इंग्ल्यान्डमा पारसको सान्दार शतक

कान्तिपुर संवाददाता

काठमाडौँ — कप्तान पारस खड्काले इंग्ल्यान्ड भ्रमणमा सानदार शतक बनाएका छन् । पारसको १ सय ६१ रनमा नेपाली टोली शनिबार पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो । 

ह्याम्पसायर होग्स क्रिकेट क्लब मैदानमा शतक बनाएर अाउट भएपछि नेपालका कप्तान पारस खड्का ।तस्बिर सौजन्य : सिद्धार्थ विक्रम क्षेत्री

ओपनर ज्ञानेन्द्र मल्ललाई ५ रनमै गुमाएपछि आएका पारसले १ सय ६ बलको इनिङ्समा १९ चौका र ७ छक्का प्रहार गरे। तीन वर्षको अन्तरालपछि राष्ट्रिय टोलीमा पुनरागमन गरिरहेका अर्का विकेटकिपर सुवास खकुरेल ११ रनमा आउट भए। शरद भेषावकर १४ रनमा आउट भएपछि पारसले दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र रोहितकुमार पौडेलसँग मिलेर इनिङ्स उकासेका थिए।

दीपेन्द्रले ३७ र आरिफले २७ रन बनाए। पारस ३८ औं ओभरमा आउट भएपछि नेपालको रनमा केही अंकुश लागे पनि रोहितले पुन: खुलेर खेले। रोहितले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ४४ रन बनाए। दीपेन्द्रले ४६ बल खेल्दै ५ चौका र आरिफले २५ बल खेल्दै ३ चौका प्रहार गरे। करण केसी १८ तथा सन्दीप लामिछाने र ललितसिंह भण्डारी समान १६ रनमा आउट भए। ललित इनिङ्सको अन्तिम बलमा पेभेलियन फर्किए। नटआउट ललितनारायण राजवंशीको खातामा २ रन थियो। स्थानीय टोलीका मिल्स कोभरले ३ विकेट लिए। यो समाचार तयार पार्दा ह्याम्पसायरको ब्याटिङ सुरु हुन लागेको थियो।
ह्याम्पसायर होग्स क्रिकेट क्लब मैदानमा शतक बनाएर अाउट भएपछि नेपालका कप्तान पारस खड्का।
तस्बिर सौजन्य : सिद्धार्थविक्रम क्षेत्री

ह्याम्पसायरले ३० वर्षपछि अन्तर्राष्ट्रिय टोलीलाई आफ्नो मैदानमा बोलाएर खेलेको हो।
नेपालले थप तीन अभ्यास खेल खेलेपछि लर्डसमा एकदिने ट्वान्टी–२० त्रिकोणात्मक शृंखलामा सहभागिता जनाउने छ। त्यसमा मेरिलेबोन क्रिकेट क्लब र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि नेपालले एमस्ट्राडममा गएर नेदरल्यान्ड्ससँग वान–डे अन्तर्राष्ट्रिय खेल्नेछ। नेपालले पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेल्न लागेको हो।

प्रकाशित : श्रावण ५, २०७५ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

परिक्षणको अनुमति नपाउँदा डा. केसीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरु अन्योलमा

अतुल मिश्र

काठमाडौँ — प्रा.डा. गोविन्द केसीको आमरण अनशन शनिबार २२ औं दिन पुग्दा उनको स्वास्थ्य स्थिति यकिन हुन सकेको छैन । केसीले स्वास्थ्य परीक्षण नगराउने अडान लिएका छन् । उनको स्वास्थ्य स्थिति दिनहुँ थप जटिल बनिरहेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् ।

‘उहाँले उपचार, कुनै परिक्षण गराउन मान्नुभएको छैन,’ विगतदेखि नै केसीको उपचारमा संलग्न रहँदै आएकी त्रिवि शिक्षण अस्पतालकी प्रा.डा. दिव्या सिंह शाहले भनिन्, ‘रक्तचापसम्म पनि नाप्न दिनुभएन।’

शाहका अनुसार रगतलगायत परीक्षण गराउन नमान्दा केसीको शरीरमा सेतो रक्तकणिका, क्याल्सियम, पोटेसियमलगायतको अवस्था थाहा पाउन सकिएको छैन। ‘यी सबै घटेकै होलान्। तर, थाहा पाए पनि के गर्ने, उहाँ औषधि लिन मान्नुहुन्न,’ उनले भनिन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहँदा गरिएको रगत परिक्षण प्रतिवेदन हेर्दा भने केसीको स्थिति ठिकै देखिने शाहले बताइन्।

‘अहिले कस्तो छ, यकिन भन्न सकिन्न,’ उनले भनिन्, ‘तर स्थिर देखिन्छ।’ केसीलाई छाती दुखाइ, पेट दुखाइ, रिंगटा, मांशपेशी बाउँडिनेजस्ता समस्या पनि देखिएका छन्। सँगै रहेका केही चिकित्सकले उनको स्वास्थ्यस्थिति थप जटिल भइरहेको बताए।

जुम्लामा सरकारले आमनागरिक तथा स्वास्थ्यकर्मीमाथि दमन गरेको र आफूलाई अपहरणशैलीमा राजधानी ल्याएको भन्दै केसीले विरोधस्वरुप कुनै पनि परीक्षण नगराउने अडान लिएका हुन्। उनले जुम्ला प्रकरण छानबिन गरी दोषीमाथि कारबाही माग गरेका छन्।

मन्त्रीसँग अनौपचारिक छलफल
प्रधानमन्त्री केपी ओलीले खटाएका एक मन्त्रीले डा. केसीका प्रतिनिधिसित शनिबार करिब दुई घन्टा अनौपचारिक छलफल गरेका छन्। छलफलमा केसीका प्रतिनिधि डा. अभिषेकराज सिंह र डा. जीवन क्षेत्री सहभागी थिए।

छलफलमा ती मन्त्रीले केसीको मागमा दुरगामी निकास खोज्नुपर्ने धारणा राखेका थिए। केसीका प्रतिनिधिले ती मन्त्रीको नाम भने उल्लेख गर्न चाहेनन्। ती मन्त्रीले छलफलको निचोडबारे प्रधानमन्त्रीसँग ब्रिफ गरेर निकास निकाल्न पहल गर्ने आश्वासन दिएको उनीहरुले बताए। सरकारी टोली र केसीका प्रतिनिधिबीच औपचारिक वार्ता भने हुन सकेको छैन।

यसैबीच नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले शनिवार डा. केसीसँग भेटी उनको सत्याग्रहमा ऐक्यवद्घता प्रकट गरेका छन्। उनले केसीको स्वास्थ्यस्थितिबारे समेत चासो राखेका थिए।

सामुहिक सत्याग्रह
केसीको समर्थनमा आइतबारदेखि वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह हुने भएको छ। सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले गर्न लागेको सत्याग्रह बिहान १० देखी साँझ ५ बजेसम्म जारी रहने बताइएको छ।


प्रकाशित : श्रावण ५, २०७५ २१:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT