कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा 

विनोद पाण्डे

काठमाडौँ — कप्तान पारस खडकाले टिम सूची म्याच रेफ्रीलाई बुझाउने छन् । टसको सिक्का सम्भवत: घरेलु टोली भएकाले नेदरल्यान्ड्सका कप्तान पिटर सिलारसँग हुनेछ ।

नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा 

उनले ‘हेड अथवा टेल’ भन्नेछन् । पारसले त्यसमा एउटा छान्ने छन् । त्यससँगै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने राष्ट्रमा प्रवेश गर्नेछ ।


नेदरल्यान्ड्सको एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए क्रिकेट मैदानले बुधबार नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने २३ औँ राष्ट्र बनाउनेछ । आईसीसी ११, एसिया ११, अफ्रिका ११ र इस्ट अफ्रिका गरी कुल २६ टोलीले यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन् । नेपाल २७ औं टोली बन्नेछ ।


हाल एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका १६ राष्ट्र मात्र छन् । त्यसभित्र टेस्ट खेल्ने १२ राष्ट्र पर्छन् । नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड र यूएई भने एकदिवसीय अन्तर्राष्ट्रिय मात्र खेल्नेछन् । टेस्ट खेल्ने १२ राष्ट्र र नेदरल्यान्ड्सले माथिल्लो वरीयतामा प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बाँकी अन्यले भने अर्को वरीयतामा खेल्नेछन् ।


‘वर्षौंदेखि नेपाली क्रिकेटसँग सम्बन्धित व्यक्तिहरूले गरेको मिहिनेत, इमानदारिता र कामको फल उब्जेको दिन हो आज,’ पारसले नेदरल्यान्ड्सबाट कान्तिपुरसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको दिनलाई व्याख्या गरे ।

उनकै कप्तानीमा नेपालले २०१४ मा टवान्टी–२० विश्वकप खेलेको थियो । अहिले एकदिवसीय अन्तर्राष्ट्रियमा पनि एक कदम पाइला बढाएको हो ।


नेदरल्यान्ड्ससँगको खेलबाट नेपाल ऐतिहासिक रूपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्लबमा प्रवेश गरे पनि वरीयतामा आउन कम्तीमा चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुपर्नेछ । नेदरल्यान्ड्ससँग नेपालले दुई खेल खेल्नेछ ।

हाल युरोप भ्रमणमा रहेको नेपालले स्कटल्यान्डसँग पनि दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम बनेको थियो । खर्च अभावमा स्कटल्यान्डले पछि खेल्न मानेन । त्यसैले नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा आउन केही समय कुर्नुपर्ने भएको छ ।


‘हामी कहाँ थियौं र अहिले कहाँ आइपुग्यौं भनेर सोच्दा नै अचम्म लाग्छ,’ कप्तान पारसले आईसीसीसँग भनेका छन् । आठ वर्षअघि मात्र नेपाल विश्व क्रिकेट लिगको डिभिजन ५ मा थियो । डिभिजन क्रिकेटमा यो सबैभन्दा पुछारको लिग थियो त्यतिखेर ।

यसका लागि नेपालले लामो यात्रा तय गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको २२ वर्षपछि नेपाल यो स्थितिमा आइपुगेको हो । विश्व क्रिकेट लिगको मुख्य संरचनामा त नेपाल १० वर्षअगाडि मात्र आएको हो । विश्व क्रिकेट लिगको संरचनामा नआई कुनै राष्ट्र माथिल्लो श्रेणीमा पुग्न सक्दैन ।


सन् २०१२ मा डिभिजन ४ र २०१३ मा डिभिजन ३ जितेको नेपाल २०१४ को विश्वकप छनोटबाट रेलिगेसन भएपछि डिभिजन ३ मा झरेको थियो । अर्को वर्ष पुन: डिभिजन ३ जितेको नेपालले डिभिजन २ मा अडिएर विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो ।


च्याम्पियनसिपमा ८ टोलीमा सातौं भएको नेपालले फेब्रुअरीमा पुन: डिभिजन २ खेलेको थियो । फाइनल पुगेर विश्वकप छनोटमा पुगेको नेपालले त्यही आठौं स्थान हात पारेपछि ऐतिहासिक छलाङ मार्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।


‘आशा छ हामीले यो प्रदर्शनलाई निरन्तरता दिनेछौँ किनभने हाम्रो आगामी लक्ष्य टेस्ट खेल्ने राष्ट्र बन्नु हो,’ पारसले भने, ‘हामीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन धेरै मिहिनेत गर्‍यौं । नेदरल्यान्ड्ससँगको खेल हामीलाई प्रस्फुटन हुने मौका पनि हो । यहाँको अनुभवको आनन्द लिँदै राम्रो प्रदर्शन गर्ने आशा लिएका छौँ ।’

प्रकाशित : श्रावण १६, २०७५ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?