय शृंखलामा ऐतिहासिक जितपछि अब पालो ट्वान्टी–२० को । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध तीन खेलको ट्वान्टी–२० शृंखला बिहीबार सुरु गर्दै छ । टोलीको नजर अर्को यस्तै सफलतामा हुनेछ ।

नेपाल–यूएई शृंखला : नजर अब ट्वान्टी–२० मा

घरेलु टोली आफ्ना तीन प्रमुख खेलाडीबिना मैदानमा उत्रेको थियो, प्रतिबन्धका कारण । यसमा कप्तान रोहन मुस्तफा पनि पर्छन् । त्यसैले यसको फाइदा उठाएर नेपालले एकदिवसीय शृंखला त जित्यो नै अब उद्देश्य क्लिन स्विपमा राख्नुपर्नेछ ।


नेपाली खेलाडी पछिल्लो समय घरेलु क्रिकेटमा जति व्यस्त थियो । त्यो ट्वान्टी–२० क्रिकेटमै हो । त्यसैले क्रिकेटको यो कान्छो स्वरूपसँग सबै खेलाडी अभ्यस्त छन् । कप्तान पारस खडालाई मान्ने हो भने अबको शृंखलामा सबैभन्दा महत्त्वपूर्ण पक्ष हुनेछ, टोलीले आफूलाई कसरी स्थितिअनुकूल हुनेगरी ढाल्न सक्छ । ‘नेपालमा हामीले जस्तो वातावरणमा खेलिरहेका छौं, यहाँको परिस्थिति केही फरक छ, त्यसैले सबै खेलाडीले आफूलाई त्यसैअनुसार परिवर्तन गर्न सक्नुपर्छ,’ उनले भने ।


उनको अनुसार यो अन्तर्राष्ट्रिय क्रिकेट हो । त्यसैले यो फ्रेन्चाइज क्रिकेटभन्दा यो ठूलो छ । टोलीले बुधबार आईसीसी एकेडेमी ओभलमा चार घण्टा बढी समय अभ्यासमा बितायो । त्यस क्रममा पारसले भने, ‘हामीले राम्रो तयारी गरेका छौं र सबै खेलाडी आत्मविश्वासी पनि छन् । अब पालो त्यही आत्मविश्वासलाई दरिलो प्रदर्शनमा परिवर्तन गर्ने हो ।’ ट्वान्टी–२० लाई सुहाउने गरेर टिममा केही परिवर्तन पनि हुनेछ ।


त्यसअनुसार ज्ञानेन्द्र मल्लले इनिङ्स सुरुआत गर्नेछन् । उनलाई त्यसमा साथ दिनेछन् प्रदीप ऐरीले । ब्याटिङ सल्लाहकारका रूपमा आएयता उमेश पटवालले विनोद भण्डारीलाई ५० ओभर खेलमा प्रारम्भिक ब्याट्सम्यानको भूमिका दिएका थिए । तिनै विनोदले ट्वान्टी–२० मा भने ‘फिनिसर’ को भूमिका निभाउने छन् । टिमको मध्यक्रम भने लगभग त्यही हुनेछ । नम्बर ३ मा पारस । त्यसपछि दीपेन्द्रसिंह ऐरी । लगत्तै एकदिवीयमा राम्रा गरेका सन्दीप जोराको पालो आउन सक्नेछ ।


ब्याटिङको छैटौं र सातौं स्थानका लागि विनोदसँगै रोहितकुमार पौडेल, आरिफ शेख र पवन सर्राफले आ–आफ्नो दाबी पेस गर्न सक्नेछन् । टिममा तीव्र गतिका बलर सोममाल कामी र करण केसी तथा सन्दीप लामिछानेले पनि स्थान बनाउने छन् । अनुभवी बायाँहाते स्पिनर वसन्त रेग्मी फिट भएको स्थितिमा उनका लागि सम्भवत: ललितनारायण राजवंशीले ठाउँ छाड्नुपर्नेछ । शुक्रबारको खेल नेपालका लागि ६ वर्षयता यूएईविरुद्ध पहिलो हुनेछ ।


नेपालले यूएईविरुद्ध सन् २०१३ को आईसीसी वल्र्ड ट्वान्टी२० छनोटमा पनि खेलेको थियो । त्यस खेलमा नेपाल ५ विकेटले विजयी थियो । दुवैले सन् २०१५ को आईसीसी वल्र्ड छनोट खेलेपछि एकापसमा सामना भने गर्नुपरेन । यो खेल फेरि चार वर्षयता नेपालको पहिलो ट्वान्टी–२० पनि हुनेछ । लर्डसमा नेदरल्यान्ड्सविरुद्ध हुनुपर्ने खेल वर्षाले सम्भव भएन । नेपालले अन्तिमपल्ट पपुवा न्युगिनीविरुद्ध सन् २०१५ को आईसीसी वल्र्ड ट्वान्टी२० छनोटमा खेलेको थियो ।


पटवाल भन्छन्, ‘हाम्रो तयारी राम्रो छ । सबै खेलाडी राम्रो प्रदर्शन गर्न उत्सुक छन् ।


एकदिवसीयमा प्राप्त सफलतापछि सबै खेलाडी त्यस्तै सफलता ट्वान्टी–२० मा पनि हात पार्न चाहन्छन् । हाम्रो टिमको प्रदर्शन धेरै हदसम्म युवा खेलाडीमा टिकेको छ । हामी अनुभवी खेलाडीको गतिलो योगदान पनि उत्तिकै चाहिन्छ । यूएई निकै बलियो टिम हो । टिममा ट्वान्टी–२० क्रिकेटसँग सुहाउने खेलाडी छन् । हामीले घरमा धेरै ट्वान्टी–२० क्रिकेट खेलेका छौं, त्यसैले त्यसको फाइदा पनि हुनेछ ।’

प्रकाशित : माघ १७, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?