क्रिकेटर शक्ति गौचनद्वारा संन्यास घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । युरोप टुरमा जाने टोलीका लागि बुधबार आयोजित बिदाई कार्यक्रममा उनले यो नै अन्तिम विदेश टुर हुने बताएका हुन् ।

उनले अब नेपालमा हुने अर्को खेल नै उनको राष्ट्रिय टोलीका लागि अन्तिम् खेल हुनेछ। नेपालले युरोप टुर अन्तर्गत इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज तथा नेदरल्यान्ड्समा दुई खेलेको वान–डे सिरिज खेल्दैछ।

राष्ट्रिय टोलीका लागि डेढ दशक मैदानमा बिताएका गौचनले करियरको सुरुवात ब्याट्सम्यानको भूमिकामा खेलेका थिए। पछिल्लो एक दशक भने उनले स्पिनरको भूमिका निर्वाह गर्दै आएका छन्।

राष्ट्रिय टोलीबाट संन्यास लिएपनि उनले घरेलु क्रिकेटमा भने निरन्तर खेलिरहने बताएका छन्।

प्रकाशित : श्रावण २, २०७५ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विकासले निम्त्याएको विनाश : पहिरोले गाउँ विस्थापित

भीमबहादुर सिंह

जाजरकोट — पहिरोको कारण नलगाड नगरपालिका ८, कायखेतका १० घर परिवार विस्थापित भएका छन् । गत असार २७ गतेयता लगातारको वर्षापछि खसेको पहिरोले उक्त गाउँका बासिन्दा विस्थापित भएका हुन् ।

पहिरोको जोखिममा परेको नलगाड नगरपालिका ८, कायखेत गाउँ । तस्बिर : भीमबहादुर सिंह /कान्तिपुर ।

पहिरोले २ सय रोपनी पाखो तथा खेतमा लगाएको धान र मकै बाली समेत नष्ट गरेको छ।

पहिरोले कायखेतका हुम प्रकाश सिंह, हिरालाल खत्री, नेवबहादुर खत्री, धुव्र सिंह, धनबहादुर शाही, प्रकाश शाही, खड्क बहादुर शाही, हरि बहादुर सिंह, नरजंग शाहीलगायत १० घर परिवार विस्थापित भएका छन्। विस्थापित भएका उनीहरु छिमेकी गाउँ कायमैदेमा बसाई सरेका छन्।

माथिबाट आएको पहिरोले कायखेत गाउँका ४ घर पुरिनुको साथै अन्य ३५ घरपरिवार जोखिममा परेका छन्। त्यस्तै पहिरोले अमर शाही, टीकाराम शाही, खड्क बहादुर शाही, कृष्ण बहादुर खत्री, धीरेन्द्र शाही, कमला शाही, भीमकुमारी शाही, गोविन्द शाही, सर्जन चनारा, हस्त बहादुर चनारा, जय बहादुर शाही, प्रकाश शाही, हरि बहादुर सिंह लगायत २० घर परिवारको २ सय रोपनी खेतबारीमा लगाएको धान तथा मकै बाली नष्ट गरेको छ।

पहिरोले बस्ने घर र २० मुरी धान उब्जने खेत पुरिदिएपछि के खाने?, कहाँ बस्ने? भन्ने समस्या भएको स्थानीय हुम प्रकाशले बताए। पहिरोको कारण घर न घाटको भएको उनको भनाई छ। पहिरोले सुकुम्बासी बनाउदा ७ जनाको परिवार छिमेकमा आश्रय लिन वाध्य भएको उनले बताए।

कायखेत गाउँमाथिबाट जथाभावी सडक खन्ने काम गर्दा पहिरोको जोखिम बढेको सर्जन चनाराले बताए। विकासले उल्टै विनाश निम्त्याएको चनाराले बताए। नलगाड नगरपालिकाले कायखेत–ताँसे–जिकुवा कृषि सडक, मन्मै गारकमद जिकुवा हलचौर सडक र जिकुवा काव्रा लुपाना भरगाउँ सडकको अन्धधुन्द निर्माण गर्दा पहिरोको जोखिम बढेको उनले बताए।

वातावरणीय प्रभाव मुल्यांकन तथा अध्ययन बिना नै जथाभावी उक्त मोटरबाटो खन्दा वन जंगल विनाश भई पहिरो खसेको उनले बताए। गाउँ माथिबाट आएको पहरोले १३ रोपनी खेतको धानबाली पुरेको स्थानीय कर्णबहादुर शाहले बताए। कायखेत नलगाड नगरपालिकाको सबै भन्दा बढी जोखिममा रहेको नगर प्रमुख टेकबहादुर रावलले बताए। जथाभावी रुपमा मोटर बाटो खन्ने कार्य गर्दा पहिरोका जोखिम बढेको प्रमुख रावलको पनि भनाई रहेको छ।

पहिरोको कारण छिन्चु–जाजरकोट, खलंगा–पाँचकाटीया, खलंगा–थलह, खलंगा–रिम्नालगायत सडकमा यातायात अवरुद्ध भएको छ।

सडकको दर्जनौं स्थानमा पहिरो खसेपछि यातायातका साधन नचल्दा यात्रुहरु ठाउँठाउँमा अलपत्र परेका छन्। यसैगरी अविरल बर्षापछि सदरमुकाम खलंगा पनि पहिरोको उच्च जोखिमा परेको छ। खलंगा बजार भित्रको सडक भासिन गई जोखिममा परेको हो।

प्रकाशित : श्रावण २, २०७५ १३:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT