साफ च्याम्पियनसिप: कहिले जित्ने मानसिक युद्ध ?

साफ च्याम्पियनसिप जस्तो ठूलो प्रतियोगिता अगाडि के कस्तो तयारी गर्नुपर्छ, उनले थाहै पाउन सकेनन् । खेलाडीलाई के कस्तो आवश्यकता हुन्छ, त्यसको तयारी नै भएन 
हिमेशरत्न वज्राचार्य

काठमाडौँ — नेपाली फुटबललाई लिएर एउटा तथ्यले प्राय: हैरान हुने हुन्छ । यस्तै हैरानी ढाकामा पनि बेहोरियो । धेरै अगाडि एन्फा एकेडेमीको पहिलो समूहको उत्पादनलाई लिएर त्यो बेलाका प्रशिक्षक श्याम थापाले भनेका थिए, ‘नेपाली खेलाडी प्राविधिक रूपमा निकै उत्कृष्ट छन् ।

उनीहरूको खेल हेरेर सबै दंग पर्छन् र तिनको तुलना जापान तथा दक्षिण कोरियाका खेलाडीसँग गर्छन् ।’ नेपाली खेलाडीको प्रशंसा तिनै थापाले मात्र होइन, धेरै विदेशीले पनि गरेका छन् ।


जस्तो, यसपल्ट पनि भारतीय टिमका सहायक प्रशिक्षक बैंकटेसले भनेका थिए, ‘यसपल्टको साफ च्याम्पिनसिपमा उपाधिका प्रमुख दाबेदार नेपाल हो, किनभने नेपाली खेलाडी प्राविधिक रूपमा निकै उत्कृष्ट छन् ।’ उनीमात्र के र ? बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिप २०१८ मा सहभागी अधिकांस प्रशिक्षकले नेपाली टिमको प्रशंसा गरे । भारतीय टिमकै मुख्य प्रशिक्षक स्टेफेन कन्स्टाइनटिनले पनि माने, नेपाली टिमको खेलले मन जित्छ ।


हैरानी के भने नेपाली टिमले मन त जित्छ, तर निर्णायक खेलमा किन जित्न सक्दैन ? सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग पराजित हुँदै बाहिरियो । हार पनि कस्तो भने बिर्सनलायक, ३–० को । जबकि यो खेलअगाडि कम्तीमा कागजमा स्पष्ट दाबी के गर्न सकिन्थ्यो भने जित्नुपर्ने टिम त नेपाल नै हो । जसरी नेपाल सेमिफाइनल पुगेको थियो र जसरी माल्दिभ्सले अन्तिम चारको यात्रा तय गरेको थियो, त्यो नितान्त फरक थियो ।


नेपालले समूह चरणको आफ्नो पहिलो खेलमै पाकिस्तानविरुद्ध हार बेहोर्‍यो । तर गज्जबको पुनरागमन रच्दै खेलमा फर्कन सक्यो । यसका लागि सुरुमा भुटानलाई हरायो पछि बंगालदेशलाई । यो दुई जितले नेपाल समूह विजेता नै बन्न सफल रह्यो । जबकि पाकिस्तानविरुद्ध हारेपछि धेरैले अनुमान गरिसकेका थिए, नेपाल अब चाँडै घर फर्कने छ । फेरि लिग चरणको पहिलो खेल हारेर नेपालले यसअघि कहिल्यै नकआउट चरणमा स्थान बनाएको छैन ।


यो एक प्रकारले नेपाली फुटबलले आफ्नो मानसिकतामाथि प्राप्त गरेको जित हो । अब माल्दिभ्सको सेमिफाइनल यात्राको चर्चा गरौं न । सायद माल्दिभ्स अन्तिम चारलाई योग्य थिएन । लिग चरणका दुई खेलमा माल्दिभ्सले कुनै जित त निकाल्न सकेकै थिएन । अझ कुनै गोल पनि गरेको थिएन । यस्तोमा जित्नुपर्ने टिम नेपाल नै हो नि । फेरि नेपालसामु यसपल्ट जत्तिको उपाधि जित्ने राम्रो अवसर कहिल्यै प्राप्त भएको थिएन ।


त्यसो त सन् २०११ मा पनि यस्तै भनिएको थियो, सन् २०१३ मा पनि दोहोर्‍याएर यस्तै भनियो । नयाँ दिल्लीमा पनि नेपाल सेमिफाइनल पुगेको थियो । त्यति बेला नेपालले लिग चरणमा कुनै खेल गुमाएन । तर अफगानिस्तानसँग १–० ले माथ खायो । अफगानिस्तान त्यति बेला बलियो टिम थिएन । त्यसैले विश्वास गरिएको थियो, नेपालले यो टिमविरुद्ध जित निकाल्न सक्नेछ । तर त्यस्तो भएन । त्यसपछि काठमाडौंमा भएको साफ च्याम्पियनसिप ।


त्यति बेला पनि नेपालले लिग चरणमा कुनै खेल गुमाएन । अझ त्यसको अन्तिम खेलमा भारतलाई २–१ ले हराएको थियो । नेपालले ९० मिनेटको खेलमा भारतलाई हराएको त्यो नै पहिलो अवसर थियो । तर सेमिफाइनलमा फेरि एकपल्ट पराजित रह्यो र त्यति बेला नेपालको प्रतिद्वन्द्वी थियो, अफगानिस्तान । त्यसमा नेपाल १–० ले पराजित रह्यो । त्यस अगाडि सन् १९९९ मा पनि नेपाल गोवामा भएको साफ च्याम्पियनसिपमा सेमिफाइनल पुगेको थियो ।


तर त्यति बेलाको अन्तिम चारको यात्रा चिठ्ठा परे जस्तै थियो । यस्तै कथा सन् १९९५ को सार्क गोल्डकपको पनि हो । जेहोस्, नेपाल तीन अवसरमा फाइनल प्रवेशका लागि निकै राम्रो उम्मेदवार थियो, तर कुनै पनि अवसरमा ‘जिङक्स’ तोडिएन । नयाँ दिल्लीमा नेपाल हारेयता त्यति बेलाका प्रशिक्षक ग्राहम रोबर्ट्स भन्थे, ‘फुटबल एक प्रकारले मानसिक युद्ध हो । सायद हाम्रा खेलाडी ठूलो अवसरका लागि अझै मानसिक रूपमा तयार हुन सकेका छैनन् कि ?’


काठमाडौंमा सेमिफाइनलमै रोकिएपछि त्यति बेलाका प्रशिक्षक ज्याक स्टेफानोस्कीले भन्थे, ‘सायद हाम्रा खेलाडी ठूलो खेलमा मानसिक रूपमा कमजोर हुन्छन् कि ? नेपाललाई आफ्नै मैदानमा उपाधि जित्ने ठूलो अवसर थियो । तर हामी त्यस अगाडि नै चुक्यौं ।’ अहिलेको साफ च्याम्पियनसिपमा पनि लगभग त्यस्तै भयो । बंगलादेशको सामना गर्नु अगाडि टिमले जुन प्रहारको ‘बडी ल्याङवेज’ देखाएको थियो, त्यस्तै शारीरिक हाउभाउ माल्दिभ्सको सामना गर्नु अगाडि देखिएन ।


अचेल विश्व फुटबलमा के भनिन्छ भने खेल मैदानमा मात्र जितिन्न, मैदानबाहिर पनि जित्न सकिन्छ । यो शारीरिकमात्र हुन्न, मानसिक पनि हुन्छ । अचेल टिमसँग व्यवस्थापक, प्रशिक्षक, चिकित्सक र फिजियो मात्र हुन्न, ‘साइकोलोजिस्ट’ पनि हुन्छ । अर्थात् मनोविज्ञ । फुटबलको सिद्धान्त नै हो, खेल त ९० मिनेटको मात्र हुन्छ, तर त्यसका लागि तयारी घण्टौंको हुन्छ, अझ त्यो भन्दा धेरै अगाडिदेखि । नेपाली फुटबल सम्भवत: यसमा नराम्रोसँग चुकिरहेको छ ।


शस्त्रबिना लडिएको युद्ध
साफ च्याम्पियनसिप २०१८ मा प्रशिक्षणको दृष्टिकोणबाट केही भुल भए होलान्, यसबारे पनि चर्चा त चाहिन्छ नै । तर टिमको व्यवस्थापन पक्षबाट भएको भुल क्षमायोग्य थिएन । टिमको व्यवस्थापन कति कमजोर ढंगले भएको थियो, त्यसको उदाहरण त माल्दिभ्सविरुद्धको खेलमा प्रस्टै देखियो । वर्षा र चट्याङका कारण त्यस सेमिफाइनल खेल २७ मिनेट रोकिएको थियो । खेलाडी मैदान छाडेर ड्ेरसिङ रूममै गए । मौसम अनुकूल हुँदा दुवै टिम मैदानमा फर्के ।


तर त्यसमा एउटा तथ्य फरक थियो । माल्दिभ्सका खेलाडी सुकेको सफा जर्सीमा थिए । नेपाली खेलाडी पुरानै भिजेको जर्सीमा थिए । नेपालसँग दुई सेट जर्सी पनि थिएन । पानीले बंगबन्धु रंगशालाको मैदान हिलाम्ये बनाएको थियो । यस्तोमा खेल्न खेलाडीले ‘स्टड’ भएको बुट लगाउँछन् । सामान्य भाषामा फलामको गट्टा भएको जुत्ता । माल्दिभ्सका खेलाडीले यस्तै जुत्ता लगाएर खेले, तर नेपाली खेलाडीसँग यस्तो बुट थिएन । त्यसैले नेपाली खेलाडी मैदानमा बारम्बार लडिरहे । अथवा खेलाडी नियन्त्रणमा देखिएनन् । यो त शस्त्रबिना लडिएको युद्धजस्तै रह्यो । नेपाली टिमका व्यवस्थापक थिए, बाबुकाजी बस्नेत । सम्भवत: उनीसँग यति ठूलो अवसरमा टिम सम्हालेको अनुभव थिएन । सायद उनले कुनै स्तरमा पनि टिम सम्हालेका थिएनन् । एन्फाकै पदाधिकारीलाई मान्ने हो भने भागबन्डाकै राजनीतिमा उनले राष्ट्रिय टिममा व्यवस्थापनको अवसर पाएका थिए ।


त्यसैले साफ च्याम्पियनसिप जस्तो ठूलो प्रतियोगिता अगाडि के कस्तो तयारी गर्नुपर्छ, उनले थाहै पाउन सकेनन् । खेलाडीलाई के कस्तो आवश्यकता हुन्छ, त्यसको तयारी नै भएन । थाहा नपाएर त हो, उनले सेमिफाइनल अगाडिको ‘जर्सी साइनिङ’ कार्यक्रममा गम्भीर भुल गरे । नेपालले राष्ट्रिय टिमको जर्सीका लागि केल्मेसँग अनुबन्ध गरेको छ । तर त्यस साइनिङ कार्यक्रममा प्रस्तुत गरिएको जर्सी अर्कै ब्रान्डको थियो । केल्मे आफैंले यसमा असन्तुष्टि व्यक्त गरिसकेको छ ।


केल्मेले एन्फासँग ७५ लाख रुपैयाँको नयाँ अनुबन्ध गर्ने कुरा अगाडि बढिरहेको थियो, यो प्रकरणले गर्दा त्यसमा बाधा अड्चन आउनसक्छ । टिमको प्रशिक्षक हुन उसले खास–खास चरणको प्रशिक्षण लिनुपर्छ । जो–कोहीले फुटबलमा प्रशिक्षक हुनु पाउनुपर्छ भनेर पाइन्न । व्यवस्थापक भने जोसुकै हुन पाउँछ र ? व्यवस्थापकलाई फुटबलबारे पर्याप्त जानकारी हुनुपर्छ । यसपल्टको साफ च्याम्पियनपिसमा व्यवस्थापन पक्षमात्र होइन, त्यसबारे निर्णय गर्ने एन्फा पनि दोषी देखियो, यो प्रकरणमा ।

प्रकाशित : भाद्र ३०, २०७५ ०८:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

साफ च्याम्पियनसिप फुटबल: सेमिफाइनल जिङ्क्स

नेपाल ०–३ माल्दिभ्सभारत ३–१ पाकिस्तान
हिमेशरत्न वज्राचार्य

ढाका — नेपाल फेरि एकपल्ट साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमै रोकिएको छ । नेपालले अहिलेसम्म दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगितामा फाइनल पुग्न सकेको छैन । यस संस्करणको कथा पनि उही रह्यो ।

साफ च्याम्पियनसिपको बुधबार सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएपछि मैदान बाहिरिँदै नेपाली खेलाडी । तस्बिर : कञ्चन अधिकारी

नेपाल प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार माल्दिभ्सको हातबाट पराजित रह्यो । यो नेपालका लागि ‘एन्टी क्लाइमेक्स’ रह्यो ।


खेलअगाडि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले दाबी गरेका थिए, नेपालका लागि ऐतिहासिक दिन आउँदै छ । खेलाडीले त्यसलाई मिल्दो मैदानमा खेल्न सकेनन् । अन्त्यमा यो पूर्णत: बिर्सनलायक रह्यो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल सेमिफाइनलमै रोकिएको यो चौथोपल्ट हो । यसअघि नेपाल सन् १९९९, २०११ र २०१३ को संस्करणमा पनि सेमिफाइनलमै पराजित रहेको थियो ।


साफ बन्नुअगाडि यो प्रतियोगिता सार्क गोल्डकपको नामले आयोजना हुन्थ्यो । नेपाल १९९५ को सार्क गोल्डकपमा पनि सेमिफाइनलबाट अगाडि बढ्न सकेको थिएन । बुधबारको पराजयपछि नेपालले सेमिफाइनल ‘जिङ्क्स’ लाई तोड्न सकेन । त्यतिमात्र होइन, साफ च्याम्पियनसिपकै इतिहासमा नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन र यो क्रम पनि टुटेन ।

वर्षा झेल्दै बंगबन्धु रंगशालामा उपस्थित नेपाली समर्थक ।


नेपालले लिग चरणमा भुटान र बंगलादेशलाई हराएर समातेको लयबाट फाइदा लिन सकेन र यो लय माल्दिभ्सविरुद्ध पूर्णत: रोकिएको देखियो । खेलको सुरुदेखि नेपालको प्रदर्शन एकदमै फिक्का देखिएको थियो । एक गोलले पछाडि रहेको स्थितिमा नेपालले केही आक्रमण बुने पनि अन्त्यतिर टिमको प्रदर्शन नितान्त कमजोर साबित भयो ।


अपेक्षा विपरीत खेल
नेपाली टोलीका मुख्य प्रशिक्षक महर्जनले टिमको योजनाअनुसार खेलाडीको प्रदर्शन नभएको बताए । उनले भने, ‘टिमको प्रदर्शन सोचेजस्तो हुन सकेन । आज हामीलाई भाग्य र मौसम दुवैले साथ दिन सकेन । फेरि माल्दिभ्सका केही प्रमुख खेलाडीले निकै राम्रो प्रदर्शन गरे । माल्दिभ्सको फुटबल यसअघि पनि राम्रो थियो । यसपल्ट केही प्रमुख खेलाडी पनि राम्रो नै देखियो । फेरि एकपल्ट हामी सेमिफाइनलभन्दा अगाडि बढ्न सकेनौं ।’


लगातारको भारी वर्षा र चटयाङको सम्भावनाका कारण खेल २७ औं मिनेटमा रोकिएको थियो । त्यसको ३३ मिनेटपछि मात्र खेल पुन: सुरु भएको थियो । पानीले भिजेको मैदानमा नेपाली खेलाडी संघर्षरत् देखिए ।


भाग्यमानी माल्दिभ्स
माल्दिभ्सले लिग चरणमा कुनै खेल जितेको त थिएन नै । कुनै गोल पनि गरेको थिएन । यस्तोमा उसको सेमिफाइनल यात्रालाई लिएर आलोचना भइरहेको थियो । सेमिफाइनल पुग्ने टिमका लागि भएको ‘टस’ मा भाग्यमानी साबित भएपछि मात्र माल्दिभ्सले नेपालसँग खेल्ने अवसर पाएको थियो । फुटबलमा भन्ने गरिन्छ, भाग्यले ‘बहादुर’ लाई मात्र साथ दिन्छ । नेपालविरुद्धको खेलमा माल्दिभ्स बहादुर देखियो । माल्दिभ्स यो जितका लागि हकदार रह्यो । माल्दिभ्सले नवौं मिनेटमा अक्रम अब्दुल घानीले गोल गरे ।


पेनाल्टी क्षेत्रबाहिरबाट उनले गरेको फ्रि–किक प्रहार गोलमा परिणत भयो । उनले मैदानको दायाँ भागबाट गरेको प्रहारले नेपाली गोलरक्षक किरण लिम्बुको कमजोरी प्रस्ट देखाएको थियो । यस स्थितिमा किरणले यसअघि पनि गोल खाइसकेका छन् र यो उनले सुधार्नुपर्ने पक्ष रह्यो । संयोगले यो नै प्रतियोगितामा माल्दिभ्सको पहिलो गोल पनि रह्यो । माल्दिभ्सका पछिल्ला दुई गोल इब्राहिम हसनले गरे । उनले ८४ र ८६ औं मिनेटमा गोल थपेका हुन् ।


दुवै गोलको कारण नेपालको कमजोर डिफेन्स रह्यो । दुवै अवसरमा हसनले नजिकको दूरीबाट गोल गरेका हुन् । नेपालले ७५ औं मिनेटमा डिफेन्डर सुमन अर्याललाई सब्स्टिच्युट गर्दै विशाल राईलाई उतारेको थियो र यो टिमका लागि घातक साबित भयो । दुवैको गोलको अवसरमा नेपाली डिफेन्समा कुनै प्रकारको तालमेल देखिएन । एक विशेषज्ञ डिफेन्डरको अभावमा नेपाली टिममा देखिएको कमजोरीबाट माल्दिभ्सले फाइदा लिन सक्यो ।


नेपाली टिम : किरण लिम्बु, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल (विशाल राई ७५), दिनेश राजवंशी, सुजल श्रेठ, रोहित चन्द, नीराजन खड्का (नवयुग श्रेष्ठ ६०), सुनील बल, भरत खवास (अन्जन विष्ट ६०), विमल घर्तीमगर ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT