कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१८ आैं एसियाली खेलकुद : कमलद्वारा कीर्तिमान, सुस्मिता उत्कृष्ट

ध्रुव तुलाधर

जकार्ता, इन्डोनेसिया — भारोत्तोलक कमलबहादुर अधिकारीले १८ आैं एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । जीआई एक्स्पोको हलमा बुधबार ६९ केजीमुनि प्रतिस्पर्धा गरेका कमलले स्न्याच र क्लिन एन्ड जर्कसहित कुलमा गरी तीन राष्ट्रिय कीर्तिमान बनाए ।

१८ आैं एसियाली खेलकुद : कमलद्वारा कीर्तिमान, सुस्मिता उत्कृष्ट

बुधबार उनले स्न्याचमा १ सय १९ केजी र क्लिन एन्ड जर्कमा १ सय ६० केजीसहित कुल २ सय ७९ केजी तौल उचाले । स्न्याचमा आफ्नै नामको १ सय १८ केजीको कीर्तिमान पनि तोडे, जुन २०७१ सालमा काठमाडौंमा भएको ग्राँपी भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए । क्लिन एन्ड जर्कमा भने बेइजिङ ओलम्पिकको कीर्तिमान तोडे । उनले सन् २००८ को बेइजिङमा क्लिन एन्डमा १ सय ५५ केजी उचालेका थिए । जकार्तामा १ सय ६० केजी उचाले । त्यसअघि दोस्रो लिफ्टमै १ सय ५६ केजी उचाल्दै कीर्तिमान तोडिसकेका थिए ।


स्न्याचमा उनको पहिलो लिफ्ट ब्रिगिएको थियो । दोस्रोमा १ सय १३ र तेस्रोमा १ सय १९ उचालेका हुन् । क्लिन एन्डतर्फ पहिलोमा १ सय ५०, दोस्रोमा १ सय ५६ र तेस्रोमा १ सय ६० केजी उठाएका थिए ।
यस एसियाडको मार्चपासमा नेपालको नेतृत्व गर्दै झन्डा बोकेका कमलबहादुर कोलम्बो सागका स्वर्ण विजेता हुन् । उनी साग इतिहासमै भारोत्तोलनबाट स्वर्ण जित्ने एक्लो नेपाली खेलाडी हुन् । उनले लगातार चार एसियाड खेले । यसअघि दोहा २००६, २०१० ग्वाङझाउ र २०१४ इन्चोन एसियाड खेलेका उनले दोहामा २ सय ५५, ग्वाङझाउमा २ सय ७० र इन्चोनमा २ सय ६५ केजी उठाएका थिए ।


उसु
सुस्मिता तामाङले बुधबार उत्कृष्ट प्रदर्शन दिएसँगै १८ औं एसियाली खेलकुदमा उसुले आफ्नो यात्रा टुंग्याएको छ । जेआई एक्स्पोस्थित हल ‘बी’ मा महिला थाउलुको छान छ्वानमा सुस्मिताले ९.२५ अंक बटुलिन् । उनी १२ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता खेलाडी हुन् । सागमा रजत जित्दा ८.७२ को प्रदर्शन गरेकी उनले त्यसलाई उछिनेकी छन् । सागमा स्वर्ण जित्दा भारतीय सपना देवीको अंक ९.४५ थियो ।


एसियाडको यो इभेन्टमा चीनकी झिनी क्वीले स्वर्ण जित्दा ९.७४ अंक जोडेकी थिइन् । एसियाडमा सुस्मिताले चाइनिज ताइपेई र म्यानमारलाई पछाडि पार्दै सातौं स्थान ओगटेकी छन् । उनको इभेन्टसँगै नेपालको जारी एसियाडमा उसुबाट पदक आशा सकिएको छ ।


उसुमा नेपालले १० खेलाडी सहभागी गराएको थियो । सागकी स्वर्ण विजेता निमा घर्तीमगर, रजत विजेताद्वय युवराज थापा, विजय सिञ्जाली, सुस्मितासहित लुमन्ती श्रेष्ठ, जुनी राई, चित्रसिंह ठकुरी, मंगलप्रसाद थारू, पदम ठकुल्ला र वीरमान लामाले एसियाडमा सहभागिता जनाएका थिए । वीरमान चोटका कारण टिममा रहे पनि प्रतिस्पर्धामा उत्रिएनन् ।
निमा, युवराज र सुस्मिता सागको प्रदर्शनमा राम्रो सुधार गरेर फर्किएका छन् ।


उसुका प्रशिक्षक अमरबहादुर थिङले आफ्नो स्तरअनुसार एसियाडमा राम्रो प्रदर्शन गरेको बताए । उनले भने, ‘हाम्रो लक्ष्य एसियाभन्दा पनि दक्षिण एसियामा पदक जित्नका लागि हो । यहाँ हाम्रोभन्दा माथिल्लो स्तरका देश धेरै छन् । पदकको आस गर्नु छुट्टै कुरो हो । त्यसैले हामीले जतिसक्दो खेलाडीको र्‍याकिङ सुधार्दै जानु राम्रो हो ।’


महिला सान्सौं ६० केजीमा लुमन्ती श्रेष्ठले एक खेल जितेको भए पदक जित्ने अवसर थियो । तर क्वाटरफाइनलको उक्त खेलमा उनी असफल भइन् । उनले थाई प्रतिद्वन्द्वी सुचयालाई पहिलो राउन्डमै खेल सुम्पिएकी थिइन् ।


एसियाडमा उसुको यो छैटौं सहभागिता हो । सन् १९९४ को हिरोसिमा एसियाडमा उसुले पहिलोपल्ट भाग लिएको थियो । उसुले एसियाडमा पदक जित्न सकेको छैन ।
१२ औं साग खेलकुदमा उसुले १ स्वर्ण र १० रजतपदक जितेकाले त्यसकै बलमा उसुबाट एसियाड पदक आस गरिएको थियो । तर उसु संघभित्रको आन्तरिक खिचातानी र विवादका कारण अन्तिम समयसम्म पनि खेलाडीको प्रशिक्षण अन्योलमा थियो । उनीहरूले गतिलो प्रशिक्षणसमेत पाएका थिएनन् । त्रिपुरेश्वरस्थित भत्किएको रंगशालाको कभर्डहलमा ट्ेरनिङ गरेका थिए । एसियाड आउनु अन्तिम समयतिर उसुका खेलाडी वैदेशिक प्रशिक्षणमा चीन गएका थिए । उसुका प्रशिक्षकले भने २० दिन ट्ेरनिङ भनेर गइयो, त्यहाँ बिदा परेर पूरा दिन प्रशिक्षण गर्न नपाएको सुनाए ।


भलिबल
राष्ट्रिय खेलसँगै ३२ वर्षपछि एसियाडमा फर्केको नेपाली भलिबलले टोलीले १८ आैं एसियाली खेलकुदको पहिलो खेलमा सम्मानजनक हार बेहोरेको छ । बुधबार जीबीके रंगशालाको इन्डोर भलिबल स्टेडियममा भएको खेलमा नेपाली टोली चाइनिज ताइपेईसँग प्रतिस्पर्धात्मक खेल्दै सोझो सेटमा हारेको हो ।


नेपालको राष्ट्रिय खेलको दर्जा पाएपछि भलिबलको यो पहिलो ठूलो अन्तर्राष्ट्रिय सहभागिता हो । गत वर्षमात्र भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको थियो ।


समूह ‘बी’ मा रहेको नेपालको टोली ताइपेईसँग २५–२३, २५–१९, २५–१५ को सोझो सेटमा हारेको थियो । इम रानामगरको कप्तानीमा उत्रेको नेपालले पहिलो सेटमा ८–२ को स्थितिलाई छोटयाउँदै एकपछि अर्को अंक बटुलेको थियो । दोस्रो सेटमा एक समय नेपालले १३–१३ को खेल स्थिति बनायो । अन्तिम सेटमा एकपछि अर्को गल्ती गर्दा विपक्षीले अंक बटुल्ने मौका पाएको थियो । स्पाइकबाट नेपालले २५ अंक बटुल्दा ताइपेईले ३९ अंक लिएको थियो । सर्भिसबाट दुवै टोलीले समान ८ अंक जोडेका थिए । नेपालका धनबहादुर क्षेत्रीले स्पाइकबाट १२, मानबहादुरले ८, राजु शेरचनले २, भैरवबहादुर बमले १ अंक बटुले । हरिबहादुर अधिकारीले सर्भिसबाट ४ अंक लिए ।


नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले जितको नजिक पुगेर अन्तर्राष्ट्रिय अनुभवका कारण हार्नुपरेको बताए । उनले भने, ‘हाम्रा केटाहरूले सोचेभन्दा राम्रो खेलेका हुन् । अनुभवको कमीले हार्‍यौं ।’ ताइपेई एसियाकै नवौं वरीयताप्राप्त हो भने नेपाल वरीयताविहीन छ ।


यस्तो किसिमको फ्लोरमा २० दिन अभ्यास र २–४ वटा अभ्यास खेल खेल्न पाएको भए राम्रो नतिजा दिन सकिने प्रशिक्षक भट्टले बताए । नेपाली टोली महेन्द्रनगरमा दुई महिना बन्द प्रशिक्षणमा रहेर यहाँ खेल्न आएको हो ।


नेपालले अर्को खेलमा दक्षिण कोरियासँग शुक्रबार खेल्नेछ । कोरियासँग अझै राम्रो प्रदर्शन गर्ने प्रशिक्षक भट्टको विश्वास छ ।


सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न १० औं एसियाडमा नेपाली भलिबलले सहभागिता जनाएको थियो । टोली ३२ वर्षपछि १८ औं संस्करण खेल्न दुई विदेशी प्रशिक्षकसाथ जकार्ता आइपुगेको हो । विदेशी प्रशिक्षक लेस्की डिजोन्ड्री र दामिर चोलोसहित जगदीश भट्टको प्रशिक्षण टोली रहेको छ ।


नेपाली पुरुष टोलीले गत वर्ष माल्दिभ्स र बंगलादेशमा सम्पन्न तेस्रो र चौथो सेन्ट्रल जोन भलिबलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । तेस्रो सेन्ट्रल जोनमा तेस्रो हुँदा नेपाली टोली चौथो संस्करणको सेमिफाइनल पुगेको थियो ।


कप्तान इमले पदकभन्दा पनि टोलीलाई राम्रो र्‍याकिङमा पुर्‍याउने लक्ष्यसहित एसियाड खेल्न आएको बताउँदै आएका छन् ।


तेक्वान्दो
एसियाडमा बुधबार नेपालबाट प्रतिस्पर्धा गरेका दुवै खेलाडी पदकतर्फ लम्कन सकेनन् । सागका रजत विजेता तेक्वान्दो खेलाडी वीरबहादुर महरा र भूपेन श्रेष्ठ प्रतिस्पर्धामा रहे । वीरबहादुरले पहिलो खेल जिते भने भूपेन श्रेष्ठले बाई पाएर अन्तिम १६ को चरण खेलेका थिए ।


पुरुष ६३ केजीमुनि तौल समूहमा वीरबहादुरले अफगानिस्तानका अहमद बाखसीलाई पराजित गरी प्रि–क्वाटरफाइनल पक्का गरेका थिए । जीसीसी हलमा वीरबहादुरले अफगानी प्रतिद्वन्द्वीलाई २४–१३ अंक अन्तरले हराए । उनले १२ औं दक्षिण एसियाली खेलकुदमा अहमदसँग पराजित हुँदाको बदला लिए । सागमा वीरबहादुरलाई हराएर अहमदले स्वर्ण जितेका थिए । बदला लिने क्रममा आक्रामक सुरुआत गरेका वीरबहादुरले पहिलो राउन्डमै १३–४ को अग्रता बनाए । त्यसमा तीन हेड किकको ९ अंक सामेल थियो । अन्तिम राउन्डमा दुवैले ८–८ अंक बटुलेका थिए । दुवैले २–२ हेड किक प्रहार गरे ।


तर वीरबहादुर दोस्रो खेलमा कजाकिस्तानका काजिबेव बख्तयारुलीसँग ३०–१९ अंक अन्तरमा पराजित भए । सुरुमै हेड किकबाट अंक बटुलेका वीरबहादुरले पहिलो राउन्डमा ४–४ को बराबरी खेलेका थिए । पछिल्लो दुई राउन्डमा विपक्षीले समान १३ अंक बटुल्दा वीरबहादुरले ६ र ९ अंकमात्र बटुल्न सके । कजाकिस्तानका खेलाडीले बाई पाएर अन्तिम १६ मा खेलेका थिए ।


अर्का खेलाडी भूपेन भने अफगानी रमेश हुसैनसँग २७–७ अंकले पराजित भए । पहिलोपल्ट ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका भूपेनविरुद्ध अफगानीले आक्रामक खेल्दै एटयाकबाट २२ अंक जोडेका थिए । भूपेनले एटयाकबाट ४ अंकमात्र लिए ।


एसियाडमा नेपालका लागि सफल खेल दरिएको तेक्वान्दो यसपल्ट पनि पदकविहीन हुने देखिएको छ । बिहीबार नेपालका दुई खेलाडीको खेलमात्र बाँकी छ । सन् २००६ को दोहा एसियाडपछि नेपालले तेक्वान्दोमा पदक जितेको छैन । १२ औं दक्षिण एसियाली खेलकुदमा पनि नेपाली तेक्वान्दो स्वर्णविहीन बनेको थियो ।

पौडीका शुभम् श्रेष्ठ ।


पौडी
पौडीतर्फ ओलम्पियन गौरिका सिंह र शुभम् श्रेष्ठ बुधबार राष्ट्रिय कीर्तिमान बनाउन असफल भए । महिला २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी ओलम्पियन गौरिकाले २ मिनेट १२ दशमलव ५३ सेकेन्डमा दूरी पार गरिन् । उनले आफ्नै नामको कीर्तिमानलाई सुधार्न सकिनन् ।


जीबीके एक्वाटिक पौडी सेन्टरमा बुधबार बिहान गौरिकाले हिट १ मा प्रतिस्पर्धा गरेकी थिइन् । यस इभेन्टमा उनकै नाममा २ मिनेट ११.९४ सेकेन्डको कीर्तिमान छ । २४ प्रतिस्पर्धी रहेको यस इभेन्टमा गौरिकाले १९ औं स्थान हासिल गरिन् । उनले मकाउ, पाकिस्तान, मंगोलिया र टिमोर लिस्टेका खेलाडीलाई पछाडि पार्नु नै सफलता थियो ।


पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका शुभम्ले १ मिनेट ११.३७ सेकेन्डमा दूरी पार गरे । उनले आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार्न थोरैले चुके । उनले हंगेरीको बुढापेस्टमा सन् २०१७ को वल्र्ड फिना च्याम्पियनसिपमा १ मिनेट ११.३४ सेकेन्डको कीर्तिमान राखेका थिए । उक्त इभेन्टका ३२ प्रतिस्पर्धीमध्ये उनी २७ औं स्थानमा थिए ।


फेन्सिङ
महिला साबरे टिमतर्फ अन्तिम १६ को खेलमा नेपाली टोली थाइल्यान्डसँग ४५–१० अंकले पराजित भएको छ । नेपालबाट कमला श्रेष्ठ, अस्मिता बस्नेत, रविना थापा र मीनादेवी पौडेलले सहभागिता जनाएका थिए । कमलाले मात्र एउटा खेलमा ४ टच प्वाइन्ट ल्याएकी थिइन् ।


टेनिस
एसियाड भइरहेको दोस्रो सहर पालेम्बाङमा टेनिसतर्फ राणा दिदीबहिनी मायांका र माहिकाको जोडीले जापानी जोडी मोयुका उचिजिमा र इरिना हायसीको जोडीसँग ६–०, ६–० को हार बेहोरेको थियो । दिदीबहिनीको जोडी माल्दिभ्सको जोडीलाई हराउँदै अन्तिम १६ को राउन्डमा पुगेको थियो । दिदीबहिनीको एसियाडमा यो दोस्रो सहभागिता हो । यसअघि उनीहरूले इन्चोन एसियाडमा खेलेका थिए । जारी एसियाडमा टेनिसको यात्रा पनि सकिएको छ ।


कबड्डी
नेपालले कड्डडीमा जित हासिल गरेको छ । नेपालले मलेसियालाई २९–१७ अंकले पराजित गर्‍यो । थिएटर गरुडाको कोर्टमा खेलेको नेपालले पहिलो हाफमा १२–१० को साँघुरो अग्रता लिएको थियो भने दोस्रो हाफमा १७ अंक जोडेको थियो । मलेसियाले ७ अंकमात्र बटुल्न सक्यो ।


नेपाली टोलीले सुरुको दुई खेलमा प्रभावशाली प्रदर्शन गर्दै अन्तिममा हार बेहोरेको थियो । बुधबार इरानसँगको पहिलो खेल भने नेपालले ७५–२१ अंकले गुमाएको थियो । तर दिनकै दोस्रो खेलमा मलेसियालाई हराएको हो ।


समूह ‘बी’ मा रहेको नेपालले अब पाकिस्तानसँग खेल्न बाँकी छ ।

महिला बास्केटबलमा नेपाली टोली चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दै ।


बास्केटबल
महिला बास्केटबलमा नेपाली टोली बुधबार चाइनिज ताइपेईसँग १९–९ स्कोरले पराजित भएको छ । थ्री बाई थ्री बास्केटबलमा नेपालबाट एलिना गुरुङ, श्रेया खड्का, भावना लामा र अनुषा मल्लले खेलेका थिए ।


समूह ‘बी’ रहेको नेपालले राउन्ड रोबिनमा जापान र मंगोलियासँग खेल्नेछ । मंगलबारै जापानले मंगोलियालाई २२–१ ले हराएको थियो ।


पाराग्लाइडिङ
एसियाली खेलकुदमा पहिलोपल्ट समावेश पाराग्लाइडिङमा आयोजक इन्डोनेसियाले ६ स्वर्णपदक निश्चित गरिसकेको छ । नेपालले पनि पदक आस गरेको खेलमा बुधबार पुरुष टिम एकुरेसीमा नेपाल आठौं र महिला टिम एकुरेसीमा सातौं स्थानमा रहेर खेल टुंग्यायो ।


इन्डोनेसियाले स्वर्ण जित्दा दक्षिण कोरिया र थाइल्यान्डले रजत र कांस्य जितेका थिए । नेपालले जापान, मंगोलिया, इरान, लाओस कतार, अफगानिस्तान र कुवेतलाई पछाडि पारेको थियो ।


नेपाली टोलीबाट विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापाले प्रतिस्पर्धा गरेका थिए ।


महिलामा प्रतिभा भुजेल, त्रिशा श्रेष्ठ बम्जन र सविता तामाङले खेलेका थिए ।


महिला व्यक्तिगत एकुरेसीको आठौं चरण सकिँदा नेपालकी त्रिशा श्रेष्ठ बम्जन र प्रतिभा भुजेल १४ र १५ औं स्थानमा छन् ।


सुटिङमा भारतको ८ पदक
१८ औं एसियाडमा बुधबारसम्म ३४ स्वर्णपदक जित्दै चीन पदकतालिकामा अगाडि छ । उसलाई जापानले १६ स्वर्णसहित पछयाइरहेको छ । दक्षिण कोरियाले ९ स्वर्ण, आयोजक इन्डोनेसियाले ६, इरानले ५ स्वर्णपदक जितिसकेका छन् ।


एसियाका ४५ राष्ट्रले सहभागिता जनाउँदा अहिलेसम्म १७ राष्ट्रले स्वर्णपदक जितिसकेको छ । २३ राष्ट्रले कुनै न कुनै पदक जितेका छन् । भारतले सुटिङ र कुस्तीमा २–२ स्वर्ण पदकसहित कुल ११ पदक जितेको छ । त्यसमा पनि आठ पदक त सुटिङकै हो ।


उत्तर कोरियाले पनि ४ स्वर्णमा नाम लेखाइसक्दा भारतबाहेक अन्य दक्षिण एसियाली राष्ट्रले पदक जित्न सकेका छैनन् ।

खेलस्थलमा इद मनाइयो
पालेम्बाङ– एसियाली खेलकुदमा सहभागिता जनाउन आएका सयौं मुस्लिम खेलाडी तथा पदाधिकारीले पालेम्बाङस्थित जाकाबारिङ सपोर्ट सिटीमा इदुल अदा मनाएका छन् । साउदी अरेबिया, उज्वेकिस्तान, पाकिस्तान, मलेसिया र बंगलादेशका झन्डै हजारभन्दा बढीले सपोर्ट सिटीभित्रको अर–रहमान मस्जिदमा प्रार्थना गरेका थिए । मस्जिदका सोलेह हरुनले त्यहाँ पहिलोपटक इदुल अदाको प्रार्थना गरिएको बताए । अन्य समयमा चहलपहल नहुने हुनाले मस्जिद सुनसान रहने उनले बताए ।

प्रकाशित : भाद्र ७, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?